सूचनाको शक्ति - The Power Of Information

        

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि बिहान ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ ।

बन्दिपुर–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार ०८:५०