काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको चौथो तथा अन्तिम बैठकले आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
महाधिवेशन आयोजक कमिटी भंग भएपछि अब पार्टीमा पुरानै संरचना क्रियाशील हुनेछ । पार्टीमा माधव नेपाल समूहलाई गरिएको कारवाही स्वतः फुकुवा भएको उनले बताए । चैत ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी रुपान्तरित गर्ने निर्णय गरेको थियो ।
पार्टी एकतालाई आजको बैठकले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । बैठकले रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघुजी पन्त, बिष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा राख्ने निर्णय गरेको ज्ञवालीले बताए । उनीहरु नेकपामा स्थायी कमिटीमा थिए ।
आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछिको पहिलो बैठक १८ गते शुक्रबार ११ बजे बस्ने निर्णय भएको छ । कोरोना नियन्त्रण गर्न सरकारले गरेको पहलको उच्च प्रशंसा गर्दै सबैलाई खोप दिलाउन अनुरोध समेत गरेको छ ।
बाढी पहिरोको उद्दार र राहतमा सरकारले खेलेको भुमिकाको प्रशंसा गर्दै थप प्रभावकारी भुमिका खेल्न अनुरोध गरेको छ । यस्तै बैठकले बरिष्ठ नेता झलनाथ खनालको शिघ्र स्वास्थ लाभको कामना गर्दै उपचार खर्च सरकारले जिम्मा लिएकोमा धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ ।
।