सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानमा सरकारी सेना र विद्रोही लडाकूबीच भिडन्त

एजेन्सी । अफगानिस्तानमा विद्रोही तालिवानीहरुले सैनिक क्याम्पमा आक्रमण गरेका छन् ।

मध्य अफगानिस्तानको एक शहरमा आक्रमण गर्ने क्रममा सरकारी सेना र विद्रोहीबीच भिडन्त भएको अलजजिराले जनाएको छ ।

सो भिडन्तका क्रममा विस्फोटक पदार्थको प्रयोग गरिएको अधिकारीहरुले जनाएका छन् । राजधानी काबुललाई दक्षिणी प्रान्त कन्धार जोड्ने राजमार्गलाई लक्षित गरी विद्रोहीले आक्रमण गरेको समाचारमा जनाइएको छ ।

अमेरिकाले आफ्ना सेना स्वदेश फर्काउने निर्णय गरेसँगै पछिल्लो तीन महिनामा तालिवानीहरुका गतिविधि बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्न थालेका छन् ।

वरिष्ठ अफगानी अधिकारीहरुले विद्रोहीसँग सरकारी सेनाको भिडन्त भएको पुष्टि गरेपनि क्षतिबारे विवरण खुलाएका छैनन् ।

रातको समयमा विद्रोहीले सुरक्षा चौकीमा आक्रमण गर्न थालेपछि बजार बन्द भएको त्यहाँको सरकारले जनाएको छ ।

सन् २००१ देखि अमेरिकाले अफगानिस्तानमा आफ्ना सेना पठाएर विद्रोहीविरुद्धको कारवाही तीव्र पारेको छ ।

अमेरिकी सेनाको आक्रमणका कारण अफगानिस्तानमा हालसम्म दुई लाख ४१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार ०७:२८