सूचनाको शक्ति - The Power Of Information

        

ब्राउनसुगर र पाँच लाख १४ हजारसहित चारजना पक्राउ

काठमाडौं । झापाको दमक नगरपालिकाबाट नौ ग्राम ३०० मिलिग्राम लागुपदार्थ ब्राउनसुगर र ५ लाख १४ हजार ३०० रुपैयाँसहित चारजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–५ वालुवाथानका २६ वर्षीय बिवेक लिम्बु, २२ वर्षीय शौरभ राई र इलामको चुलाचुली गाउँपालिका–४ घर भई दमक नगरपालिका–५ बस्ने ३१ वर्षीय विक्रम राई र जेम्स भन्ने ३७ वर्षीय खगेन्द्र साँवा लिम्बु रहेका छन् ।

दमक–६ थाना रोडबाट दुई ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिवेक र शौरभलाई प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागुऔषध विक्रम र खगेन्द्रबाट खरिद गरि ल्याएको भन्ने खुल्न आएपछि विक्रम र खगेन्द्रको कोठाबाट नगद ५ लाख १४ हजार ३०० रुपैयाँ बरामद गरी उनीहरूलाई पक्राउ गरेको थियो ।

साथै, इलाम चुलाचुली गाउँपालिका–४ स्थित उनीहरुको घर तलासी गर्दा बिक्रमको कोठाबाट ५ ग्राम र खगेन्द्रको कोठाबाट २ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १२:४०