सूचनाको शक्ति - The Power Of Information

        

मेसीले बनाए नयाँ रेकर्ड, समूहमा पहिलो हुँदै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौ । लियोनल मेसीले अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेल्ने खेलाडीको किर्तिमान एकलौटी बनाए । कोपा अमेरिकाअन्तर्गत बोलिभियाविरुद्ध मंगलबार बिहान मैदान उत्रदाँ उनले करियरको १ सय ४८ औं खेल खेलेका हुन् ।

यसअघि जाभियर मास्चिरानो  मेसीका नाममा सर्वाधिक १ सय ४७ खेल खेल्ने संयुक्त किर्तिमान थियो । मेसीका लागि किर्तिमानमात्रै नभएर उत्कृष्ट प्रदर्शनका हिसाबले पनि यो खेल संझनलायक बन्यो । उनले पहिलो हाफमा दुई गोल गरे भने थप एक गोलका लागि पास मिलाइदिए ।

खेलको छैटौं मिनेटमै अलेज्यान्द्रो गोमेजले मेसीको पासमा अर्जेन्टिनालाई अग्रता दिलाए । मेसीले ३३ मिनेटमा पेनाल्टीमार्फत अर्जेन्टिनाको अग्रता दोब्बर पारे । पहिलो हाफमै सर्जियो अग्वुइरोको पासमार्फत गोल गरेर उनले ३–० को अग्रता दिलाए ।

बोलिभियाका इर्विन साभेड्राले ६० मिनेटमा गोल फर्काउदै खेललाई ३–१ स्थितीमा ल्याए । तर, अर्जेन्टिनामाथि बोलिभियाले कुनै पनि समय दबाब भने बनाउन सकेन ।

६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दा अर्जेन्टिना ४–१ को अग्रता लिन सफल भयो । यस खेलमा अर्जेन्टिनाले ६७ प्रतिशत पोसेसन कायम राख्दै गोलका लागि १३ भन्दा धेरै प्रहार गरेको थियो । यता, बोलिभियाले दुईवटामात्रै प्रहार गरेको थियो ।

यस जीतसँगै अर्जेन्टिनाले तीन जीत र एक बराबरीसहित कोपा अमेरिका फुटबल प्रतियोगिताको समूह ‘ए’ मा शीर्ष स्थान हासिल गरेको छ ।

यसअघि पहिलो खेलमा चिलीसँग एक एक गोलको बराबरी खेलेको अर्जेन्टिनाले त्यसपछि उरुग्वे र पाराग्वेलाई १–० को समान गोलअन्तरले हराएको थियो ।

बोलिभियाका लागि भने यो प्रतियोगिता बिर्सनलायक नै रह्यो, उसले समूह चरणका चार खेलमै पराजय व्यहोयो र यसक्रममा ८ गोल खादैँ पहिलो चरणबाट बाहिरियो ।

समूह एबाट अर्जेन्टिनासँगै उरुग्वे, पाराग्वे र चिली पनि क्वाटरफाइनलमा छनोट भएका छन् । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरको सामना गर्नेछ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार ०८:२६