बाँके । नेपालगन्ज उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि छात्रा क्याम्पस सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । छात्रा क्याम्पस सञ्चालनका लागि नवौँ नगर सभाबाट नियमावली पारित गरिएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।
यसवर्ष बीएस्सी, सीएसआइटी र बीएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रियासमेत सुरु गरिएको छ । नगरप्रमुख डा. धवलशमशेर राणा नेतृत्वको टोलीले सम्बन्धनलगायतका विषयमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसहितका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको छ ।
सम्बन्धनका लागि उपकुलपतिसँग भएको छलफलका आधारमा प्रस्तावना तयार पारी केही दिनमै औपचारिक प्रस्ताव विश्वविद्यालयमा पेस गरिने भएको छ । उपमहानगरपालिकाले सञ्चालन गर्ने कलेजको मापदण्ड लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक रवीन्द्र कर्णको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो ।
सो समितिले दिएको सुझावका आधारमा प्रस्तावना पेस गरिने भएको छ । क्याम्पसमा क्रमशः बीए, बीसीए, बीआईटी, बीएएलएलबी, आमसञ्चार, बीपीएलगायतका कक्षा सञ्चालन गरिने प्रस्ताव अघि सारिएको छ । नेपालगन्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राका लागि लक्षित गरी कलेज स्थापना गर्न लागिएको हो ।
अलग्गै छात्रा कलेज सञ्चालन भएपछि मुस्लिम र मधेसी समुदायका छात्रा सहजरूपमा उच्च शिक्षाका लागि आउने अपेक्षासहित छात्रा कलेज सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ । कलेज सञ्चालनका लागि निर्माण भइरहेको भवनको सम्पूर्ण कार्य एक महिनाभित्रै सम्पन्न हुने पनि जनाइएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले सल्यानीबागमा छात्रा विद्यालय सञ्चालन गरेको थियो ।
।