सूचनाको शक्ति - The Power Of Information

        

अपराध

बाँकेमा ६०२ जना ‘मोस्ट वान्टेड’ पक्राउ

फाइल तस्वीर

बाँके । बाँके प्रहरीले गएको एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न भएर फरार रहेकामध्ये ‘मोस्ट वान्टेड’ सूचीका ६०२ जना अपराधीलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीका अनुसार पक्राउ गरिएकामध्ये अधिकांश भागेर सीमापारि भारतका विभिन्न ठाउँमा लुकेर बसेका थिए ।

पक्राउ परेकामा हत्या, अपहरण, बलात्कार, ठगी र चोरी डकैतीमा संलग्न भई अदालतद्वारा दोषी ठहर गरिएकाहरू हुन् । त्यसभन्दा अघिल्लो वर्ष ५२ जना फरार अपराधी पक्राउ भएका थिए । गत वर्ष ६०२ जनालाई पक्राउ गर्नु ठूलो सफलता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरूबाट ४५ लाख रुपैयाँ जरिवानासमेत असुल गरिएको छ ।

कार्यालयको बार्षिक प्रगति विवरणमा तस्करी नियन्त्रण र अन्य कारबाहीबाट पाँच करोड ४८ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । कार्यालयका अनुसार पाँच करोडभन्दा बढीका ढुङ्गा, बालुवा, गिट्टी बरामद गरेर जफत गरिएको जनाइएको छ । त्यस्तै सहकारी संस्थामा ४३ करोड रुपैयाँ हिनामिना गर्नेमध्ये सात जनालाई पक्राउ गरिएको हो ।

दुई करोड ५० लाख रुपैयाँ लिई नागमणी दिन्छु भन्ने तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी आठवटा अवैध हातहतियारसहित नौ जना र राष्ट्रिय अनुसन्धानका सूचक प्रवीण थापाको हत्यामा संलग्न सात जनालाई समेत पक्राउ गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।

गत वर्ष तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ई–रिक्सा, दुईवटा बोलेरो भ्यान र तीनवटा ट्रकसहित १९३ जनालाई पक्राउ गरेर दुई करोड नौ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ । सो अवधिमा ठूलो परिमाणमा लागूऔषधसहित १८२ जनालाई पक्राउ गरिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार ०७:४६