सूचनाको शक्ति - The Power Of Information

        

कार्यकक्षमै कुटिए सब–इञ्जिनियर, वडाध्यक्षद्वारा आरोप अस्वीकार

जाजरकोट । शिवालय गाउँपालिकाका–७ का वडाध्यक्षसब–इञ्जिनियरलाई कुटपिट गरेको आरोप लगाइएको छ । वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको हो । तर, अध्यक्ष खत्रीले राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बताएका छन् ।

उनले विज्ञप्ति निकाल्दै स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो गरेको तर सब–इञ्जिनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गरेको बताएका छन् । वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीले आरोप लगाएका छन् । शाहीको मुखमा समेत चोट लागेको बताइएको छ ।

‘आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ, केही केटासहित वडाध्यक्षले एक्कासी आएर झम्टिनुभयो । मुक्का प्रहार गर्नुभयो, लछारपछार गर्नुभयो,’ शाहीले टेलिफोनमा भने, ‘गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो । त्यसपछि भागेर ज्यान जोगाएँ ।’ सब–इञ्जिनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भर्त्सना गरेका छन् । घटनाको विरोधमा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाही नभएसम्म ‘पेनडाउन’ गर्ने निर्णय गरेका छन् ।

‘राष्ट्र सेवामा कटिबद्ध कर्मचारीलाई कारणवश कमजोरी वा गल्ती गरेमा विभिन्न विभागीय कारवाही तथा सेवाबाट बर्खास्त गर्ने कानुनी बाटो हुँदाहुँदै मरणासन्न हुने गरी कार्यालय समयमा यसरी अमानवीय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सबै कर्मचारीको मनोबल खस्केको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सो कार्यप्रति हामी पेनडाउन गरी सशक्त आन्दोलनमा उत्रिन बाध्य छौँ ।’

प्रकाशित मिति : १४ असार २०७८, सोमबार ११:३६