सल्यान । सल्यानको बागचौर नगरपालिका–९, धामिढुका ४० वर्षीय शेरबहादुर डाँगीले पाँच वर्षदेखि दुईवटा भैँसी पाल्दै आएका थिए । यस पटक उनले भैँसी पकेट क्षेत्र कार्यक्रममार्फत थप एउटा उन्नत भैँसी पाएका छन् । बागचौर नगरपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले व्यावसायिक किसानलाई आकर्षित गर्न भैँसी वितरण गरेको छ ।
दूध पकेट क्षेत्र विस्तार गर्न र किसानको आयस्तरमा वृद्धि गर्ने अनुदानमा उन्नत जातको भैँसी वितरण गरेको हो । नमुना वागेश्वरी भैँसीपालन समूह बनाएर नगरपालिकाको वडा नं. ९ धामीढुङ्गा र हरिपुरका ४२ घरधुरीलाई ४० वटा उन्नत जातका भैँसी र दुईवटा राँगा वितरण गरिएको छ । यहाँका किसानले पहिले घरमा कम्तीमा दुईवटा भैँसी पालेका थिए ।
समूहका अध्यक्ष प्रेमबहादुर डाँगीले दूधको माग बढेकाले समूह नै गठन गरेर व्यावसायिक भैँसीपालन गरेको बताए । दूधमा आत्मनिर्भर बनाउने गरी पराम्परागत रूपमा भैँसीपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन समूहमा आबद्ध कृषकलाई ४५ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।
बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले नगरपालिकाको २५ लाख र पशु सेवा कार्यालयको २० लाख गरी ४५ लाख रुपैयाँको लागतमा भैँसी, ५० वटा मिल्क क्यान, घाँस वितरण गरिएको जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले सुत्केरी भैँसीलाई पोसिलो आहाराका लागि तीन हजार रुपैयाँ, डेरीसँग सम्झौता गरी दूध बिक्री गरे प्रतिलिटर दुई रुपियाँ अनुदान दिएर सहयोग गर्दै आएको छ । भैँसी पकेट क्षेत्रका रूपमा सञ्चालन गरिएको कार्यक्रममार्फत पानी आपूर्तिका लागि ५० घरधुरीलाई पानी ट्याङ्की, भकारो सुधार, घाँस खेतीको कामसमेत गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।
।