सूचनाको शक्ति - The Power Of Information

        

कोभिड खोप लगाउन साढे १३ लाखको आवेदन

काठमाडौं । कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसोसम्म कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भर्ने संख्या १३ लाख ३९ हजार ४६ पुगेको छ ।

गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो ।

सरकारले सबै नागरिकलाई पुग्ने खोप ल्याउन नसक्ने आकलन गर्दै सार्वजनिक खोप लगाउन चाहनेबाट विवरण माग गरेको हो ।

यद्यपि, स्वैच्छिक फारम भरेकाले पनि खोप कहिले पाउने भन्ने टुंगो छैन । स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आवेदन दिँदैमा खोप पाउने भन्ने छैन । खोपको उपलब्धता र फारम भर्र्नेको प्राथमिकता हेरेर खोप दिइने हो ।’

तथ्यांक संकलन गर्ने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना व्यवस्थापन इकाइले गर्दै आएको छ ।

मन्त्रालयले कोभिड– १९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्ति आफैँले प्रि–रजिस्ट्रेसन फारम भर्न तथा भराउनका लागि वेबसाइट र एप छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोखरेलका अनुसार बाहिरबाट छुट्टै खोप माग गर्नेको संख्या पनि पाँच लाखभन्दा बढी पुगेको छ ।

खोप माग्न स्थानीय तह पुग्ने संघसंस्थालाई जनप्रतिनिधिले सीधै विभाग पठाउने गरेका छन् । त्यसले खोप माग्नेको भिड स्वास्थ्य सेवा विभागमा बढेको विभागका एक कर्मचारीले बताए ।

नयाँ पत्रिका

प्रकाशित मिति : १३ असार २०७८, आइतवार ०७:५५