सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डका रुपमा विकास गर्ने तयारी

बझाङ । बझाङमा उत्पादित मकै, आलु र सिमी लगाएतका बालीलाई राष्ट्रिय स्तरमा चिनाउन कृषि ज्ञान केन्द्र बझाङले ब्राण्डिङ गर्ने भएको छ ।

कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित सिमी लगाएतका बालीलाई अब ब्राण्ड गरी बजार पठाउन लागेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केहि स्थानीय तहहरुले अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने भएको छ ।

नेपालको धेरै ठाँउमा अत्यधिक माग रहेको बझाङ्गको आलु, सिमीले बजारमा आफ्नो पहिचान बनाएपनि स्थानियस्तरमा उत्पादित आलु ब्राण्डिङ गर्न लागिएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो ।

बझाङमा अधिकांश कृषकको मुख्य खेती आलु र मकै भएकाले मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षि बिकास कार्यक्रम अन्र्तगत बुङ्गल नगरपालीकाको वडानम्बर ६ को डिन्नु गाउँमा, दुर्गाथली गाउँपालिकाकोे सैनपसेला, जयपृथ्वी नगरपालिकाको पिठालेक, धामीलेक, मष्टाको कोटदेवलमा मकै, बुंगल नगरपालिकाको वडा नम्बर १ र वडानम्बर २ का स्थानियहरुलाई आलुमा आत्मनिर्भर बनाउन लागिएको समेत प्रमुख बिष्टले बताउनुभयो । साथै विष्टले मकै उत्पादन गर्ने क्षेत्रमा २१ लाख बराबरको टिनको विउ राख्ने भकारी, ४ सय थान विउ सुकाउने तिरपाल, र ५ ओटा हाते ट्याक्टर सहयोग गर्ने समेत जानकारी दिनुभएको छ ।

यस्तै जिल्लाको तल्कोट गाउपालिका वडा नम्बर ६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ । कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएको छ ।

कृर्षि ज्ञान केन्द्र बझाङले पहिलो पटक जिल्लामा उत्पादन भएको भिरमौरीको मह, सिमी, मकै र आलु लगाएतका खाध्यान्न सामाग्रीहरुलाई अर्को जिल्लासम्म पु¥याउने लक्ष्य लिएको छ ।

यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र सदरमुकाम चैनपुरमा कोसेली घर निर्माणको लागी १२ लाख छुट्टयाएको कृषि ज्ञान केन्द्र बझाङले जानकारी दिएको छ ।

ज्ञान केन्द्रले आलु व्याकिङको लागि सामाग्रीको ब्यवस्थापन भैसकेको र साउन महिना भित्र आलु बजारमा ल्याउने तयारी रहेको जानकारी दिएको छ । साथै स्थानिय तथा राष्टिय बजारमा १ करोड ४४ लाख बराबरको ३५ हजार क्युन्टल आलु निर्यात गरिने समेत ज्ञान केन्द्रले जानकारी दिएको छ ।

आलुजोनको योजना आएपछि लामो समयदेखि परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुलाई आलुजोन योजनाबाट आधुनिक तरिकाले आलुलगाउने तरिका सिकाएपछी किसानहरु खुशी भएका छन, भने, आलु उत्पादनमा अझ अग्रसर हुन थालेका छन ।

यो कार्यक्रम लागू भएपछि किसानहरूले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र यहाँका किसानहरूको जीवनस्तर माथी उठ्ने विस्वास गरिएको छ ।

यसरी स्थानियस्तरमा उत्पादन भएको खाध्यान्न सामाग्री प्याकिङ गरेर सदरमुकामको बजार तथा अन्य जिल्लाहरुको व्यापारिक केन्द्रमा पठाउदा कृर्षकहरुलाई कृषि पेसामा लाग्न थप हौसला बढ्नुका साथै खाध्यान्न उत्पादनमा बृर्दि भई जिल्लामा आर्थिक सुधार हुने देखिन्छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतवार ०७:४९