सूचनाको शक्ति - The Power Of Information

        

समृद्ध कृषि

परीक्षणका लागि लगाइएको रहरलाग्दो मकै

बाँके । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण शङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । बाँके र बर्दियाका किसानको खेतमा परीक्षणका रूपमा लगाइएको रामपुर हाइब्रिड १० मकैले राम्रो उत्पादन दिएको छ ।

मकैले राम्रो उत्पादन दिएपछि दुवै जिल्लाका किसानको रोजाइमा रामपुर १० जातको मकै परेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुर र बर्दियाको बाँसगढी नगरपालिका–६, दाङ पुरुवामा परीक्षणका रूपमा लगाइएको रामपुर हाइब्रिड १० मकैले सबैभन्दा बढी उत्पादन दिएको पाइएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिए ।

उनले पाँचवटा मकैका जात परीक्षण गरिएकामा रामपुर हाइब्रिड १० को प्रतिफल सबैभन्दा राम्रो आएकाले किसानको रोजाइमा सोही जातको मकै परेको बताए । दुवै जिल्लाका किसानको बारीमा रामपुर हाइब्रिड १० सहित रामपुर हाइब्रिड ४, रामपुर हाइब्रिड ६, सीएएस १७१५ र जिङ्कयुक्त मकैको परीक्षण गरिएकामा रामपुर हाइब्रिड १० नै अब्बल साबित भएको किसानहरुले पनि बताएका छन् ।

पाँचवटा जातको परीक्षण गराइएकामा रामपुर हाइब्रिड १० को प्रतिफल अत्यन्तै राम्रो देखिएको फत्तेपुरका किसान श्यामबहादुर थारूले बताए । उनले विगत तीन वर्षयता आफूले हाइब्रिड जातको मकै लगाउने गरेको भए पनि रामपुर हाइब्रिड १० को उत्पादन अन्य सबैभन्दा राम्रो रहेको प्रतिक्रिया दिए । यस जातको मकैले उत्पादन राम्रो दिने देखिएपछि आगामी सिजनमा पनि यही मकै लगाउने अधिकांश किसानले बताएका छन् ।

बर्दिया बाँसगढी नगरपालिका–६ का किसान रमेश थारूले पनि रामपुर हाइब्रिड १० जातको मकै नै उत्तम देखिएको बताए । ‘अरु मकैभन्दा राम्रो देखिएको छ, र धेरै फल्ने देखिएको छ,’ थारुले भने । नेपाली जातको रामपुर हाइब्रिड १० ले जिल्लाका अधिकांश किसानको मन जितेको हुँदा अबदेखि जिल्लाका लागि यही मकै नै उपयुक्त रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए ।

चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातहरु विकास गरे पनि व्यावसायिक बीउ उत्पादन शुरु नहुँदा किसानसम्म पुग्न सकेको थिएन । तर गत वर्षदेखि व्यावसायिक बीउ उत्पादनले क्षेत्र पनि विस्तारमा सहयोग पुर्याएको छ । यसले आगामी वर्षहरुमा हाइब्रिड मकैको बीउ उत्पादन बढ्न्का साथै उत्पादनले क्षेत्र पनि विस्तार हुँदै जाने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले पहिलो पटक १७ वर्षअघि सन् २००३ मा नेपालमै ‘गौरव’ नामको मकैको हाइब्रिड जात विकास गरेको थियो तर त्यसको व्यावसायिक उत्पादन फस्टाउन सकेन । त्यसपछि पनि रामपुर हाइब्रिड–२, रामपुर–४, रामपुर–६ र रामपुर–८ तयार भए । तीन वर्षअघि सन् २०१७ मा तयार भएको रामपुर–१० भने किसानले रुचाएको पाइएपछि व्यावसायिकरूपमा बीउ उत्पादन शुरु भएको हो ।

समुद्री सतहदेखि ७०० मिटर उचाइसम्म हाइब्रिड रामपुर–१० मकैको खेती गर्न सकिन्छ । नेपालमै विकास भएकाले नेपाली हावापानी सुहाउँदो छ । यो उच्च तापक्रम पनि सहन सक्ने जात हो । सन् १९८५ देखि भारतसँग सीमा जोडिएका बारा पर्सा लगायतका जिल्लामा थोरै मात्रामा हाइब्रिड बीउ लगाउन थालिएको थियो । नेपालमा २०४५ सालदेखि हाइब्रिड बीउको अनुसन्धान शुरु भएको हो ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले नेपालले विकास गरेको बीउमा किसानको आकर्षण रहे पनि किसानको माग अनुसार भने जति पुर्याउन नसकिएको जनाएको छ । स्थापनादेखि हालसम्म कार्यालयले मकैका ३६ जात सिफारिस गरेको छ । तीमध्ये हाइब्रिड सात वटा र सामान्य जात २९ वटा छन् । यस्तै हाइब्रिड सात वटा जातलाई सूचीबाटै हटाइएको पनि राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।

कार्यक्रमका अनुसार मकालु–२, जानकी मकै, सर्लाही सेतो, हेटौँडा कम्पोजिट, ककनी पहेँलो, रामपुर पहेँलो र रामपुर–१ सूचीबाट हटाइएको हो । यी जातका मकै चलनचल्तीमा छैनन् । धेरै वर्षसम्म एउटै जातको मकै लगाउँदा उत्पादनमा कमी आउने भएपछि किसान नयाँ जातमा आकर्षित हुने गरेका छन् । अनुसन्धान केन्द्रको ८५ हेक्टर क्षेत्रफल र देशका विभिन्न जिल्लामा मकैको बीउ अनुसन्धान र विकासका काम भइरहेका छन् ।

मकै नेपालको मुख्य बालीभित्र पर्दछ । नेपालमा मकै खेती हुने कुल नौ लाख ४० हजार हेक्टरमध्ये १५ प्रतिशतमा हाइब्रिड बीउ लाग्ने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ । हाइब्रिड मकैको बीउ देशभित्र उत्पादन गर्न नसक्दा बर्सेनि करोडौँ मूल्यको बीउ आयात गर्नुपर्ने अवस्था छ । उत्पादन र उत्पादकत्व बढाउन हाइब्रिडमा जानुको विकल्प नभएको कृषि वैज्ञानिकले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार १४:१०