सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहमा बजेट

नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ५४ करोड (बजेट वक्तव्यसहित)

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपैयाँको अनुमानित बजेट वजेट ल्याएको छ । बिहिवार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन भएको जानकारी दिइन् ।

नेपालगन्जले आन्तरिक राजश्वको दायराम बढाई आन्तरिक श्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य रहेको जनाएको छ । चालु आव २०७७/०७८ मा नेपालगन्जको कुल बजेट एक अरब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपैयाँको छ । कोभिडका कारण गतवर्ष नेपालगन्जले आन्तरिक आय लक्ष्य अनुसार उठाउन सकेको छैन । कर संकलनमा नेपालगन्ज उद्योग बाणिज्य संघसँग सहकार्य गरिने भएको छ । बजेटमा अनुमानित भन्दा बढि ब्यवसाय कर बृद्धि भएमा अनुमानित भन्दा बढि आम्दानी भएको रकमको २० प्रतिशत संघलाई आव २०७९/८० मा अनुदानको रुपमा उपलब्ध गराइने भएको छ ।

बजेटमा वहाल करमा छुट, अपांगता भएका ब्यक्ति, महिलाद्धारा सञ्चालित उद्योग व्यवसायमा कर छुटको नीति ल्याइएको छ । कोभिडका कारण स्वदेश फर्केका ब्यक्तिलाई ब्यवसायमा लाग्ने करमा समेत छुटको ब्यवस्था गरिएको उपप्रमुख मगरले जानकारी दिइन् । बजेटमा वहाल करमा छुट, अपांगता भएका ब्यक्ति, महिलाद्धारा सञ्चालित उद्योग व्यवसायमा कर छुटको नीति ल्याइएको छ । कोभिडका कारण स्वदेश फर्केका ब्यक्तिलाई ब्यवसायमा लाग्ने करमा समेत छुटको ब्यवस्था गरिएको छ ।

आव २०७८/०७९ को बजेट वक्तव्य

हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएको यो चौथो वर्ष र हाम्रो कार्यकालको अन्तिम बजेट यस अर्थमा अन्तिम वर्षको रुपमा प्रस्तुत गरिने आजको बजेटले अवश्य पनि हाम्रो कार्यकालमा गरिएका केही राम्रा काम र प्रयासहरुलाई अन्तिम रुप दिनेछ भन्ने मेरो अपेक्षा साथै यस सम्मानित सभामा उपस्थित नगरसभा सदस्य ज्यूहरुसंग पनि आग्रह छ ।

नेपालको संविधानले तिन तहको संरचना निमार्ण गर्ने व्यवस्था गरे संगै हामी स्थानीय तहमा जनप्रतिनिधिको रुपमा निर्वाचित भयौ । अत्यन्तै विषम परिस्थिीमा हामीले स्थानीय सरकारको जिम्मेवारी पायौ । यो अवधिमा नगरको समग्र विकास हाम्रो पहिलो प्राथमिकतामा रह्यो भने सामाजिक, लैंगिक, सांस्कृतिक, भाषिक, धार्मिक र भौगौलिकलगायतका धेरै आवश्यकताहरुलाई पनि सकेसम्म समाधान गर्नका लागि आवश्यक बजेट तथा कार्यक्रम ल्याउने प्रयासमा हाम्रो यो चार वर्ष पुरा भयो । अवश्य पनि जनताका असिमित अपेक्षाहरुलाई प्राथमिकिकरण गर्दै हामीसंग भएको सिमित श्रोत साधनलाई अधिकतम प्रयोग गर्ने प्रयासमा अझै पनि धेरै अपेक्षाहरुपुरा गर्नबाँकी नै छन् ।

तथापि विकास भनेको नियमित प्रक्रिया हो ढिलो चाडो विकासको मुल आवश्यकता भएका सबै ठाउँहरुसम्म पुग्ने नै छ र हामी आशावादी हुन पनि जरुरी छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा हामीले अनुमानित गरेको राजश्व आम्दानी र खर्च बजेट दोश्रो भेरिएन्टको कोरोना संक्रमणका कारण प्रभावित हुन गयो । अनुमानित गरेको राजश्वउठाउन नसक्दा चालु आवमा यसले ठुलो असर गरेको छ भने कोरोनाका कारण यस आवमा विनियोजित बजेट र कार्यक्रम कार्यान्वयन गर्नमा हामीलाई हम्मे हम्मे भएको छ ।

यो विषम परिस्थिीतिमा चालु आथिक वर्षमा जति आय अनुमान गरेका थियौ त्यसमा परेको असर र आउने आर्थिक वर्षमा पनि पर्न सक्ने असरहरुलाई अनुमान गरेर बजेट बनाउनुपर्ने बाध्यात्मक अवस्थालाई मध्येनजर गर्दै मैले आर्थिक वर्ष २०७८/०७९ को अनुमानित आय व्यय यहाँहरु समक्ष प्रस्तुत गर्न चाहन्छु । नेपालगन्ज उपमहानगरपालिकाको बजेटको ठुलो भार संघ र प्रदेशबाट प्राप्त वित्तिय समानिकरण र राजश्वको बाँडफाँडको बजेट रहेको छ ।

उक्त बजेटसँगै घर जग्गा रजिस्ट्रेसन शुल्क (मालपोत) बापतको बजेटमा उपमहानगरपालिको अनुमानित बजेट विनियोजन गर्नु परेको यर्थाथलाई आत्मसाथ गर्दै केही हिस्सा आन्तरिक आयलाई समेटेर बनाएको आर्थिक वर्ष २०७८/०७९ को अनुमानित आय व्यय पेश गरेको छु । समग्र नगर बिकासका लागि वडाकार्यालयसँगको सहकार्यलाई आत्मसाथ गर्दै यस आब २०७७/०७८ मा २० करोड ७७ लाख रुपैयाँमात्र सिलिङ उपलब्ध गराइएकोमा आ.व. २०७८/०७९ का लागि २८ करोड रुपैयाको सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको छु ।

वडागत बजेट सिलिङलाई वडा कार्यालयले २०७८ असार ९ गतेसम्म संकलन गरेको आन्तरिक राजश्व रकम, न्युनतम ५० प्रतिशत हुन आउने रकम सबै वडाहरुलाई बरावर र वडा कार्यालयहरुको जनसंख्या समेतलाई आधार मानि सिलिङ तोकेको छु । तोकिएको सिलिङमा सबैभन्दा बढी बडा नं. १८ मा १ करोड ८७ लाख ९५ हजार र सबैभन्दा न्यूनतम २३ नं. वडाको ७२ लाख ८७ हजार रुपैयाँ बाँडफाड गरेको छु । वडा कार्यालयहरुलाई उपलब्ध गराउने सिलिङ बमोजिमको रकम नगरपालिकालाई प्राप्त हुने विभिन्न स्रोतहरुको अनुपातमा उपलब्ध गराईने व्यवस्था गरेको छु ।

संघीय समपुरक अनुदानबाट प्राप्त ७ करोड ४ लाख रुपैयाँ र सो बरावरको नगरपालिकाको समपुरक रकमबाट हुन आउने जम्मा रकम १४ करोड ८ लाख रुपैया मध्येबाट ८० प्रतिशत बरावरको रकम ११ करोड २६ लाख ४० हजार समेत वडाहरुको सिफारिसमा नगरपालिकाबाट खर्च गर्ने गरि ब्यवस्था गरेको छु । अब म आर्थिक बर्ष २०७८/०७९ का लागि देहाय बमोजिम आय तथा व्ययको अनुमान प्रस्ताव गरेको छु ।

आयको यथार्थ र अनुमानित विवरण

गत आर्थिक वर्ष २०७६/÷०७७ मा आन्तरिक श्रोततर्फ रु. १७ करोड ४१ लाख १० हजार आय अनुमान गरिएकोमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण राजश्व क्षमतामा कमि आउन गर्ई १२ करोड ४५ लाख ०९ हजार २ सय ९० रुपैया मात्र राजस्व असुल भई करिब ७२ प्रतिशत लक्ष्य हासिल भएको थियो । यस आ.व. का लागि अनुमानित आय १५ करोड ९१ लाख १० हजार रुपैया मात्र भएकोमा हालसम्म ११ करोड ६८ लाख १७ हजार ६ सय २७ रुपैया (करिव ७४ प्रतिशत) मात्र संकलन भएको छ ।

गत आर्थिक वर्ष को अनूभव तथा राजश्व सूधारका प्रयासबाट चालू आर्थिक वर्षको हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दा आन्तरिक श्रोत अनुमानको ८५ प्रतिशत सम्मको लक्ष्य प्राप्ती हुने अनुमान गरिएको छ । आगामी आ.व.को आन्तरिक श्रोतको आय अनुमान १४ करोड ७ लाख रुपैया प्रस्ताव गरिएको छ । संघीय तथा प्रदेश सरकारहरुबाट प्राप्तभएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा कुलआय १ अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ मात्र हुने अनुमान गरेको छु । कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्तहुने अनुदानबाट प्राप्तहुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको छ ।

व्ययको यथार्थ र अनुमानित विवरण

गत आ.व. २०७६/०७७ मा व्ययतर्फ चालू खर्च रु. ९२ करोड ४५ लाख ७५ हजार २ सय ४८ रुपैयाँ ९९ पैसा मात्र विनियोजन भएकोमा ७४ करोड ५९ लाख ८७ हजार १ सय ३४ रुपैयाँ ८० पैसा मात्र (८०.६८%) यथार्थ खर्च भएको थियो भने पूंजिगत खर्च १ अर्ब ९७ करोड ०३ लाख ८७ हजार २ सय २४ रुपैयाँ७९ पैसा मात्र विनियोजन भएकोमा ८८ करोड ८५ लाख ६३ हजार ३ सय रुपैयाँ ७४ पैसा मात्र (४५.०१%) खर्च भएको छ त्यस्तै गरी बित्तिय व्यवस्थातर्फ ३ करोड रुपैया मात्र विनियोजन भएकोमा सोहि बमोजिमको रकम खर्च भएको थियो ।

चालु आर्थिक वर्षको मिति २०७७ असार ९ गते सम्मको खर्च सहित चालु खर्चतर्फ विनियोजन भएको ८१ करोड ४५ लाख ३१हजार १ सय २ रुपैयाँ ८३ पैसा मध्ये ६० करोड २९ लाख १० हजार ७ सय ८२ रुपैया ९९ पैसा मात्र (७४.०२ प्रतिशत) पेश्कि सहितखर्च भएको देखिन्छ । त्यस्तै पुँजीगतखर्च तर्फ ५७ करोड ११ लाख ३० हजार ६ सय ६६ रुपैयाँ ९५ पैसा मात्र विनियोजन भएकोमा सोहीमिति सम्म ३५ करोड ५९ लाख ९५ हजार ३ सय २१ रुपैयाँ ३८ पैसा (६२.३३ प्रतिशत) खर्च भएको देखिन्छ । त्यस्तै गरी बित्तिय व्यवस्था तर्फ ३ करोड रुपैया बिनियोजन गरिएकोमा सोहि बरावरको रकम खर्च भएको छ ।

नेपालगन्ज उपमहानगरको आन्तरिक अनुमानित आयको एउटा भार व्यवसाय कर र घर बहाल कर हो । नगरको विकासको मेरुदण्ड भनेकै राजश्व भएको कुरालाई मध्येनगर गर्दै करदाता र उपमहानगरपालिकाको संयुक्त रुपमा गरिने सकारात्मक प्रयासबाट नगरको समग्र विकासमा हातेमालो गर्न रणनितिक रुपमा अघि बढ्नु पर्ने यर्थाथलाइ आत्मासाथ गर्दै यस वर्ष उद्योगि व्यवासयीहरुको साझा संस्था नेपालगन्ज उद्योग वाणिज्य संघसंग सहकार्य गर्ने नीति लिएका छौ ।

उपमहानगरले अनुमानित गरेको व्यवसाय करभन्दा बढि व्यवसाय कर बृद्धि भएको अवस्थामा अनुमातिभन्दा बढि आम्दानी भएको जम्मा रकमको २० प्रतिशत नेपालगन्ज उद्योग वाणिज्य संघलाई अर्को आवमा (२०७९/०८०) अनुदानको रुपमा उपलब्ध गराउने नीति लिइएको छ । ब्यवसायिक प्रयोजनको लागि नभई अन्य प्रयोजनको लागि घर वहालमा दिएको घरबेटीले बुझाउने वहालकरमा २५ प्रतिशत छुट दिइनेछ । २०७७/०७८ मा कोरोना महामारीका कारण लकडाउनले प्रभावित हुन पुगेका व्यवसाय लगायत उपमहानगरले ठेक्का वा भाडामा दिएका सम्पूर्णमा वार्षिकरुपमा तिर्नुपर्ने करमा लकडाउन अवधिभरको छुट यस आव २०७८/०७९ मा दिइनेछ ।

करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउदै समग्र राजस्व प्रशासनलाई करदाता मैत्री बनाइनेछ । जसको लागि सबै वडा कार्यालयहरुमा सफ्टवयेर प्रणालीको विस्तार गरी अनलाइनमार्फत वडा कार्यालयहरुबाटै सम्पूर्ण कर, दस्तुर संकलन गर्ने वातारणको सिर्जना गरिनेछ । कोभिड-१९ का कारण करदाताहरु कार्यालयमा आई कर,शूल्क बुझाउन नसक्ने विद्यमान अवस्थालाई मध्यनजर गरि र करदाताको सुविधाको लागि ई–पेमेन्ट सिस्टम लागु गरि राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाईनेछ ।

शहरलाई नै कुरुप पार्ने गरि अब्यवस्थित तरिकाले राखिएका विज्ञापन सामाग्रीहरु (होडिङ्ग बोर्ड आदी)लाई पूर्णरुपमा निरुत्साहन गर्ने नीति अवलम्बन गरिनेछ र सोको विकल्पमा डिजिटल बोर्ड लगाइनेछ । कोभिड १९ को कारण स्वदेशमा फर्किन बाध्य युवाहरुलाई मध्येनगर गरि स्वदेशमै रोजगारी सिर्जना गरि आर्थिक रुपमा आत्मनिर्भर गराउन वैदेशिक रोजगारबाट फर्केकाहरुले नयाँ व्यवसाय सञ्चालन गर्न चाहेमा व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइनेछ । अपांङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तथा व्यवसायमा प्रोत्साहन गर्न अपांङ्गता भएका व्यक्ति संचालक भएको उद्योगि व्यवसायीलाई व्यवसायमा लाग्ने करको दरमा ५० प्रतिशत छुट दिइनेछ ।

लघु, घरेलु, वातावरण अनुकुलनमा सहयोग पुर्याउने खालका उद्योग व्यवसाय तथा महिला संचालक भएको उद्योगि व्यवसायीहरुलाई प्रोत्साहन गर्न व्यवसायमा लाग्ने करको दरमा ३० प्रतिशत छुट दिइनेछ । योसंगै करदाताहरुलाई करको दायरामा ल्याउन विषेश खाले कार्यक्रम बनाइएको छ भने करदातामैत्री नगरपालिका बनाउन करदाताहरुप्रति नगरपालिकाको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वय गर्न पनि हामीले सकारात्मक पहल गरेका छौ । अन्तमा यस बजेटको प्रभावकारी कार्यान्वयनबाट नगरपालिकाको भौतिक पूर्वाधार विकास एंव सामाजिक क्षेत्रको विकासमा वाञ्छित लक्ष्य हासिल हुने हुँदा बजेटको सफल कार्यान्वयनका लागिपालिकाका जनप्रतिनिधि, कर्मचारी, विकास साझेदार संस्था, अन्तराष्ट्रिय/राष्ट्रिय गैरसरकारी संघसंस्था संचारक्षेत्र, निजी क्षेत्र, नागरिक समाज र नगरवासी सबै क्षेत्रबाट सहयोगको अपेक्षा छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १८:०७