सूचनाको शक्ति - The Power Of Information

        

बिपद्को पीडा

विपद् पूर्वतयारीका नाममा मोजमस्ती, तटबन्ध जीर्ण हुँदा २४ गाउँ उच्च जोखिममा

विपद् पूर्वतयारीका नाममा हरेक बर्ष मोजमस्तीमा हिँड्ने सांसद र सुरक्षा अधिकारीहरुको टोलीले राप्ती नदी क्षेत्रमा बनेको तटबन्धको कहिल्यै निरीक्षण गरेको छैन ।

बाँके । उत्तरतिर कालो बादल मडारिँदा राप्ती नदी तटिय क्षेत्रका बासीन्दाको निन्द्रा हराउँछ । पहाडी क्षेत्रमा बर्षा भएपछि राप्ती नदीमा पानीको बहाब बढ्छ । बर्षायाममा राप्ती तटिय क्षेत्रका बासीन्दा सुरक्षित स्थानतर्फ सर्न थाल्छन् । हरेक बर्ष यो क्रम चलिरहन्छ । अगुल्टाले हानेको कुकुर बिजुली चम्केपछि त्रसिन्छ भनेझैँ बाढी देख्नासाथ स्थानीयहरु डराउँछन् ।

यस बर्ष पनि केही दिनअघि लगातार बर्षा भएपछि राप्ती तटिय क्षेत्रका बासीन्दा दुई–चार दिन राम्रोसँग निदाउन सकेनन् । बाढी र डुबान हुने डरले राप्ती तटिय क्षेत्रका नागरिकहरु त्रसित बनिरहेका बेला बाँकेका केही सांसद र सुरक्षा निकायका अधिकारीहरु विपद पूर्व तयारीका नाममा स्थलगत निरिक्षण भन्दै लावालस्करसहित घुमफिरमा निस्किए ।

बाँकेका प्रमूख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक ओमबहादुर राना लगायतको टोली असार ३ गते लावालस्करसहित कुसुम पुग्यो । जिल्ला विपद् व्यवस्थापन समितिका नाममा घुमफिर र मस्ती गर्दै सोही दिन राप्तीसोनारी गाउँपालिकाले विपद् व्यवस्थापन पूर्वतयारीका नाममा तामझामसहित कार्यक्रम राख्यो ।

त्यस्तै असार ७ गते लावालस्करसहित बाँकेका केही सांसद र सुरक्षा निकायका अधिकारीहरुको टोली स्थलगत निरिक्षण भन्दै लक्ष्मणपुर बाँधतिर लाग्यो । त्यहाँ दुई–चार वटा फोटो खिचेर टोली फर्कियो । विपद् पूर्वतयारीका नाममा हरेक बर्ष मोजमस्तीमा हिँड्ने सांसद र सुरक्षा अधिकारीहरुको टोलीले राप्ती नदी क्षेत्रमा बनेको तटबन्धको कहिल्यै निरीक्षण गरेको छैन ।

मोजमस्ती र लावालस्करसहित घुम्ने सांसद र सुरक्षा अधिकारीको टोली राप्ती नदीमा निर्माण गरिएको जनताको तटबन्ध कस्तो हालतमा छ भनेर अनुगमन र निरिक्षणसम्म गर्दैन । हरेक बर्ष विपद् पूर्वतयारीका नाममा लावालस्करसहित सुरक्षा अधिकारीको टोली उपलब्धीविहीन घुमाई र मोजमस्तीमा निस्किन्छ । तर, तटबन्ध भएका क्षेत्रमा कहिल्यै पुग्दैन ।

राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ र ७ सीमा क्षेत्रमा पर्ने पदनाहादेखि बिसम्भरपुरसम्मको झण्डै एक किलोमिटर जनताको तटबन्ध जीर्ण अवस्थामा छ । झण्डै १० बर्षअघि बनेको जनताको तटबन्ध जीर्ण बनेपछि राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ उच्च जोखिममा रहेको छ । तटबन्धमा प्रयोग गरिएका जालीहरु खिया लागेर चुँडिएका छन् ।

राप्तीनदीको मुख्य बहाव तटबन्धतिरै सोझिएर कटान गरिरहेको छ । तटबन्ध भत्किँदै जीर्ण बनेको छ । ‘नदीको भंगालोले ७ नम्बर वडाका विभिन्न बस्तीहरु डुवान तथा कटान गर्ने उच्च जोखिम बढेको छ,’ राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले भने, ‘अहिलेसम्म तटबन्धको अवस्था बुझ्न र हेर्न कोही पनि आएको छैन ।’

विपद पूर्व तयारीका नाममा स्थलगत निरिक्षण भन्दै लावालस्करसहित घुमफिरमा निस्किएको बाँकेका केही सांसद र सुरक्षा अधिकारीहरुको टोली लक्ष्मणपुर बाँधमा तस्वीर खिचाउँदै ।

विपद् प्रतिकार्य योजनाका नाममा ठूलो धनराशी खर्च भइरहेको भए पनि जनताको तटबन्ध जीर्ण बने पनि त्यसको मर्मत सम्भारमा जनताको तटबन्ध कार्यालयले नै चासो नदिएको वडाध्यक्ष थारुको भनाई छ । उनले भने, ‘तटबन्धमा राज्यले गरेको खर्बौको लगानी पनि डुब्दैछ । राज्यले नागरिकको जीउधनको सुरक्षासँगै सरकारी लगानीको पनि सुरक्षा गर्न जरुरी छ ।’

पदनाहादेखि बिसम्भरपुरसम्मको जनताको तटबन्ध जीर्ण बनेर राप्ती नदीको बहाव सोही तटबन्धतिर सोझिएपछि त्यो क्षेत्रभन्दा तलतिरको झण्डै ८ किलोमिटर तटबन्ध पनि भत्किने उच्च जोखिममा छ । वडाध्यक्ष थारुले भने, ‘यहाँको तटबन्ध डुबिसकेको छ, राप्ती नदीको धार हाम्रो वडातिर सोझिएको छ । यसले तल्लो क्षेत्रको तटबन्ध पनि बगाउने जोखिम बढेको छ ।’

राप्ती नदीले बर्सेनि डुवान कटानको समस्या र जोखिम निम्तिरहन्छ । बाढीजन्य प्रकोपबाट जोगिन जोखिमयुक्त स्थानहरुको पहिचान नगर्दा जनताको तटबन्ध जीर्ण बनेको पनि वडाध्यक्ष थारुले बताए । पदनाहादेखि बिसम्भरपुरसम्मको तटबन्ध जीर्ण हुँदा वडाबासीहरुले बाढी तथा प्रकोपको सामना गरिरहेको पनि उनले बताए ।

उनले भने, ‘तटबन्ध जीर्ण हुँदा बाढीजन्य प्रकोपबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग कुनै योजना नरहेको गुनासो गर्दै तटबन्धको मर्मत, सम्भार र पुनःनिर्माणका लागि प्रदेश तथा केन्द्र स्तरबाटै बिशेष योजना निर्माण गरी कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता छ ।’

तटबन्ध मर्मत नहुँदा राप्ती नदीको भंगालो नै राप्तीसोनारी–७ का २४ वटा बस्तीतिर सोझिएको छ । भंगालोले वडा नं. ७ का १० हजार ५९४ जनसंख्या विस्थापित हुने खतरा बढेको छ भने हुलाकी राजमार्ग पनि जोखिममा छ । तटबन्ध मर्मत तथा पुनःनिर्माणका लागि वडा कार्यालयले जनताको तटबन्ध कार्यालयलाई पटक–पटक जानकारी गराउँदै आएको छ ।

‘मैले धेरै पटक जनताको तटबन्द कार्यालयमा लिखित र मौखिक जानकारी गराएको छु । तर अहिलेसम्म कुनै पहल भएको छैन,’ वडाध्यक्ष थारुले भने, ‘ठुलाबडाहरु विपदका नाममा घुमफिरमै व्यस्त छन् । वडाबासीहरु नागरिक डरैडरमा बाँच्न बाध्य छन् । वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भारमा सरोकारवालाले नै चासो देखाएको छैन ।’

यस बर्ष अझै बाढीको खतरा छ । ठूलो बाढी आएपछि जीर्ण तटबन्धले रोक्न सक्ने अवस्था नरहेको वडाध्यक्ष थारुको भनाई छ । ‘राप्ती नदीको मुख खुलिसकेको छ, अब आउने बाढी सीधै गाउँमा पस्ने निश्चित छ,’ उनले भने । जनताको तटबन्ध कार्यालयले मर्मत सम्भारमा चासो नदेखाउँदा वडाबासीहरु उच्च जोखिममा जीवन जीउन गर्न बाध्य रहेको उनले बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १०:४२