काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सरकारको मन्त्रिमण्डल विस्तारलाई अवैध ठहर गरेपछि नेता नेपालको यस्तो टिप्पणी आएको हो ।
नेता नेपालले फेसबुकमार्फत प्रधानमन्त्री ओलीबाट पटक–पटक गलत काम भइरहेको र त्यसले देश र व्यवस्थालाई संकटतर्फ धकेलेको बताउनुभएको छ ।
दुई तिहाई नजिकको नेकपा सरकार बनेर ऐतिहासिक काम गर्ने अवसर प्राप्त भएको तर ओलीको हठले देश र पार्टी नै संकटमा पुगेको नेता नेपालको भनाइ छ ।
आफू पार्टी एकताकै पक्षमा रहेको तर ओलीको हठले एकताको वातावरण नबनेको नेपालको आरोप छ । साथै उहाँले संविधान र व्यवस्था जोगाउन वामपन्थी र लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले लेख्नुभएको छ‘ संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो ।तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !!’
।