काठमाडौं । सर्वाेच्च अदालतले ६५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोजको खोप मात्रा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मंगलबार खोप दिन ढिला भइरहेको भन्दै सक्दो चाँडो दोस्रो डोजको व्यवस्था गर्न आदेश दिएको हो ।
६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन नपाएपछि नागरिक अभियन्ता चिरञ्जिवी बासगिरीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
उक्त रिटमाथिको सुनुवाई गर्दै मंगलवार सर्वाेच्चले उक्त आदेश दिएको होे । मुद्दामा अधिवक्ता किर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई र अमिता गौतम पौडेल लगायतले बहस गर्नुभएको थियो । सो आदेशसँगै १३ लाख वृद्ध, वृद्दाले खोप लगाउन पाउने बाटो खुलेको छ ।
यद्यपि भारत सरकारले पहिल्यै पैसा बुझाइसकेको खोप पनि उपलब्ध नगराएको कारण समस्या परेको छ । कोभिशिल्डको ठाँउमा एस्ट्राजेनेका खोप दिने भनिएपनि कहिले दिने भन्नेबारे कुनै टुँगो लागेको छैन ।
।