सूचनाको शक्ति - The Power Of Information

        

अनुसन्धान

थाइल्याण्डमा गाँजालाई कानुनी मान्यता, कोरोना संक्रमितको उपचारमा फाइदा

काठमाडौं । कोरोना संक्रमणका बिरामीहरूले गाँजालाई औषधिजन्य पदार्थका रूपमा प्रयोग गर्न सक्ने थाइल्याण्ड मेडिकल रिसर्च इन्स्टिच्यूटले दावी गरेको छ । यहाँको स्वास्थ्य मन्त्रालयको चिकित्सा विज्ञान विभागले गाँजाबाट विभिन्न रोगका बिरामीहरूलाई उपचारमा फाइदा हुने तर्क अघि सारेको छ ।

कोरोना संक्रमित बिरामीको फोक्सोमा देखिएको समस्या गाँजाको जराले निको पार्ने रिसर्च इन्स्टिच्यूटले जनाएको छ । गाँजा प्रयोगले बिग्रँदो स्वास्थ्य अवस्थामा समेत थप सुधार हुने अध्ययनकर्ताहरूको भनाइ छ । कोरोनासंक्रमणले प्रायः बिरामीहरू फोक्सोको तनाब थेगिरहेका छन् । तर, गाँजाको प्रयोगबाट फोक्सोको उपचार गर्न सकिने गुणहरू देखिएको दावी गरिन्छ ।

थाइल्याण्डका उपप्रधान तथा जनस्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले सोमबार गाँजाबाट बनेको औषधिजन्य पदार्थको अवलोकन तथा उद्घाटन गर्दै थाइ जनताले कोरोनाभाइरसको त्रासबाट छिट्टै मुक्ति पाउने बताएका छन् । देशभर नै विभिन्न रोगहरूको उपचारमा गाँजाको गुणबारे अध्ययन र अनुसन्धान गर्दै लैजाले उनले स्पष्ट पारे ।

गाँजा औषधिजन्य पदार्थका रूपमा मात्रै नभइ भविष्यमा राष्ट्रिय अर्थतन्त्रसँग जोडिने महत्वपूर्ण पाटो भएको जनस्वास्थ्य मन्त्रीले बताए । चिकित्सा विज्ञान विभागले गाँजाले बिरामीहरूको फोक्सो निको पार्न मद्दत पुर्याउन सक्ने अनुसन्धानबाट पत्ता लागेको जनाएको छ । नेपालमा प्रतिबन्धित गाँजा थाइल्याण्डले औषधिजन्य प्रयोगका लागि कानूनी मान्यता दिएको छ । गाँजालाई छुट दिनेमा थाइल्याण्ड दक्षिण पूर्वी एसियामा पहिलो मुलुक मानिन्छ ।

तर, सिंगापुर, मलेसिया र इण्डोनेसियामा भने गाँजाको ओसारपसार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिइन्छ । यहाँका मुख्य शहरका रेष्टुरेन्टहरूमा गाँजाबाट बनेका खानेकुरा र चिसो पदार्थसमेत पाइन्छ । थाइल्याण्डमा गाँजा प्रयोगका लागि कानूनी मान्यता भएका कारण पनि पर्यटक आगमनको केन्द्र बन्ने गरेको छ । गाँजा संसारमा सबैभन्दा लोकप्रिय औषधि भएको थाइल्याण्ड मेडिकल रिसर्च इन्स्टिच्यूटले बताएको छ ।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १५:५०