सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

बैजनाथको गौरव ‘नौबस्ता औद्योगिक क्षेत्र’

औद्योगिक क्षेत्रमा खेल मैदान, पार्क, स्वास्थ्य क्लिनिक, बाल उद्यान, बालबालिका हेरचाह केन्द्र, बैंक, स्पोर्टस् हल, सभा हलजस्ता भौतिक संरचना निर्माण गरिनेछ ।

बाँके । बाँकेको बैजनाथ गाउँपालिका अन्तरगत नौबस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढ्दैछ । वडा नं.३ मा पर्ने नौबस्ताको पूर्वीक्षेत्रको ३३८ बिघामा औद्योगिक क्षेत्र स्थापना हुँदैछ । प्रदेश पाँचकै ठूलो औद्योगिक क्षेत्र निर्माण गर्न सरकारले नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाले बाँके जिल्लामै खुशीको सञ्चार भएको थियो ।

जिल्लाबासीका लागि यो एउटा गौरवको योजना रहेको नौबस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयले जनाएको छ । नेपालगन्ज औद्योगिक क्षेत्रभित्र सबै उद्योग अटाउन नसक्ने र शहरको बीचमा उद्योग पर्न गएपछि बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र स्थापनाको तयारी सरकारले गरेको थियो । नेपालगन्जभित्र औद्योगिक क्षेत्रमा विकास गर्न नसक्ने अवस्था उत्पन्न भएपछि उद्योग व्यवस्थापन गर्न नौबस्तामा जग्गा खोजी गरेको थियो ।

२०७२ सालमै बाँकेको वैजनाथ गाउँपालिका–३, नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गर्ने भनिए पनि प्रस्तावित स्थानमा भएको बस्ती व्यवस्थापन हुन नसक्दा निर्माण कार्यले गति लिन सकेको छैन । यद्यपि, जग्गाको स्वामित्व ग्रहण, डीपीआर निर्माण र ईआइएको काम सम्पन्न भइसकेको छ । तर, ठेक्का प्रक्रिया रोकिएकोले औद्योगिक क्षेत्रको निर्माण कार्यमा केही ढिलाई भएको बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बताए ।

बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर)को काम सकिएको छ । औद्योगिक क्षेत्रमा करीब २०० वटा ठूला र मझौला उद्योग स्थापना गरिने गाउँपालिका अध्यक्ष ठकुरीले बताए । नौबस्तामा औद्योगिक क्षेत्र स्थापना भए यसले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रले ठूलो फड्को मार्ने तथा वस्तु उत्पादनमा मुलुक आत्मनिर्भर हुने विश्वास गरिएको छ ।

६० लाख रुपैयाँमा औद्योगिक क्षेत्रको तारबार गरिएको छ तर बस्ती व्यवस्थापन गर्न नसक्दा २५९ घरधुरी खाली गर्न बाँकी रहेकाले अरू कामले तीब्रता पाउन सकेको छैन । नौबस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार झन्डै ३०० परिवारलाई परियोजना क्षेत्रबाट स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ । औद्योगिक क्षेत्रको मुख्य समस्या भनेकै त्यहाँको बस्ती व्यवस्थापन हो । उद्योगहरु निर्माणका लागि ठूलो क्षेत्रफलको जग्गा चाहिन्छ ।

त्यसका लागि वरिपरिका बस्ती हटाउनुपर्ने हुन्छ । बैजनाथको नौबस्तामा निर्माणाधीन औद्योगिक क्षेत्रमा ३३८ बिगा क्षेत्रफल छ । औद्योगिक क्षेत्रका लागि ५२५ बिघा क्षेत्रफल छुट्टाइएकामा १८७ बिघा जग्गा भने अतिक्रमण गरी झन्डै साढे दुई हजारदेखि तीन हजारको हाराहारीमा घरटहरा निर्माण गरिएका छन् । बस्ती कसरी हटाउने भन्ने विषय पनि अन्योलमा नै छ । जग्गाधनी प्रमाणपत्र भएकालाई मुआब्जा दिएर व्यवस्था गर्न सकिने भए पनि अतिक्रमण गर्नेलाई व्यवस्थापन गर्ने विषयमा समस्या भएपछि ३३८ बिघा क्षेत्रफलमै प्रारम्भीक काम थालिएको छ ।

अतिक्रमित बस्ती हटाउन सकिए औद्योगिक क्षेत्र अझै विस्तार गर्न सकिने देखिन्छ । २०७२ को चैतमा सरकारले नौबस्तामा औद्योगिक क्षेत्र घोषणा गरेको हो । नेपालगन्ज औद्योगिक क्षेत्रभन्दा १९ गुणा ठूलो क्षेत्रफलमा निर्माणाधीन यो औद्योगिक क्षेत्रमा पूर्वआशय पत्र पेस गर्ने उद्योगीले चाउचाउ, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, जडीबुटीजन्य, खाद्यान्न, फर्निचर लगायत छन् । औद्योगिक क्षेत्रले न्यूनतम भौतिक पूर्वाधार निर्माण गरी उद्योगलाई जग्गा मात्र उपलब्ध गराउँदा भने छिटोमा दुई वर्षभित्रै औद्योगिक क्षेत्र सञ्चालन गर्न सकिने परियोजनाले जनाएको छ ।

१११ वटा प्लट रहने यो औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण लागत नौ अर्ब रुपैयाँ छ । जसमा २२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । यो औद्योगिक क्षेत्र निर्माणका लागि चालू आर्थिक वर्षमा ६१ करोड रुपैयाँ विनियोजन भएको छ । यसअघि औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्न १२२ उद्योगले नाम दर्ता गराएको नौबस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्लास्टिक उद्योग, प्लाइउड, पानी, स्टिल एण्ड आइरन, तेल तथा जुस प्याकेजिङजस्ता कम्पनीले आशयपत्र दर्ता गराएका छन् । देशभर ६ स्थानमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारी योजना छ । निर्माण कार्यलाई तीब्रता पनि दिइएको छ । कञ्चनपुरको दैजीछेला (सुदूरपश्चिम), बाँकेको नौबस्ता र रुपन्देहीको मोतीपुर (लुम्बिनी), चितवनको शक्तिखोर र मकवानपुरको मयूरधाप (बागमती) तथा झापाको दमक (प्रदेश १) औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७२ चैतमा निर्णय गरेको थियो ।

हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीतिअनुसार सरकारले प्रस्ताव गरेको १५ नयाँ औद्योगिक क्षेत्रमध्ये सरकारले नयाँ ६ वटा औद्योगिक क्षेत्र घोषणा गरी निर्माण अघि बढाएको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ । यी प्रस्तावित छवटा औद्योगिक क्षेत्रको निर्माण पाँच वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । एउटा मोडल औद्योगिक क्षेत्रले उद्योगका लागि आवश्यक सम्पूर्ण सेट बनाउँछ ।

अर्को मोडल औद्योगिक क्षेत्रले उद्योग सञ्चालनका आधारभूत पूर्वाधार सडक, विद्युत्, खानेपानी, बाउन्ड्री, ग्रिन बेल्टलगायत पूर्वाधार निर्माण गरी आवश्यक जग्गा उपलब्ध गराएपछि उद्योगले आफै पूर्वाधार निर्माण गर्छ । कस्तो मोडलमा जाने भन्ने अझै प्रष्ट भइसकेको छैन । २०३० सालमा नेपालगन्जमा १७ बिघा क्षेत्रफलमा स्थापना गरिएको बाँकेको पहिलो नेपालगन्ज औद्योगिक क्षेत्रले भने मिश्रित खालको मोडल अपनाएको छ । औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ३८ मध्ये २२ वटा उद्योगको भवन औद्योगिक क्षेत्रले नै निर्माण गरेको थियो ।

अन्य उद्योगले भने आवश्यकता अनुसार भवन तथा पूर्वाधार आफैले बनाएका हुन् । मोडल प्रष्ट नभए पनि संघीय सरकारले १० करोड र प्रदेश सरकारले पाँच करोड बजेट यो आर्थिक वर्षमा विनियोजन गरेको छ । यो रकमले पूर्वाधारका काम थाल्ने औद्योगिक क्षेत्रको तयारी छ । परियोजनाले अहिले औद्योगिक क्षेत्र परिसरमा ६० लाख रुपैयाँको लागतमा ८० प्रतिशत तारबार गरेको छ । औद्योगक क्षेत्रले उद्योगीसँग पूर्वआशस पत्र संकलन गरेको छ ।

नौबस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयले २० असारमा सूचना प्रकाशित गरेर २० साउनसम्म पूर्वआशयपत्र पेस गर्ने समयसीमा तोकेको थियो । झण्डै १२५ उद्योगले पूर्वआशयपत्र पेस गरेका छन् । जसमा प्लास्टिक उद्योग, प्लाइउड, पानी, स्टिल एन्ड आइरन, तेल तथा जुस प्याकेजिङजस्ता कम्पनीले आसयपत्र दर्ता गराएका छन् । कुनै पनि मल्टिनेसनल र ठूला कम्पनीले आसयपत्र दर्ता गराएका छैनन् ।

औद्योगिक क्षेत्रमा खेल मैदान, पार्क, स्वास्थ्य क्लिनिक, बाल उद्यान, बालबालिका हेरचाह केन्द्र, बैंक, स्पोर्टस् हल, सभा हलजस्ता भौतिक संरचना निर्माण गरिनेछ । औद्योगिक क्षेत्रमा जानका लागि निर्माण गरिने पक्की चौडा सडक निर्माण गरिनेछ । त्यसैगरि, पानी र विद्युतीकरणको काम पनि अघि बढाइनेछ । औद्योगिक क्षेत्रको सुरक्षाका लागि प्रहरी पोस्टसमेत स्थापना गर्ने डिपिआरमा उल्लेख छ । औद्योगिक क्षेत्रलाई हरियाली बनाउन ग्रिनबेल्ट, ग्रिनरी क्षेत्रको समेत व्यवस्था छ ।

औद्योगिक क्षेत्रमा कम्तीमा १३० देखि बढीमा २०० उद्योग सञ्चालन गर्न सकिनेछ । कुल ३३८ बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक क्षेत्रमा साना–ठूला गरी झन्डै २०० उद्योग सञ्चालन गर्ने लक्ष्य छ । उद्योग क्षेत्रमा मल्टिनेसनल कम्पनी स्थापना भए उद्योगको संख्या कम हुनेछ । मल्टिनेसनल कम्पनी स्थापना गर्ने हो भने १५० उद्योग स्थापना गर्न सकिनेछ । कम्पनीलाई ९–३० रोपनी जमिन उपलब्ध गराउने गरी डिपिआर तयार भएको छ । एउटा कम्पनीलाई कम्तीमा ४० वर्षका लागि जमिन भाडामा दिइनेछ ।

तर, औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगमात्र स्थापना गर्ने नीति छ । सिमेन्ट उद्योगबाहेक सबै प्रकारका उद्योग सञ्चालनका लागि जमिन उपलब्ध गराउने योजना छ । औद्योगिक क्षेत्र निर्माणका लागि ६ अर्ब खर्च लाग्ने अनुमान गरिए पनि सरकारले चालू आवमा ६१ करोड मात्र विनियोजन गरेको छ । देशका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रिया अघि बढेका छन् । औद्योगिक क्षेत्रमा उद्योगीलाई न्यूनतम शुल्कमा ४० वर्षका लागि उद्योग स्थापनाका जग्गा भाडामा दिने योजना छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बाँकेलाई आर्थिक राजधानीको रुपमा विकास गर्ने योजना अन्तर्गत औद्योगिक क्षेत्रको निर्माण थालिएको जनाएको छ । औद्योगिक क्षेत्र स्थापना हुने क्षेत्रका नागरिकलाई व्यवस्थापनमा सहयोग गर्न बैजनाथ गाउँपालिकाका अध्यक्ष रुचालको आग्रह छ । उनले गाउँपालिकाको तर्फबाट औद्योगिक क्षेत्र निर्माणमा पूर्ण सहयोगको प्रतिबद्धता जनाए । बैजनाथ गाउँपालिकाका लागि गौरवको आयोजनाका रुपमा रहेको नौबस्ता औद्योगिक क्षेत्रको फागुन १२ गते शिलान्यास भई निर्माण काम कार्य सुरु भइसकेको छ ।

औद्योगिक क्षेत्रबाट २० हजार भन्दाबढी ब्यक्तिले रोजगारी पाउने सरकारको अनुमान गरिएको छ । औद्योगिक क्षेत्रभित्रै एकिकृत भन्सार चेक पोष्ट राखिने पनि कम्पनीले जनाएको छ । औद्योगिक क्षेत्रभित्र चारलेनको मुख्य र दुई लेनको सहायक सडक, साइकल लेन, सडकको दुबैतर्फ २.५ मिटरको पैदल यात्रु लेन तथा वर्षा र ढल पानीको उचित व्यवस्थापनका लागि निकासको छुट्टै नालाको व्यवस्था गरिने औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले जनाएको छ ।

औद्योगिक क्षेत्रभित्र २४ सैं घण्टा पानी आपूर्ति, ओभरहेड अन्डरग्राउण्ड ट्यांकी, फोहोर पानी प्रशोधन केन्द्र, ८ फिट अग्लो सिमाना पर्खाल निर्माण गर्ने विस्तृत प्रतिवेदनमा उल्लेख छ । यसैगरी सुरक्षाको लागि करिव २०० जना सशस्त्र प्रहरी बल बस्ने व्यवस्थाका साथै ४० मेगावाट बिद्युतको छुट्टै फिडर, उद्योग संघ, बैंक, शिशु स्याहार, एटिएमको सुविधा, डिस्प्ले सेन्टर, स्वास्थ्य क्लिनिक पनि राखिनेछ । औद्योगिक क्षेत्र र मानव बस्तीबीचको करिव ३० मिटर क्षेत्रमा बृक्षारोपन गर्नका लागि ‘बफरजोन’ छुट्याइएको छ । हाल नेपालगन्जमा रहेको औद्योगिक क्षेत्रमा ३३ वटा ठूला साना उद्योग सञ्चालनमा छन् ।

२०३० सालमा २३३ रोपनीमा बनाइएको नेपालगन्जस्थित औद्योगिक क्षेत्रमा झण्डै १ हजारलाई रोजगारी र ४०० करोड बार्षिक उत्पादन हुने गरेको तथ्यांक औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । नेपालगन्ज बजारको मध्यभागमा स्थापना गर्न लागेकाले वातावरणीय प्रभाव पर्ने हुँदा शहर बाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने देखिएको छ । उद्योगबाट निस्कने धुवाँ र मेसिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौँदेखि उठिरहेको छ । नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भएपछि नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योगहरु आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिनेछ । –समृद्ध बैजनाथ बुलेटिनबाट

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १३:३७