सूचनाको शक्ति - The Power Of Information

        

युरोकप फुटबलमा आज दुई खेल हुँदै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज राति समूह ‘डी’ का दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।

इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

इंग्ल्यान्डलाई बराबरीको नतिजाले समेत अन्तिम १६ मा पुर्याउने छ । तर, पराजित भएको खण्डमा अन्य टिमको नतिजामा निर्भर रहनु पर्ने छ ।

पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो ।

चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेल रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । बराबरले समेत चेक रिपब्लिक अर्को चरणको यात्रा गर्नेछ ।

पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । दुई टिमबीचको खेल राति १२–४५ बजे सुरु हुनेछ ।

हाम्पडेन पार्कमा दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित क्रोएसिया दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ । पहिलो खेलमा चेक रिपब्लिकसँग २–० ले पराजित स्कटल्याण्डले दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार ०८:३०