सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

आज ११ जिल्लामा एक–एक जनामात्रै संक्रमित थपिए, देशभरको अवस्था यस्तो

३ हजार १३० जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभरका ११ वटा जिल्लामा आज १–१ जना मात्रै कोभिड–१९ संक्रमित थपिएका छन् ।

एकमात्र संक्रमित थपिनेमा ताप्लेजुङ, म्याग्दी कपिलवस्तुलगायतका ११ वटा जिल्ला छन् ।

त्यस्तै धनकुटा भोजपुर लगायतका २३ जिल्लामा आज १ भन्दा बढी १० जनाभन्दा कम संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले मुलुकभरका १९ जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा कम रहेको छ भने १८ जिल्लामा ५ सयभन्दा कम रहेको छ ।

यीबाहेक अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मलुकभर १० हजार ९०४ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ भने आज ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ८९.९३ प्रतिशत पुगेको छ भने मृत्युदर १.४१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १८:३८