सूचनाको शक्ति - The Power Of Information

        

माओवादीद्वारा १४ स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गरेको छ । सोमबार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो । निष्कासन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको छ ।

निष्कासनमा पर्नेहरुमा रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, देवाहीगोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह छन् ।

यस्तै सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास ताती, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ का वडाध्यक्ष सुरेशकुमार थापा, महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फरुक, कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा, कैलालीकै गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ का वडाध्यक्ष पुरन विसीलाई कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १७:१४