सूचनाको शक्ति - The Power Of Information

        

साँख खोलाको निर्माणाधीन पुल बाढीले भत्कायो

रुकुमपूर्व । राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका साँख खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ । वडा नम्बर ४ को सोलावाङ र वडा नम्बर १२ को बैरागीठाँटीमा रहेको पुल सोमबार बिहान साढे ३ बजेतिर भत्किएको हो ।

३५ मिटर लम्बाइको पुलको सेटिङका सबै काम सकिएर आरसिसी ढलान भइरहेको थियो । पुलको बिम र स्ल्याब कामै नलाग्ने गरी भत्किएको छ । बिम र स्ल्याबको काम अब फेरि सुरुबाट गर्नुपर्ने भएको पुल निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर हिरा लामाले बताए । पुल निर्माणको काम सूर्य इलाइट जेभीले गरिरहेको छ । पुल भत्किँदा करिब पाँच करोडको क्षति भएको लामाले दाबी गरे ।

‘पुलमा गाडी गुड्ने बनाउन करिब १०–१५ प्रतिशत काम मात्र बाँकी थियो,’ उनले भने, ‘असार मसान्तसम्म सक्ने गरी काम भइरहेको थियो ।’ पहिलोपटकको सम्झौतअनुसार पुल गत वर्ष साउनमै सम्पन्न भइसक्नुपथ्र्यो । कोरोनालाई कारण देखाउँदै असारसम्मको म्याद थपिएको थियो । पुल भत्किएपछि अब थपिएको समयमा पनि काम नसकिने भएको छ ।

विश्व बैंकको साढे नौ करोड सहयोगमा साँख खोला र सल्यानको पटारेमा पुल निर्माणको ठेक्का लागेको थियो । सल्यानको पटारेमा गत वर्ष नै पुल निर्माण सम्पन्न भइसकेको छ । साँख खोलाको निर्माणाधीन पुल बगाएसँगै स्थानीयले जीर्ण बेलीब्रिजबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता पनि लम्बिएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १३:०८