सूचनाको शक्ति - The Power Of Information

        

विचार

पर्यावरण र बाख्रापालन परिपुरक कि प्रतिश्पर्धी ?

कुनै पनि पशुको संख्यामा असन्तुलित बृद्धि जीवनचक्रलाई ऋणात्मक रुपबाट प्रभावित गर्न सक्छ र यो तथ्य बाख्राका लागि पनि त्यति नै सहि छ ।

बाख्रापालनलाई ग्रामीण गरीब समुदायको आजिविकाका लागि सदियौंदेखिको एउटा महत्वपूर्ण व्यवसाय मानिन्छ । आफ्नो उल्लेखनीय विशेषताहरुका कारण बाख्रापालनले महिलामा आधारित आजिविका एवं आयश्रोतमा ग्रामीण क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । मुख्यधारका सरकारी एवं गैरसरकारी संस्थाहरु, विद्धान समुहले पनि यसको योगदानको सराहाना गर्दछन् । तर समाजका कतिपय मानिसहरु एवं संस्थाहरुमा बाख्रापालन तथा पर्यावरणको सम्बन्धबारे किचित भ्रम व्याप्त छ ।

बाख्रालाई बोट बिरुवा नाश गर्ने जनावर मानेर कतिपय व्यक्ति तथा संस्थाहरु यसलाई जंगलनाशक पर्यावरण विनाशक जस्ता विशेषणहरुबाट सम्बोधन गर्ने गर्छन् । बाख्रा तथा पर्यावरणको सम्बन्धबारे खुला बहस, सत्य अर्धसत्य र असत्यबीचको अन्तरबारे गहन चर्चा हुनु आवश्यक छ । यस विवादलाई बुझ्नको लागि हामीले एक एक भ्रान्तिधारणा तथा सत्य माथि चर्चा गर्नुपर्ने हुन्छ । सर्वप्रथम हामीले यस सत्यलाई स्वीकार गर्नुपर्ने हुन्छ कि बाख्रा पर्यावरणको ठिक त्यस्तो प्रकारको भागिदार हो जसरी अरु पशु एवं मानव पर्यावरणका हिस्सा हुन् ।

कुनै पनि पशुको संख्यामा असन्तुलित बृद्धि जीवनचक्रलाई ऋणात्मक रुपबाट प्रभावित गर्न सक्छ र यो तथ्य बाख्राका लागि पनि त्यति नै सहि छ । त्यसैले हरेक बिकास परियोजनालाई कुनै पनि पशुको संख्यालाई उपलब्ध संसाधनको हिसाबले सन्तुलित गर्न जरुरी हुन्छ । यहाँ यो पनि बुझ्न आवश्यक छ बाख्राले जमीनभन्दा छ इन्चमाथिको विरुवाको पात खान मन पराउँछ । भेडाजस्तो जमीनको सतहमा उम्रेको घास खान मन पराउँदैन । जंगलमा तिन किसिमका वनस्पति पाइन्छ । लहरा जुन जमीनमाथि घस्रिएर बोटबिरुवाको सहाराले माथि बढ्दै जान्छ ।

झाडी बुट्टयान जुन ३–५ फिटको उचाइमा फैलिएर नमीनको चिस्यानको रक्षा गर्दछ र रुखहरु जुन सामान्यतः १० फिट यात्यस भने अग्ला हुन्छन् । बाख्राले मुख्यतः आफ्नो दाना आहारा झाडी लहरा तथा रुखबाट खस्रेको पालहरुबाट प्राप्त गर्दछ । यसरी यसले झाडीको बिकासलाई नियन्त्रित गर्दछ । १० फिटभन्दा माथिको रुखमा बाख्राले चर्ने कुरा लगभग असम्भव छ । प्रश्न यो पनि छ, जबसम्म जमिनमा प्रशस्त दाना, घाँस, पात उपलब्ध भएमा पशुले असामान्य वयवहार प्रदर्शन गर्दैन । जबसम्म रुखविरुवा साना हुन्छन् त्यतिबेलासम्म कुनै पनि पशुले नर्सरीमा चर्नु खतरनाक हुनसक्छ ।

यहाँ बाख्रामाथि मात्र प्रश्न उठाउनु गरीबहरुको आयश्रोत मानिएको पशुप्रति अन्याय हुनेछ । सामान्यतः बाख्रापालक कृषकको बन्चरोको धार भएको भाग पौनेदेखि सवा इन्चसम्मको हुन्छ । यो बन्चरोले एक सामान्य ४ फिट गोलाई भएको हाँगा काट्न पुरै बल लगाए पनि ४–५ घन्टा लाग्न सक्छ । वस्तुतः काट्नै मुस्किल होला । केही रुखका हाँगाहरुको काँटछाँट आवश्यक हुन्छ । ताकी हाँगा ज्यादा वाकवलो नहोस् वा सहि किसिमले हाँगा एवं लहराहरुको विकास हुन सकोस् । त्यस हदसम्म यो कार्य रुखको हितमा हुन्छ ।

धेरैजस्तो अध्ययन अनुसन्धान एवं वैज्ञानिक प्राज्ञिक अवलोकनबाट यो प्रमाणित भएको देखिन्छ कि बबुल, इपिल, नीम, पिपल, बर, गुलरजस्ता रुखविरुवा आदीलाई सहि तरिकाले काँटछाँट गर्दा पातहाँगाहरु बढी बाक्लो तथा स्याउला घास बढी उपलब्ध हुने गर्दछन् । जंगलमा रुखबाट खसेको रुखको पातहरु यदि बाख्राले खाएन भने सुकेको पात आगोको कारण बनेर वनमा डढेलो लागि वनजंगलको क्षति हुनसक्छ । यी पातहरु बाख्राले आफ्नो आहाराको रुपमा प्रयोग गरी जुत्ता बड्कौला, आदि उत्तम मलको रुपमा जमीनलाई फिर्ता गर्दछ । जुन बोटविरुवाका लागि आवश्यक हुन्छ ।

बाख्राको पिसाव तथा बड्कौलामा नाइट्रोजन तथा फस्फोरसको मात्रा बढी पाइन्छ । बाख्राले धेरै बोटविरुवाको वीउलाई एक ठाउँबाट अर्को ठाउँ सार्न सहयोग गर्दछ । साथै ती विउलाई आफ्नो पेटमा भएका अम्लले पघालेर विउको सुसुप्त अवश्था समाप्त गरी तिनलाई अंकुरण हुन योग्य बनाउँछ । जसबाट नयाँ बोटविरुवा पलाउन सम्भव हुन्छ । यस विषयमा खुला बहस, गहन चर्चा तथा लामो अनुसन्धानको खाँचो छ । अन्यथा हतारमा कुनै निश्कर्ष निकाल्नु ठुलो भुल हुनसक्छ । यहाँ यो पनि उल्लेख गर्नु जरुरी छ कि बाख्रापालन वनजंगल र बोटविरुवाको बीचमा एउटा मजवुत सम्वन्ध छ ।

वास्तवमा भन्ने हो भने बाख्रापालक कृषक समुदायमात्र यस्तो समुदाय हो जसको हित रुख विरुवा लगाउने तिनको संरक्षण गर्नसँग प्रत्यक्षरुपमा जोडिएको पान्छ । अर्कोतिर आजको गाईभैसी पालनदाना तथा खेतवारीका बोटविरुवाका उत्पादनमा निर्भर हुन पुगेका छन् । रुखविरुवा स्याउला र पातसँग यिनीहरुको कुनै सरोकार रहेन । यसैले बोट, रुखविरुवा लगाउने तथा तीनको रक्षा गर्ने काम तीनबाट सम्भव छ जसको आजिविका यसमा निर्भर छ । बाख्रापालक सायद त्यो समुदाय हो जुनआज रुख तथा स्याउला, पातबाट सबैभन्दा बढी लाभ लिन्छन् ।

यदि पानी, वायु प्रदुषण तथा माटो संरक्षणको कुरा गर्ने हो भने पानीको सम्बन्धमा बाख्रा सायद उटपछि सबैभन्दा किफायत पशु मानिन्छ । जसले पानीफारो गरी उपभोग गर्दछ । यिनलाई गाईभैंसीलाई जस्तो पानी आवश्यक पर्दैन । वास्तवमा बाख्रापालनबाट व्यवहारिक रुपमा अन्न तथा तरकारी बाली लगाउने कृषक भने तर्सिन्छन् । किनभने छाडा गरी पालेका बाख्राले अन्य तरकारी बाली र जंगली झाडी बुट्टयान छुट्टयाउन सक्तैन । अनि मानवका लागि उपयोगीवाली तरकारीका विरुवा खाएर नष्ट पारी दिन्छ ।

यसबाट यो प्रष्ट हुन्छ कि बाख्रा आफैमा रुखविरुवा नाशक वा विनाशक हैन । यसको असर बाँकी अरु पशुुजस्तै हो, मात्र सन्तुलन आवश्यक छ । समस्याको समाधान बाख्रालाई बदनाम गरेर बाख्रापालक किसानलाई गाली गरेर हैन, उनीहरुसँग सहकार्य गरेर सहि रणनीति निर्माण गर्नु हो । समाजका मुख्यधारका मानिस, संस्था तथा विज्ञहरुले बाख्रापालक किसानहरुसँग अर्थपूर्ण सम्वाद, सहभागीता बनाउनपर्नेछ । यसबाट बाख्रा तथा वन संरक्षणका लागि सम्वन्ध बलियो बनाउन सकिन्छ । (लेखक एम.भी.एस्सी प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)

प्रकाशित मिति : ७ असार २०७८, सोमबार ०९:३२