सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेका किसानलाई तत्कालै रासायनिक मल उपलब्ध

बाँकेमा करिब १० हजार बोरा युरिया र डीएपी मल अहिले मौज्दात रहेको छ ।

बाँके । बाँकेका किसानले यस वर्ष सहजैरुपमा रासायनिक मल प्राप्त गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले सहकारीमार्फत किसानलाई मागअनुसारको रासायनिक मल सहजैरुपमा वितरण गरिरहेको जनाएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रमेश पौडेलले पछिल्लो समय दैनिकजसो कार्यालयमा रासायनिक मल आउने र सहकारीलाई तत्कालै उपलब्ध गराइरहेको बताए । कम्पनीमा शुक्रबार मात्रै पाँच हजार बोरा युरिया मल आइपुगेको कार्यालय प्रमुख पौडेलले जानकारी दिएका छन् ।

‘यस वर्ष किसानका लागि मलको अभाव अहिलेसम्म छैन,’ कार्यालय प्रमुख पौडेलले भने, ‘अहिले किसानले मागेअनुसारको मल पाइरहेका छन् ।’ चालू आवमा करिब दुई हजार ५०० मेट्रिक टन मल नेपालगन्ज आइपुगेको छ । कृषि सामग्री कम्पनीले निषेधाज्ञालाई मध्यनजर गर्दै एक दिनमा एउटा स्थानीय तहका सहकारीलाई मात्रै मल उपलब्ध गराउँदै आएको छ ।

अहिले मलको अभाव नरहेको भन्दै उनले साउन १५ पछि थप मलको आवश्यकता पर्ने बताए । जिल्लाका सहकारीहरूले कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङसँग मल खरिद गरी किसानलाई उपलब्ध गराउँदै आएका छन् । साल्ट्र ट्रेडिङ नेपालगन्जका प्रमुख मनोज चौधरीले अहिले कार्यालयमा मलको पर्याप्तता रहेको जानकारी दिए ।

‘कार्यालयले बाँके र बर्दियामा सहकारीलाई मल उपलब्ध गराउँदै आएको छ,’ कार्यालय प्रमुख चौधरीले भने, ‘बाँकेमा करिब १० हजार बोरा युरिया र डीएपी मल अहिले मौज्दात रहेको छ ।’ कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल सहकारीमार्फत किसानलाई उपलब्ध गराउँदै आएका छन् । ग्रामीण क्षेत्रमा रहेका सहकारीमा यस वर्ष किसानहरूले सहजै मल पाएको बताएका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार ०८:३०