बाँके । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जदेखि झण्डै २५ किलोमिटर उत्तर–पश्चिममा पर्छ, बैजनाथ गाउँपालिका । पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको यस गाउँपालिकामा हाल दुई वटा अति महत्वका परियोजनाहरु सञ्चालनमा छन् । यसका साथै बैजनाथ गाउँपालिकामा उद्योग र पर्यटनसँग सम्बन्धित अन्य आधा दर्जन ठूला ‘प्रोजेक्ट’ सञ्चालनको तयारीमा छन् ।
प्रशस्त सम्भावना हुँदाहुँदै पनि राज्यको नजरमा पर्न नसकेको बैजनाथमा नयाँ बन्ने योजनाका कारण यतिबेला जनप्रतिनिधि र आमनागरिक उत्साहित छन् । बैजनाथ गाउँपालिकामा प्रदेशकै ठूलो उद्योग नगरी नौवस्ता औद्योगिक क्षेत्र, कैलाश मानसरोवर पार्क, गाभर होमस्टेसँगै लायन्स पार्कजस्ता योजना बन्ने क्रममा छन् । यी योजनाले औद्योगिक र पर्यटकीय क्षेत्रको विकासमा कायापलट गर्ने छन् ।
यी योजनाबाहेक सरकारी तहबाट खुला कारागार पनि यही निर्माण हुँदैछ । अत्याधुनिक प्रविधिबाट च्याउँ, अष्ट्रिच फार्मजस्ता कृषि उपज क्षेत्रमा लगानी थपिदैछ । स्थानीयहरु बैजनाथको भविष्य बद्लिनेमा बिश्वस्त छन् । सरकारले बाँकेको नौवस्तामा स्थापना गर्न लागेको औद्योगिक क्षेत्र निर्माणमा केही अवरोध उत्पन्न भएपनि विधि र प्रक्रिया औपचारिक रुपमा अघि बढिरहेका छन् ।
सरकारले २०७२ चैत १ गते बाँकेको नौवस्तामा प्रदेश स्तरको ठूलो औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथको नौवस्तामा ३३८ विघा जग्गा अधिग्रहण गरी जग्गाधनी प्रमाणपूर्जा समेत तयार भइसकेको छ । आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रका लागि कुल आठ अर्ब सात करोड खर्च हुने सरकारको अनुमान छ ।
गाउँपालिका अध्यक्ष रुचालले प्रदेश सरकारले मानसरोवरको प्रतीकसहितको वनस्पति उद्यान बनाउन बैजनाथलाई छनोट गरेकामा आभार व्यक्त गर्दै यो योजना कार्यान्वयनका लागि आवश्यक सबै सहयोग गर्ने बताए । समग्रमा बैजनाथ गाउँपालिका राम्रो सम्भावना बोकेको ठाउँका रुपमा स्थापित हुँदैछ । उक्त क्षेत्रमा बन्न लागेको अर्को योजना भनेको मानसरोवर पार्क हो ।
कैलाश मानसरोवर पार्क पनि औद्योगिक क्षेत्रजस्तै प्रदेशस्तरीय ठूलो परियोजनामध्ये एक हो । जसलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा प्रदेश सरकारले उच्च महत्व दिएको छ । बाँके राष्ट्रिय निकुञ्ज, गाभर होमस्टेमार्फत पर्यटन प्रवद्र्धनमा आफुलाई स्थापित गरिसकेको गाभर–चिसापानी क्षेत्रमा कैलाश मानसरोवार पार्क बन्नु उत्साहको कुरा भएको बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताए ।
बैजनाथ पालिकामा उद्योग, कलकारखाना मात्र नभई यहाँ पर्यटनको विकासको पनि प्रचुर सम्भावना छ । बैजनाथको गाभरमा लायन्स क्लवले भ्यू टावरसहितको पार्क बनाउँदैछ । पहाडको काखमा रहेको समथर भुभागले घेरिएको यो क्षेत्रमा ढिलै भए पनि विकास आउन थालेको स्थानीयले महसुस गरेका छन् । स्थानीय जनताको लागि यो आफैमा राम्रो सम्भावना भएको ठाउँ हो ।
दुई वटा लोकमार्गसँग जोडिएको यस क्षेत्रमा विभिन्न भाषाभाषी, जातजाति, धर्म सम्प्रदायको बसोबास छ । यहाँ नयाँ नयाँ प्रोजेक्ट सञ्चालनमा आउनु खुसीको कुरा हो । चिसापानीमा पश्चिम क्षेत्रकै एकमात्र एमबिबिएस पढाई हुने मेडिकल कलेज सञ्चालनमा छ । अध्यक्ष रुचालले ‘स्थानीय तह, प्रदेश र केन्द्र सरकारको नजरमा परेको बैजनाथ गाउँपालिकाले निकट समयमा आफ्नो भविष्य बदल्दैछ ।’
छिमेकी मित्रराष्ट्र चीनको तिब्बतमा युगौंयुगदेखि स्थापित कैलाश मानसरोवरको प्रतिकात्मक स्थल बाँकेको बैजनाथमा बन्न लागेको हो । हिन्दु र बुद्ध धर्मको धार्मिकस्थलका रुपमा परिचित कैलाश मानसरोवर तिब्बतमा पर्दछ । यसैको प्रतिकात्मकस्थल बैजनाथ गाउँपालिका–६ लालपुरस्थित न्यू हरियाली सामुदायीक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र निर्माण गरिँदैछ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दुई वर्षअघि यसको शिलान्यास गरिसकेका छन् । कैलाश मानसरोवर प्रतिकात्मक स्थलको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कैलाश मानसरोवर पार्कले बैजनाथ वा बाँकेमात्र नभई सिंगो नेपालकै पर्यटकीय क्षेत्रमा यसले ठूलो महत्व राख्ने बताएका थिए । यसको संरक्षण स्थानीय सरकारले गर्नुपर्ने उनको भनाई थियो ।
‘स्थानीयको प्रत्यक्ष सहभागिता भएमात्र बोटानिकल गार्डेनको योजनाले पूर्णता पाउँछ,’ मुख्यमन्त्री पोखरेलले भनेका थिए, ‘बोटविरूवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसका लागि भौतिक संरचनाका साथै आतिथ्य संस्कारमा समेत विशेष ध्यान दिनुहोस् ।’ प्रदेस सरकारले शिलान्याससँगै सुरुको तीन वर्षसम्म निर्माणका लागि ५ करोड बजेट विनियोजन गरेको थियो ।
जति खर्च लागे पनि कैलाश मानसरोवरको निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरेको छ । वर्षेनी नेपालगन्ज हुँदै भारतीय पर्यटकहरु मनसरोवर जाने गर्दछन् । ती पर्यटकहरुई एक दिन बाँकेमा रोक्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने बैजनाथ गाउँपालिका अध्यक्ष रुचालले बताए । मानसरोवर पुग्न मौसम सफा हुनुपर्छ ।
मौसम सफा नभए पर्यटकहरु नेपालगन्जबाट त्यसै फर्किनुपर्ने बाध्यता छ । मानसरोवर पुग्न नसकेका पर्यटकलाई प्रतिकात्मक स्थलसम्म पुर्याउने उद्देश्य भएको अध्यक्ष रुचाल बताउँछन् । पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको प्रतीकात्मकस्थल निर्माण कार्य कोभिडले गर्दा अवरुद्ध भए पनि रोकिएका कामहरु पुनः सुचारु भएको सुरु भएको वडा नंं ६ का अध्यक्ष भद्रबहादुर बस्नेतले बताए ।
कैलाश मानसरोबर पार्क बैजनाथ गाउँपालिका वडा नंं. ६ सम्झना अन्तरगत पर्दछ । हिन्दूहरुको पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकको लागि बैजनाथ गाउँपालिकाको कैलाश मानसरोवर उपयुक्त गन्तव्य हुनसक्छ । यसै महत्वलाई मध्यनजर गर्दै प्रदेश सरकारले बैजनाथको वडा नंं ६, लालपुरमा मानसरोवरको प्रतीकात्मकस्थल निर्माण प्रक्रिया सुरु गरेको हो ।
नेपालगन्जको बाटो हुँदै बर्सेनि हजारौँ पर्यटक तिब्बतमा पर्ने मानसरोवर कैलाशको भ्रमणमा जाने गर्छन् । तर धेरैले चाहना राख्दा राख्दै पनि जान सक्ने अवस्था छैन । बाँकेमै कैलाश मानसरोवरको प्रतीकात्मक स्थल निर्माण हुने भएपछि तिब्बतको मानसरोवर जान नसक्ने पर्यटकका लागि बैजनाथको मानसरोवर उत्तम विकल्प साबित हुनेछ ।
निर्माणाधिन पार्कले आन्तरिक तथा बाह्य धार्मिक पर्यटक प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने देखिन्छ । भौगोलिक विकटता र खर्च धेरै लाग्ने भएकाले अधिकांश मानसरोवर पुग्न नसक्ने पर्यटकलाई लक्षित गरेर करिब साढे सात हेक्टर अर्थात् एघार बिघा क्षेत्रफलमा यस्तो प्रतिमूर्तिसहित उद्यान निर्माण प्रक्रिया थालिएको वडाध्यक्ष बस्नेतले बताए ।
हिन्दू धर्मअनुसार भगवान् शिव र पार्वतीको बासस्थान क्षेत्र भएकाले हिन्दूहरुले यो स्थानलाई पवित्र तीर्थस्थलका रूपमा लिएको पाइन्छ । हिन्दू धर्मग्रन्थमा कैलाश मानसरोवरको चर्चा गरिएको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास छ । पछिल्लो समय नेपालगन्ज हुँदै पवित्र धार्मिकस्थल कैलाश मानसरोवर दर्शन गर्न जाने नेपाली तथा भारतीय पर्यटकको आकर्षण बढेको छ ।
खासगरी भारतीय पर्यटक मानसरोवर दर्शन गर्न जाने गरेका छन् । त्यहाँ जाने पर्यटकको मन बहलाउन तथा मानसरोबर जान नसक्नेलाई मानसरोवरको प्रतीकात्मक उद्यानस्थल एउटा वैकल्पिक गन्तव्य हुने भएको छ । प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकममध्येबाट वनस्पति उद्यानको योजना अगाडि बढिरहेको छ ।
प्रदेश सरकारबाट बिनियोजित रकम मध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष ०७६ र ७७ को वार्षिक बजेट कार्यक्रम अन्तरगत राज निर्माण सेवा नेपालगन्जसँग १ करोड ६ लाख ८ हजार २९१ रुपैयाँमा २०७६ पौष २४ गते सम्झौता भइ २०७७ असार २५ गते सम्म निर्माण सम्पन्न हुनेगरी निर्माण कम्पनीले पहिलो चरणको काम शुरु गरेको थियो ।
डिभिजन वन कार्यालय बाँकेले योजनाको लागि आवश्यक परे आर्थिकदेखि सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारले आफ्नो ठाउँलाई बोटानिकल पार्क बनाउनका लागि छनौट गरेकोले आफू प्रदेश सरकारप्रति कृतज्ञ भएको जनाएको छ । मानसरोवर र कैलास पर्वतको दुरुस्त प्रतिमूर्ति बनाएर खासगरी भारतीय पर्यटकलाई आकर्षण गर्ने उद्देश्य राखिएको प्रदेश सरकारको भनाइ छ ।
१ करोड ६ लाख ८ हजार २९१ रुपैयाँमा प्रदेश सरकारले निर्माण गर्न लागेको यो प्रतिकात्मक सरोवरलाई २०७७ असार २५ गते निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य लिइएको भए पनि कोरोना महामारीले गर्दा निर्धारित समयमा काम सम्पन्न हुन सकेन । उच्च हिमाली क्षेत्र भएकाले चाहेर पनि मानसरोवरको यात्रामा जान गाह्रो छ । मानसरोवर हिन्दू र बुद्ध धर्मका लागि धार्मिक महत्व भएको ताल मानिन्छ ।
यो ताल समुन्द्र सतहबाट करीब ६ हजार ६०० मिटरको उचाइमा अवस्थित छ । यस तालको पश्चिममा राक्षस ताल रहेको छ भने उत्तरमा कैलास पर्वत रहेको छ । पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भए पनि मानसरोवरको खास चिनारी धार्मिक तीर्थस्थलको हो । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ । कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ ।
त्यसो त तीर्थयात्रीहरु वर्षैभरि मानसरोवरको यात्रामा निस्किने गर्छन् । तर, त्यसमा पनि मानसरोवर जाने मुख्य सिजन जेठ–असार महिना हो । कोरोना महामारीका कारण तीर्थयात्रीहरु गत बर्षदेखि मानसरोवर जान पाएका छैनन् । तिब्बती भूभागमा पर्ने मानसरोवर चीनबाट सहजै पुग्न सकिन्छ । नेपाल भएर जान भने पछिल्लो समय हुम्लाको सिमीकोट एकमात्र प्रवेशद्वार रहेको छ ।
नेपालगन्जदेखि सिमीकोटसम्मको हवाई यात्रासँगै सुरु हुन्छ, मानसरोवर अर्थात् कैलाश यात्रा । सिमीकोटदेखि तीन दिनको पैदलयात्रापछि कैलाश पर्वतको धार्मिक स्थल पुगिन्छ । तर, अहिले सिमीकोटबाट नेपाल र चीनको हिल्सा नाकासम्म हेलिकोप्टरमा जान सकिन्छ । हिल्सा नाकादेखि कैलाशसम्म जिप तथा बसबाट जाने सुविधा छ । – समृद्ध बैजनाथ बुलेटिनबाट
।