सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । पहिरो खस्दा बझाङको जयपृथ्वी राजमार्ग पाँच दिनदेखि अवरुद्ध भएको छ ।

बझाङको सदरमुकाम चैनपुर देखी बाहिरी जिल्ला संग जोडिएको राजमार्ग देवल, सुवेडा र तमैलमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन ।

बझाङबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडौँ जाने र बाहिर जिल्लाबाट बझाङको सदरमुकाम चैनपुर भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन ।

पाँच दिन देखी अवरुद्ध रहेको उक्त राजमार्ग डोजर लगाएर खुलाउने प्रयास भए पनि निरन्तर पानि परिरहेकाले सफा गर्दै गएको बेला फेरि पहिरो गएर अवरुद्ध बन्ने गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डियसपी रुपक खड्काले जानकारी दिनुभयो ।

लगातारको वर्षाले सडक पुन : सञ्चालनमा भने समस्या भइरहेको जनाइएको छ ।

उक्त स्थानमा यसअघि पनि बेलाबेला खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ ।

हिजो र अस्ति केहि समय एकतर्फि आवत जावत गर्नको लागि बाटो खोलिएको भएपनि निरन्तरको पानीले फेरी बाटो अवरुद्ध भएको हो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतवार ०७:४६