सूचनाको शक्ति - The Power Of Information

        

पहिरोमा पुरिएर एक महिलाको ज्यान गयो, मलामीबाट फर्कने क्रममा भिरबाट लडेर एक जना बेपत्ता

बझाङ ।  बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । रजाडामा धारामा पानि भर्दै गर्दा शुक्रबार जमिन भासिएर पहिरो जाँदा पहिरोमा पुरिएर स्थानीयवासी ६० वर्षीया सुना दमाईको ज्यान गएको हो ।

पानि भर्न गएकी दमाईको पहिरामा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताउनुभयो । उहाँले भन्नुभयोे, “धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसे पछी पहिरोमा पुरिएर घटनास्थलमै दमाईको ज्यान गएको हो ।

प्रहरीचौकी मेलविसौनाबाट घटनास्थलमा प्रहरीको टोली पठाएर दमाईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारीरहे पनि पानिका कारण शुक्रबार ल्याउन नसकिएकाले शनिबार विहान ल्याउने तयारी रहेको समेत खड्काले बताउनुभयो ।”

मलामीबाट फर्कने क्रममा भिरबाट लडेर एक जना बेपत्ता
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकाका एक जना पुरुष भिरबाट लडेर बेपत्ता भएका छन । दुर्गाथली गाउपालिका वडा नम्बर ३ का ४० बर्षका मीन बहादुर धामी धउलावन भिर बाट लडेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

आसाढ ३ गते बेलुका ६ बजे जेठाबुबा राम बहादुर धामीको मलामीबाट घर फर्कीने क्रममा भिरबाट लडेको र अहिले सम्म भेटाउन नसकीएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

खोजी कार्य जारी रहेको भएपनि भिर ठुलो र अफ्ठ्यारो भएकोले खोजी गर्न समस्या भएरहेको प्रहरीले जनाएको छ । यसैबीच निरन्तरको पानीले समेत खोजी कार्यमा समस्या आएको बझाङका प्रहरी प्रमूख डिएसपी रुपक खड्काले बताउनुभयो ।

हाल नेपाल आर्मी र नेपाल प्रहरीको टोलिले खोजि कार्य गरिरहेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतवार ०७:३५