सूचनाको शक्ति - The Power Of Information

        

समाचार

राप्तीसोनारी–७ मा बालमैत्री अभ्यासले किशोरीहरुलाई प्रेरणा

बाँके । राप्तीसोनारी राप्तीसोनारी वडा नं. ७ मा आज शनिबार ‘वडापालिकामा बालमैत्री अभ्यास र सञ्चार पैरवी’ सम्बन्धी एक दिने कार्यक्रम आज सम्पन्न भएको छ । वडा नं. ७ को आयोजना तथा जोहन मिडिया एण्ड रिसर्च सेन्टरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमूख अतिथि एवं वडा नं. ७ का वडाध्यक्ष रामलखन थारुले बालविवाह, बालश्रम, बालहिंसा, यौन दुर्व्यवहार न्यूनीकरण लगायतका विषयमा किशोरीहरु चनाखो हुनुपर्ने बताए । वडाध्यक्ष थारुले बालमैत्री वडापालिका निर्माण गर्न तथा बालमैत्री वातावरण सिर्जनाका लागि बालमैत्री अभ्यास थालेको बताए ।

उनले किशारीहरुको नेतृत्व विकास गर्ने र सामाजिक उद्यमशिलता सृजना गर्ने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको बताए । उनले स्थानीय किशोरीहरुका माध्यमबाट समुदायमा सचेतनामूलक कार्यक्रम गर्ने, बालबिवाह, बालश्रम, बालहिंसा, यौन दुर्व्यवहार जस्ता सामाजिक विकृति र विसंगतिलाई न्यूनीकरणमा थप बल पुग्ने बताए ।

उनले यस्ता विषयहरुलाई सञ्चार माध्यमसम्म पुर्याएर समाजलाई बालश्रम, बालहिंसा, यौन दुर्व्यवहार र बालविवाह मुक्त वडा बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको पनि बताए । वडामा क्लव गठन भएपछि नेतृत्व र व्यक्तित्व विकासका साथै सामाजीक उत्तरदायित्व निर्वाह गर्न किशोरीहरुलाई प्रेरणा मिलेको पनि उनले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य सूर्यप्रकाश घर्तीले किशोर किशोरीको क्षमता विकासले समाजमा सकारात्मक भूमिका निर्वाह गर्ने बताए । विभिन्न गाउँमा समस्याका रुपमा रहेको बालविवाह न्यूनीकरणमा पछिल्लो समय बालमैत्री स्थानीय शासन कार्यक्रम प्रभावकारी हुँदै गएकोले यस्ता कार्यक्रमको थप आवश्यकता रहेको औल्याए ।

शिक्षा र चेतनाको कमीका कारण उमेर नपुग्दै सानै उमेरमा विवाह गर्ने प्रचलनलाई तोड्न स्थानीय स्तरमा बालमैत्री कार्यक्रम निकै प्रभावकारी हुने र त्यसले बाल विवाहजस्ता सामाजिक विकृतिलाई न्यूनीकरण गर्दै लैजाने पनि बताए । साथै यस्ता कार्यक्रमले जन्मदर्ता गर्ने क्रम बढेको र घरेलु हिंसामा पनि न्यूनीकरण हुँदै गएको देखिएको पनि उनले बताए ।

वडा सदस्यद्वय जीतबहादुर थारु, इलाही गद्दीले वडास्तरमा हुने बालमैत्री कार्यक्रमले किशोरकिशोरीहरुको काम, कर्तव्य र अधिकारका बारेमा उनीहरुमा जनचेतना तथा सक्रियता बढ्नुका साथै सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रमले सानो उमेरमा बिहे गर्नेको सङ्ख्यामा कमी आउने विश्वास व्यक्त गरे ।

जोहन मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षमा भएको कार्यक्रममा बालअधिकारकर्मी सोम गुरुङ्ग, पत्रकार सुर्यलाल यादव, काशीराम शर्मा, भिष्म लोध लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा वडास्तरमा गठीत किशोरी क्लवका दुई दर्जन किशोरीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १९:५२