सूचनाको शक्ति - The Power Of Information

        

महाकाली नदीमा पानीको सतह बढ्दै, सर्तक रहन आग्रह

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्न थालेको छ ।

महाकाली नदीको शारदा ब्यारेजमा शुक्रबार राति एक लाख क्युसेकको हारहारीमा रहेको पानीको सतह बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षिक (डीएसपी) अमरबहादुर थापाले पहाडी जिल्लामा भइरहेको वर्षाका कारण महाकालीमा पानीको सतह बढ्दै गइरहेको बताए ।

उनले शुक्रबार राति एक लाख क्युसेक मापन गरेको पानीको सहत बढेर अहिले एक लाख ७५ हजार क्युसेक पुगेको बताए । ‘शुक्रबार राति एक लाख मापन गरिएको पानीको सतह बिहान ८ बजेतिर एक लाख ६५ हजार क्युसके थियो,’ थापाले  भने, ‘दिउँसो मापन गर्दा बढेर एक लाख ७५ हजार क्युसेक पुगेकाले सतह बढ्दै गएको देखिन्छ ।’

नदीमा पानीको सतह वृद्धि हुँदै गएपछि निर्माणाधीन महाकाली पुलमा लगाइएको माटोको ड्याम पनि काट्न थालेको छ भने नदी क्षेत्रका बासिन्दालाई सुरक्षित साथ बस्न आग्रह गरिएको छ ।

प्रहरी नायब उपरीक्षक थापाले सम्भावित खतरालाई ध्यानमा राखेर मातहतका प्रहरीलाई हाइअलर्टमा बस्न निर्देशन दिदै सोहीअनुसारको पूर्वतयारी गरिएको जानकारी दिए ।

नदी क्षेत्रमा गस्तीका लागिसमेत छुट्टै प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १३:४३