सूचनाको शक्ति - The Power Of Information

        

मेलम्ची बाढीले प्रहरी चौकी र विद्यालय बगायो

सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले विद्यालय, प्रहरी चौकी र वडा कार्यालय बगाएको छ । शुक्रबार राति आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुलाई ढालेको छ ।

हेलम्बु २ मा रहेको चौकी बाढीले क्षति पुर्याउन थालेपछि कार्यालय यसअघि नै सारिएको थियो । अहिले इलाका प्रहरी कार्यालय किउलस्थित एउटा भाडाको घरबाट सञ्चालनमा रहेको छ ।

यस्तै हेलम्बु ४ मा रहेको इस्ट पोइन्ट बोर्डिङ पनि बाढीले बगाएको छ । १० कक्षासम्म पढाइ हुने उक्त बोर्डिङ गएरातिको बाढीले बगाएको हो ।

यस्तै मेलम्ची नगरपालिका ६ तालमाराङमा रहेको तेस्रे माविमा पनि नदीले कटान सुरु गरेको छ । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयको एउटा भवन नदीले बगाएको हो ।

यस्त बाढीले हेलम्बु २ को वडा कार्यालय भवनपनि बगाएको छ । चनौटेमा रहेको रातो पुल जोखिममा रहेको छ । हेलम्बुको माथिल्लो क्षेत्रमा ठुलो पानी परेपछि तटीय क्षेत्रमा नदीले कटान सुरु गरेको हो ।

मंगलबार राति नाकुने माथि पहिरो खसेर मेलम्ची खोला थुनिएर खुलेपछि तलका बस्तीमा क्षति पुगेको हो । हालसम्म २० जना बेपत्ता छन् भने तीन जनाको शव फेला परेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १३:४१