सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

बैजनाथमा सडक सञ्जाल, समग्र विकासको आधार

सडक सञ्जालको व्यापकताले दूरी छोट्याउने मात्र नभई गाँउको उत्पादनलाई शहरसम्म पुर्याउँछ, थातथालो छोड्नेको संख्यामा कमी आउँछ । सडक सञ्जालले नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता दिलाएको छ ।

बाँके । सडक यातायातलाई पूर्वाधारहरूको पनि पूर्वाधार भन्ने गरिन्छ । शहर होस् या गाउँ, गुणस्तरीय सडकको विकासबिना त्यहाँ अन्य पूर्वाधारहरूको विकास मूलतः सम्भव छैन । सडकले पहुँचमा सहजता त ल्याउँछ नै, आर्थिक विकास भई जनताको जीवनस्तरमा उल्लेखनीय परिवर्तन पनि ल्याउँछ । सडक यातायातको विकास र बिस्तारलाई कुनै पनि क्षेत्रको समग्र विकासको आधार मानिन्छ ।

यसैकारण समग्र सडक विस्तारमा गरिएको लगानीलाई सकारात्मक रुपमा लिनुपर्छ । यसले देसको लागि सकारात्मक प्रतिफल दिनेमा कुनै सन्देह छैन । बरु बनेका सडकहरुको गुणस्तरलाई समेत सरकारले यथोचित ध्यान दिनु आवश्यक हुन्छ । स्थानीय तहको समष्टिगत रुपमा अर्थतन्त्र जोड्ने माध्यम मात्र नभएर सामाजिक, राजनीतिक तथा भौगोलिक रुपमा एकताको सूत्रमा बाँध्ने एउटा प्रमुख माध्यम पनि सडक यातायात सेवा हो ।

राष्ट्रिय एकता र सार्वभौमसत्ताको चूरोमा सवल तथा सहज यातायात सञ्जाल रहेको हुन्छ । यसरी समृद्धि र विकासको मेरुदण्ड मानिएको सडक निर्माणको कार्य बैजनाथ गाउँपालिकामा पनि तीब्र गतिले भइरहेको छ । यस गाउँपालिकाभित्र रहेका सडक सञ्जालको अवस्था हेर्दा कूल १७४ दशमलव ६ किलोमिटर सडक रहेको देखिन्छ । जसमध्ये ६ वटा कालोपत्रे सडकको लम्बाई जम्मा ३३.७ किलोमिटर छ ।

सडकको अधिकतम खण्ड ग्राभेल गरिएको छ । यस गाउँपालिका क्षेत्रभित्रका वडा नं. १, २ र ३ मा बढीजसो पैदल मार्ग रहेको छ । सबै पैदल मार्गहरुको कूल लम्बाई ९.८ किमि रहेको छ । गाउँपालिका भित्रका अधिकतम सडक सञ्जालका कारण सार्वजनिक यातायातमा सबैजसो वस्तीसँग पहुँच छ । सवारी साधनहरुमा मुख्यतयाः साना ठूला बस, जीप, अटो ट्रयाक्टर आदि सडकमा सञ्चालन हुने गरेका छन् ।

गाउँपालिका क्षेत्रभित्रका वडा नं.६ मा लक्ष्मी समूह सामुदायिक भवन, खसी संकलन सामुदायिक भवन, सम्झना सामुदायिक भवन गरी ३ वटा सामुदायिक भवनहरु विभिन्न सामाजिक प्रयोजनका लागि प्रयोग भइरहेका छन् । जसबाट करिब २९ सय घरधुरी लाभान्वित भएको देखिन्छ । बैजनाथ गाउँपालिकामा पनि संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा २३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । १२ किलोमिटर जति सडक ग्राभेल भएको छ ।

गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बाकी कार्यकालमा पनि सडक सञ्जाल निर्माणमा विशेष जोड दिइने बताउँछन् । बाँके जिल्लाको हकमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि आठ वटा स्थानीय तहले झन्डै १० अर्ब (९ अर्ब ६८ करोड ८२ लाख ५० हजार) रुपैयाँ बराबरको सडक निर्माण गरेका छन् । जिल्लाभरिको कालोपत्रे, पीसीसी, ग्राभेल लगायतको सडकको लम्बाइ ५४९.८०० किलोमिटर अर्थात् ५५० किलोमिटर बनेको छ ।

नेपालगन्ज–काठमाडौंको दूरी ५२१.७ किलोमिटर छ । लम्बाईको हिसाबले संघीय राजधानी काठमाडौं पुगेभन्दा पनि यो बढी हो । जिल्लामा कालोपत्रे सडक १९७ किलोमिटर बनेको छ । ६ मिटरभन्दा बढी चौडाइ भएको एक किलोमिटर कालोपत्रे सडक निर्माण गर्न औसत चार करोड रुपैयाँ लाग्छ । यो तथ्यांकलाई मात्र आधार बनाउँदा पनि कालोपत्रे सडकका लागि ७ अर्ब ८९ करोड ९२ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।

त्यसैगरी, ३०५ किलोमिटर ग्राभेल तथा कच्ची बाटो निर्माण भएको छ । ६ देखि ७ मिटरको सडकमा माटो फिलिङसहित ग्राभेल गर्दा कम्तीमा पनि ५० लाख रुपैयाँ लाग्छ । यो आधारमा १ अर्ब ५२ करोड ५० लाख रुपैयाँको ग्राभेल सडक बनेको छ । जिल्लामा सबैभन्दा कम पीसीसी सडक ५७ किलोमिटर बनेको छ । ४ देखि ६ मिटर चौडाइको पीसीसी सडक प्रतिकिलोमिटर ५० देखि ६० लाख रुपैयाँ लाग्छ । अर्थात् औसत ५५ लाख रुपैयाँ प्रतिकिलोमिटरको आधारमा मात्र मूल्यांकन गर्दा पनि ३१ करोड ६२ लाख ५० हजार रुपैयाँको पीसीसी सडक बनेका छन् ।

जिल्लाका स्थानीय तहमा भएको विकास हेर्दा ‘विकास भनेको सडक’ जस्तो लाग्नु स्वभाविक हो । जनप्रतिनिधिका लागि देखाउने विकास र स्थानीयको माग गर्ने विकासको मूल आधार सडक हुँदा यहाँको सडक निर्माणले छलाङ नै मारेको भन्न सकिन्छ । बैजनाथ गाउँपालिकामा सडक निर्माणको अवस्था निराशाजनक छैन । यसबीच अन्य एजेण्डासँगै विकास निर्माणले पनि गति लिएको देख्न सकिन्छ । पालिकाको वडा नं. १ मा पितमारीदेखि सुनगाभासम्म च्याँमा सैनिकको ७ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

मकैबारी डिगियामा ६ किलोमिटर सडक ग्राभेल गरिएको छ । जनता विद्यालयदेखि कुरो डाँडासम्म चार किलोमिटर कच्ची सडक बनाइएको छ । गुनापुर राजीपुर अन्तर्गत ५ किलोमिटर कच्ची सडक र माथिल्लो पितमारीसम्म दुई किमि सडक बनेको छ । त्यस्तै, वडा नंं २ मा मकैबारीदेखि सशस्त्र गणसम्म २ किलोमिटर कच्ची बाटो, डिगिया त्रिवेणीचोकमा एक किलोमिटर कच्ची बाटो, पहाडीपुर माथिल्लो पितमारीमा ५ किलोमिटर कच्ची बाटो, राजीपुर डिगियामा २ किलोमिटर कच्ची बाटो, गुनापुर दक्षिण लधौरामा डेढ किलोमिटर कच्ची बाटो बनाइएको छ ।

वडा नं. ३ अन्तर्गत सुतैया बनकटवा जाने ६ किलोमिटर लम्बाईको सडकमा कालोपत्रे गरिएको छ । रत्न लोकमार्गमा पर्ने गाभर र सुतैयाको ३ किलोमिटर सडकमा पनि कालोपत्रे भएको छ । गाभर बैरहवामा तीन किलोमिटर सडक ग्राभेल, नौबस्ता दाङपुरुवाको २ किलोमिटर सडकमा ग्राभेल, नौबस्ता डिगियाको ३ किलोमिटर सडकमा ग्राभेल, पुलचोकदेखि पितमारीसम्मको ४ किलोमिटर सडकमा ग्राभेल, सुन्दर टोलदेखि सुतैया थारु गाउँसम्म २ किलोमिटर कच्ची बाटो र नौबस्ता मदनियाको ३ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ ।

यसैगरी, वडा नं. ६ अन्तर्गत न्यू हरियालीदेखि एच गाउँसम्म च्याँमा खजुरामा ६ किलोमिटर सडक कालोपत्रे भएपछि करिब अढाई हजार जनसंख्या लाभान्वित भएको बैजनाथ गाउँपालिका इन्जिनिएर धर्मेन्द्र आचार्यले जानकारी दिए । पश्चिमी तराई क्षेत्रमा पर्ने बैजनाथ गाउँपालिकाको सम्पूर्ण भू–भाग समथर रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भू–भागमा चूरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरु समथर रहेको छ । यहाँको माटो बलौटे र चिम्ट्याइलो मिश्रित प्रकृतिको छ ।

प्रशस्त मात्रामा अन्नबाली उत्पादन हुने यहाँको समथर भूभाग खेतिपातीको लागि अधिकतम सम्भावना बोकेका क्षेत्र हुन् । मानखोलाका तटीय क्षेत्रहरु वर्षेनी वर्षात्का कारणले कटान प्रभावित क्षेत्रहरु हुन् । जसका कारण उक्त क्षेत्रका उब्जनशील समथर भूभागहरु कटान भई बगरको रुपमा परिणत हुने गरेको छ । गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढि क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको वन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ । जसअनुसार खेती गरिएको भूमि ६८.९० प्रतिशत, जंगल २४.१४ प्रतिशत र बुट्यान झाडीले ओगटेको क्षेत्र ६.४१ प्रतिशत क्षेत्रमा रहेको छ ।

समुन्द्री सतहदेखि करिब ३०० मिटर उचाईमा अवस्थित यस गाउँपालिकाको पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ । पूर्व पश्चिम राजमार्गको ६ किलोमिटर खण्ड रहेको यस गाउँपालिका जिल्लाको व्यापारिक तथा रणनीतिक केन्द्रको रुपमा रहेको कोहलपुर बजारबाट करिब ६ किलोमिटर, जिल्ला सदरमुकाम नेपालगन्जबाट २२ किलोमिटर र जमुनहा भन्सारदेखि २८ किलोमिटरको दूरीमा रहेको छ ।

सडक निर्माण भनेको रोजगारीसँग सम्बन्धित बिषय पनि हो । जहाँ सडक पूर्वाधार निर्माण हुन्छ, त्यहाँ स्थानीयले रोजगारी पनि पाउने गर्दछन् । यसरी बैजनाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारले सडक निर्माण र खानेपानी लाईन बिस्तार गर्ने रोजगारी पनि पाएका छन् । गाँउपालिकाका आठ वटा वडाका करिब २०० जना बेरोजगारले पहिलो चरणमा एक महिने रोजगारीका लागि वडामा बाटो मर्मत तथा खानेपानीको लाइन बिस्तार गर्ने रोजगारी पाए ।

गाउँपालिका अध्यक्ष रुचालका अनुसार गाउँपालिका भरीका सबै बेरोजगारलाई विकास निर्माणको कार्यमा संलग्न गराएर रोजगारी प्रदान गरिने लक्ष्य राखिएको छ । परिवारको आर्थिक अवस्था र रोजगारी नै नभएको परिवार र महिलालाई मुख्य प्राथमिकता दिइएको छ । गाउँपालिकामा महिला बेरोजगारको संख्या बढी रहेको र पुरुषभन्दा महिला सक्रिय रुपमा काम गर्ने भएकोले प्रत्येक वडामा महिलालाई बढि सहभागी गराइएको छ । सधैं चुलोचौकोमा सीमित रहने महिलाहरु पालिकाले रोजगारी प्रदान गरेपछि उत्साहित देखिएका छन् ।

गाउँपालिका अध्यक्ष रुचालका अनुसार सडक, बिजुली र सिँचाइजस्ता पूर्वाधारमार्फत् स्थानीय तहले विकासलाई तीव्र गति दिन चाहेको छ । एकपछि अर्को यस्तै दूरगामी महत्वका योजना, सोँच, निर्णय र त्यसको कार्यान्वयनले स्थानीय तहमा विकास र आर्थिक क्रान्तिको जग बस्दै जानेछ । यसका लागि खासगरी स्थानीय जनप्रतिनिधि र कर्मचारी प्रशासनबीचको समन्वय र इमानदारीले यस्ता गतिविधिलाई थप सशक्त बनाउनेछ । किनकि, संघीय सरकारले स्रोत विनियोजन र नीतिगत तहको दायित्व निर्वाह गर्ने भएकाले कार्यान्वयनको सफलतामा स्थानीय तह र नेतृत्व बढी सक्रिय र सुझबुझपूर्ण भएर लक्ष्य हासिल गर्दै स्थानीय तहमा समृद्धि र विकास ल्याउने अभियानमा सहभागी हुनु आवश्यक छ ।

आधुनिक समाज निर्माणका लागि सडक तथा यातायातको महत्वपूर्ण भूमिका रहेको हुन्छ । चौडा र दिगो सडक सञ्जाल, वैज्ञानिक यातायात व्यवस्थापन नै विकासका लागि आधारभूत सर्त मानिन्छन् । सडक तथा यातायातको उचित व्यवस्थापन जनताको चौतर्फी विकासको प्रमुख आधार हो । शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक क्षेत्र तथा अन्य थुप्रै आधारभूत संरचनामाथि सहज र सवल पहुँचका लागि यातायातको विकास अपरिहार्य छ । भौगोलिक जटिलता हिमाल, पहाड र तराई एकै ठाउँमा भएको देशमा त झन् सडक तथा यातायात हाम्रा लागि मुटु नै हुन् ।

यातायात तथा सडक निर्माणबिना अरू पूर्वाधारको विकास सम्भव नहुने भएकाले नै सडकलाई समृद्धि आधार भन्ने गरिन्छ । जस्तै एउटा जलविद्युत् आयोजनाका लागि निर्माण भइरहेको ठाउँसम्म औजार र उपकरण पुर्याउन सडकको आवश्यकता पर्छ । व्यापार आयात निर्यातका लागि सडक कै आवश्यकता पर्दछ । यसले पहुँचमा सहजता, आर्थिक विकास गर्न मद्दत पुर्याउनुका साथै जनताको जीवनस्तरमा पनि उल्लेखनीय परिवर्तन ल्याउँछ । सडकको पहुँच नभएका कारण दुर्गममा स्याउ रुखमै कुहिएर खेर गएको समाचार, कृषि उपकरणहरू, बीउ, मल आदि उचित स्थानमा पुग्न नसक्दा किसानले खेप्नुपरेको आर्थिक संकट अनि स–साना बालबालिका स्कूलसम्म पुग्न नसक्दाको पीडा छर्लङ छ ।

सडक सञ्जालको व्यापकताले दूरी छोट्याउने मात्र नभई गाँउको उत्पादनलाई शहरसम्म पु¥याउँछ, थातथालो छोड्नेको संख्यामा कमि आउँछ । सडक सञ्जालले नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता दिलाएको छ । त्यसैले सडकलाई मुख्य प्राथामिकता राखेर राज्य अघि बढ्नु आजको आवश्यकता हो । यसका लागि राज्यले हेभिइक्युमेन्टको आयातमा कर छुटको व्यवस्था, सहुलियतपूर्ण ऋण तथा हेभिइक्युमेन्ट अपरेटरको निःशुल्क तालिमको व्यवस्था, दक्ष जनशक्ति उत्पादन, सरोकारवाला निकायहरुबीच चुस्त समन्वय र प्रशासनिक लहराहरु छिमलछामल गर्नै पर्ने हुन्छ । हरेक निर्वाचित प्रतिनिधिको पहिलो प्राथमिकता सडक यातायातको विकास नै हो । यो क्षेत्रको विकास जति हुनुपर्ने हो, त्यो हुन नसके पनि वर्तमानको विकास गति हेर्दा निराश हुनुपर्ने आवश्यकता छैन । समृद्ध बैजनाथ बुलेटिनबाट

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ०६:३३