सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

खेलकुदको विकासमा लम्किँदै राप्तीसोनारी

पछिल्लो समयमा गाउँपालिकाभित्रका युवाहरुको क्रिकेट खेलप्रति मोह बढ्दै गएको छ ।

बाँके । राप्तीसोनारी गाउँपालिका प्रकृतिसँगै हरेक दृष्टिकोणले उत्तिकै सुन्दर गाउँपालिका हो । यस क्षेत्रको भौगोलिक वातावरणसँगै कला, संस्कृति तथा खेलकुदले गाउँपालिकाको गरिमालाई उच्च बनाएको छ । खेलकुद जगतमा राष्ट्रियस्तरका प्रतिभाहरु जन्माउन सफल राप्तीसोनारीले खेलकुदको विकास र प्रर्वद्धनका लागि वर्षेनि लाखौंको बजेट विनियोजन गर्दै आइरहेको छ ।

खेलकुद क्षेत्रलाई महत्वका साथ हेरेको पालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, गाउँपालिका अध्यक्ष कप तथा वडास्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले युवा तथा खेलकुदका क्षेत्रमा चालु आर्थिक वर्षमा करिब ११ लाख रुपैयाँ विनियोजन गरेको छ । सो रकमबाट गाउँपालिकाभित्रका विद्यालय तथा युवा क्लबहरुमा खेलकुद सम्बन्धी विविध गतिविधिहरु सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्तीसोनारी गाउँपालिका खेलकुदको लागि उपयुक्त स्थान भएको बताउँदै खेलकुदको विकासका लागि गाउँपालिकाले खेलकुद सम्बन्धी गतिविधि सञ्चालनमा आवश्यक पर्ने बजेट विनियोजन गरेर गतिविधि सञ्चालन गर्दै आएको बताए । राप्तीसोनारीबाट खेलाडीहरु राष्ट्रियस्तरसम्म पुग्न सफल भएका छन् ।

राष्ट्रिय भलिबल खेलाडी तथा एथ्लेक्टिस प्रशिक्षक प्रतापराज चौधरी, राष्ट्रिय भलिबल खेलाडी छविलाल वली तथा एथ्लेक्टिसतर्फ ज्याभलिन थ्रोमा राष्ट्रिय खेलाडी सिमा चौधरी पछिल्लो समयमा राप्तीसोनारी गाउँपालिकाबाट राष्ट्रियस्तरमा पुग्न सफल खेल जगतका हस्ती हुन् । राप्तीसोनारीबाट यसअघि धेरै खेलाडीहरुले राष्ट्रियस्तरका खेल खेलिसकेका छन् ।

राप्तीसोनारीबाट राष्ट्रियस्तरमा पुगेका एथ्लेटिक्स प्रशिक्षक प्रतापराज चौधरीले राप्तीसोनारी गाउँपालिकाभित्र राम्रो सम्भावना बोकेका खेलाडीहरु रहेको बताउँदै गाउँपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुगेको बताउँछन् ।

‘हामीले चाहेजस्तो नभए पनि गाउँपालिकाले खेलकुदका क्षेत्रमा सन्तोषजनक काम गरिरहेको छ । खेलाडीहरुलाई आवश्यक पर्ने सबै किसिमको सहयोग प्राप्त भएको छ । अझ यसलाई थप प्रभावकारी बनाउन आवश्यक छ,’ एथ्लेक्टिस प्रशिक्षक चौधरीले भने । राप्तीसोनारी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपानेले विद्यालयहरुमा हरेक वर्ष आयोजना गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन भैरहेको बताउँदै राप्तीसोनारीमा खेलकुद सम्भावना राम्रो रहेको बताए ।

यस क्षेत्रमा सञ्चालन गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरबाटै राष्ट्रियस्तरसम्म खेल्ने खेलाडी उत्पादन भइरहेका छन् । ‘हामीले सम्भावना बोकेका खेलाडीहरुलाई प्राथामिकता दिइरहेका छौं,’ शाखा प्रमुख न्यौपानेले भने । गाउँपालिकाभित्र रहेका सबै विद्यालयहरुमा राम्रो खेल मैदानहरु रहेका कारण विद्यार्थीहरुलाई खेलकुदको अभ्यासमा समेत सहयोग पुगेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि करिब ४ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको छ ।

खेलकुदको विकासका लागि गाउँपालिकाभित्रका थुप्रै युवासमेत सक्रिय छन् । हरेक वडामा रहेका युवा क्लबहरुले समेत बेलाबेलमा विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दैै आएका छन् । विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिने सामुदायिक वन स्तरिय खेलकुद प्रतियोगिता, खुल्ला प्रतियोगिताले गाउँपालिकाभित्र खेल जगतको विकासमा टेवा पुगेको छ । राप्तीसोनारीमा विशेषगरी भलिबल तथा फुटवलमा युवाहरुको आकर्षण बढेको पाइएको छ । गाउँपालिकाको वडा १ नं वडा देखि वडा नं ९ सम्मका युवा क्लबहरु भलिबल खेलमा पहिचान बनाएका छन् ।

पछिल्लो समयमा गाउँपालिकाभित्रका युवाहरुको क्रिकेट खेलप्रति मोह बढ्दै गएको छ । सबै प्रकारका खेलहरुका लागी आवश्यक पर्ने खेल मैदानहरु प्रशस्त मात्रामा हुनुका साथै खेल प्रशिक्षणका लागि उपयुक्त वातावरणका कारण पनि राप्तीसोनारी गाउँपालिका क्षेत्र खेलकुदको प्रशस्त सम्भावान बोकेको क्षेत्र हो । समाज सुधार मध्यवर्ती युवा क्लब राप्तीसोनारी ८ का अध्यक्ष नारायण खनालले राप्तीसोनारीमा खेलकुदको सम्भावना निकै राम्रो भएको तर यसलाई प्रवद्र्धन गर्न सम्बन्धित वडा कार्यालयको जिम्मेवारी हुने बताए ।

‘हामीले मात्रै सुरु गरेर केही हुँदैन खेदकुदको विकासका लागि वडाले पनि आवश्यक बजेट विनियोजन गरेर युवा क्लबहरुमार्फत खेलकुदहरु सञ्चालन गर्नुपर्छ,’ खनालले भने । सामुदायिक वन महासंघ नेपाल राप्तीसोनारीका अध्यक्ष कृष्ण केसीले राप्तीसोनारीमा खेलकुदको सम्भावना प्रबल भए पनि खेलकुद क्षेत्रका गतिविधि सन्तोषजनक नभएकोले गाउँपालिकाले चासो दिनुपर्ने बताए । राप्तीसोनारी गाउँपालिकाभित्र रहेका युवाहरुलाई आवश्यक खेलकुद सामाग्री तथा तालिमको व्यवस्था गर्नुपर्ने बताए ।

खेलकुद क्षेत्रको विकासका लागि राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्षमा योजना बनाएर खेलकुदको विकास र प्रवद्र्धनमा अघि बढ्ने लागि गाउँपालिकाले जनाएको छ । अझ राप्तीसोनारी गाउँपालिकालाई खेल पर्यटनको एउटा आकर्षक ‘प्रोडक्ट’का रूपमा स्थापित गर्न सक्ने सम्भावना देखिन्छ । स्थानीय सरकारले एकीकृतरूपमा गर्न सके खेल पर्यटनको ठूलो सम्भावना रहेको खेलप्रेमीहरुको भनाई छ ।

‘स्थानीय तहको पर्यटन उद्योग उकास्न हामीले यस्ता सयौं प्रोडक्टहरू स्थापना गर्न सक्नुपर्छ । त्यसका लागि सरकारले एकीकृत योजना ल्याउनुपर्छ र निजी क्षेत्रबाट भएका प्रयासमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । त्यो दिशामा स्थानीय सरकार प्रतिवद्ध हुनुपर्छ,’ राप्तीसोनारी–८, का जीवन बस्नेतले भने, ‘राप्तीसोनारी खेलकूदका लागि उर्वर भूमि हो । ‘खेलको विकास र प्रवद्र्धन निजी क्षेत्रको प्रयास मात्रै पर्याप्त हुँदैन । स्थानीय, प्रदेश र संघीय सरकारकै गम्भीर चासोले मात्र खेल पर्यटनका सम्भावनाहरु वास्तविकतामा परिणत हुन सक्छन् ।’

राप्तीसोनारीमा खेल पर्यटन विकासका धेरै सम्भावना रहेको पनि बस्नेतले बताए । राप्तीसोनारीको विविधतायुक्त प्राकृतिक वातावरण रहेकाले यस गाउँपालिकाभित्र विभिन्न खेल खेलाउने सम्भावना रहेको पनि उनको भनाई छ । उनले भने, ‘खेल पूर्वाधार विकास गरी यस गाउँपालिकालाई खेल पर्यटनको विशिष्ट स्थलका रुपमा विकास गर्न सकिने सम्भावनाहरु छन् । खेलकूद पूर्वाधार विकासका दृष्टिले राप्तीसोनारी गाउँपालिका धेरै पछि परेको छ, आगामी दिनमा आवश्यक पूर्वाधारको विकास गर्दै अघि बढ्नु अपरिहार्य छ ।

खेल पूर्वाधार विकासका माध्यमबाट आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्नुपर्ने बस्नेतले बताए । उनले त्यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको पनि बताए । राप्तीसोनारीले खेलकुदको विकासका लागि नीतिगत योजना नै बनाएर अघि बढ्नुपर्ने खेलप्रमीहरुको भनाई छ । एथ्लेक्टिस प्रशिक्षक चौधरीले गुनासो गर्दै भने, ‘नीतिगत योजना र स्पष्ट मार्गचित्रसहित बनाएर स्थानीय सरकार अघि बढ्न सकेको छैन ।’ उनले खेल पर्यटनको पनि सम्भावनायुक्त स्थल भएकोले राप्तीसोनारीको स्थानीय सरकारको सक्रियता जरुरी भएको बताए । ‘पूर्वाधार विकास गर्ने विषय स्थानीय सरकारको उच्च प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने ।

यहाँ धेरै पर्यटकीयस्थल रहेकाले खेलकूदसँग सम्बन्धित एवं अन्य व्यक्तिलाई आकर्षित गर्ने स्थलका रुपमा समेत राप्तीसोनारी गाउँपालिकालाई विकास गर्न सकिन्छ । खेलकुदको आकर्षक गन्तव्य बनाउन सबैको एकतावद्ध प्रयास पनि आवश्यक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गाउँपालिकाका तर्फबाट खेलाडीलाई सहभागी गराउन अन्तर्राष्ट्रियस्तरका तालीमहरुमा सहयोग गर्ने गरी गाउँपालिकाले नीति नै बनाएर अघि बढ्नुपर्छ । खेलकूदको ‘हव’ बनाउने लक्ष्यका साथ गाउँपालिका अघि बढ्न सकेमा राप्तीसोनारीलाई खेलकूदको ‘हव’ बनाउन सकिने प्रशस्त आधार र सम्भावना छन् ।

‘स्थानीय सरकारले खेल पर्यटनको सम्भावनालाई बुझेर पूर्वाधार र प्रतियोगिता आयोजनाका लागि बजेट विनियोजन गर्नुपर्छ,’ राप्तीसोनारी–५, गंगाराम वली भन्छन्, ‘खेललाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्छ । खेल्नका लागि मैदान चाहिन्छ । राप्तीसोनारीमा पर्पाप्त ठूला खेल मैदान छन् । खेल मैदानकै कारण खेल्ने वातावरण तयार हुन्छ । त्यसैले अब नेपालगन्ज र कोहलपुरको विकल्प राप्तीसोनारी बन्नुपर्छ ।’ समृद्ध राप्तीसोनारी बुलेटिनबाट

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ०६:१३