सूचनाको शक्ति - The Power Of Information

        

मौसममा सुधार

मौसममा केही सुधार, केही दिन निरन्तर ठूलो पानी पर्ने सम्भावना कम

उपत्यकामा समान्यतया मौसम सफा

काठमाडौं ।  आज मौसममा केही सुधार भएको छ । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी केही ठाउँमा सामान्य बादल लागेको र केही ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा अहिले समान्यतया मौसम सफा रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेकोले दिउँसोपछि बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो । आज वाग्मती र प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

तर लामो समय पानी पर्ने नदेखिएको उहाँले बताउनुभयो । अबको तीन दिन देशका धेरै ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम पानी परे पनि निरन्तर लामो समय ठूलो पानी पर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि धेरै पानी परेकोले सामान्य पानी पर्दा पनि पहिरो तथा बाढीको सम्भावना रहने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ०७:५८