सूचनाको शक्ति - The Power Of Information

        

स्टोरिज अफ नेपालद्वारा एकल महिलालाई राहत

बझाङ । स्टोरिज अफ नेपाल नामक संस्थाले बझाङ सदरमुकाम चैनपुरमा डेरामा बस्दै आएकी एक जना एकल महिलालाई राहात दिएको छ । स्टोरिज अफ नेपालका सञ्चालक जय पौडेलले कुस्मा गाउँपालिका–३ जाजरकोट घर भई विगत १८ बर्षदेखि सदरमुकाम चैनपुरमा मजदुरी गरेर कोठा भाडामा बस्दै आएकी देविसरा पुनलाई नगद रु.२५ हजार सहयोग गरेको हो ।

मजदुरी गरेर जिविकापार्जन गर्दै आएका पुनका परिवारका साहारा देविसराका श्रीमान खडक पुनको गत बैशाखमा जडिबुटी संकलनका लागि जंगल गएका बेला भिरबाट लडेर मृत्यु भएपछि यो परिवार चैनपुर बजारमा मजदुरी गर्दै गुजारा चलाएको थियो । पीडित देविसराले भनिन्, ‘कोठा भाडा तिर्न, घरखर्च चलाउन गिट्टी कुट्ने गरेको थिए । सरकारले लकडाउन घोषणा गरेपछि मजदुरी गर्न पाइएको थिएन ।’

उनले श्रीमानको काजक्रिया गर्दा लागेको खर्च र कोठा भाँडा तिर्न र खान बस्न समस्या भएको पनि बताइन् । ‘छोराछोरीको विद्यालयमा फिस तिर्न पनि समस्या थियो । दुखको बेला जय पौडेल सरले सहयोग गरेर ठूलो गुन लगाउनुभयो । कोही दाताले छोराछोरीको पढाईको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने आस गरेकी छु,’ देविसराले भनिन् ।

देविसराको परिवारमा भएको दुखद् घटनालाई पत्रकार महासंघका बझाङ शाखा पूर्वअध्यक्ष जगदीस रोकायाले स्टोरिज अफ नेपालका सञ्चालक जय पौड्यलसँग समन्वय गरेर उक्त घटनाको जानकारी गराएपछि पौडेलले आर्थिक सहयोग गरेका थिए । पौडेलले बुधबार उक्त रकम एकल महिला देविसराको परिवारलाई हस्तान्तरण गरेका छन् । देविसराका एक छोरा र दुई छोरी रहेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १०:१७