बझाङ । बझाङ जिल्ला नेकपा एमालेका जिल्ला कमिटि सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकायाको बुधबार निधन भएको छ । खप्तडछान्ना गाउँपालिका–५ माझी निवासी रोकायालाई दुई हप्ताअघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । रोकायाको कोरोना नेगेटिभ देखिएको तीन दिन नबित्दै निधन भएको हो ।
केही दिनदेखि जिल्ला अस्पताल सिमखेतमा उपचार गराइरहेका नेता रोकायालाई थप उपचारको लागि डडेल्धुरा प्रादेशिक अस्पताल लगिएको थियो । रोकायालाई डडेल्धुरा अस्पतालमा उपचारका क्रममा स्वास्थ्यमा केहि सुधार नआएपछि रोकायालाई थप उपचारको लागि काठमाडौं लिने तयारी भएको भए पनि मौसम खराबीका कारण लिन नसकेको आफन्तहरुले बताए ।
रोकाया नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य, खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य, २०७४ सालको चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उमेद्धारसमेत रहेका थिए । रोकायाको परिवारमा आमा बुवा, श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको निधनले खप्तडछान्ना गाउँपालिकाले एक असल अभिभावक गुमाएको रोकाया आफन्तसमेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए ।
पूर्व वनमन्त्री जोशीद्वारा दुख व्यक्त
रोेकायाप्रति नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व वनमन्त्री भानुभक्त जोशी र अनेरास्ववियुका केन्द्रिय कमिटी अध्यक्ष ऐन महरले दुख व्यक्त गरेका छन् । उनीहरुले रोकायाको निधनको खवरबाट स्तब्ध भएका जनाएका छन् । रोकायाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै जोशी र महरले उनको निधनले बझाङको कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई अपुरणीय क्षति भएको बताएका छन् ।
यसैबीच नेकपा (एमाले) नेताहरुले पनि रोकायाको निधनले बझाङ्गी राजनीतिक क्षेत्रले कर्मठ, भद्र, सालिन, इमान्दार नेता गुमाएको बताएका छन् । रोकाया बझाङ्गी राजनीतिमा स्वच्छ छवि भएका एक राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा पनि परिचित थिए । एक असल राजनीतिज्ञ गुमाएको जनाउँदै एमाले नेताहरुले रोकायाप्रति श्रद्धाञ्जलीका साथ परिवाजनमा समवेदना व्यक्त गरेका छन् ।
।