काठमाडौं । लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोबाट १३ जिल्ला प्रभावित भएका छन् । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटी लगायत देशका विभिन्न जिल्ला प्रभावित भएको जनाएको छ ।
बुधबार साँझसम्म बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आशिंकरुपमा क्षति भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ । मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा २ जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा १–१ जना गरी जम्मा ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै बाजुरा, गोरखा, प्यूठान, अर्घखाँचीमा १–१ जना, जाजरकोटमा ७ जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएका छन् । यसैगरी सिन्धुपाल्चोकमा ६ जना र स्याङ्जामा पहिरोमा परी १ जना, डोटीमा २ जना र जुम्लामा २ जना समेत जम्मा ११ जना घाइते भएका छन् ।
त्यस्तै बाढी पहिरो प्रभावित जिल्ला सिन्धुपाल्चोकमा ४६ र दाङमा ४ जनालाई सकुशल उद्धार गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने सम्भावना छ । बाढी, पहिरो र डुबानको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ ।
।