सूचनाको शक्ति - The Power Of Information

        

ठगी गर्दै हिँड्ने बिमा एजेन्ट पक्राउ

बैतडी । विभिन्न प्रलोभन देखाएर गएको एक वर्षदेखि ठगी गर्दै गरेको बैतडीबाट बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन नगरपालिका–२ सिलंगाका ३४ वर्षीय कमलराम विक छन् । विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बिमा भरेमा अनुदान दिन्छु भन्दै ठगी गरेको भन्दै स्थानीय नागरिकले दिएको जाहेरीका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहीले बताए । विकले सिटिजन लाइफ इन्स्योरेन्समा बिमा भरिदिन्छु भन्दै स्थानीयबाट रकम संकलन गरेर ठगी गरेको पाइएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

शाहीले भने, ‘महेन्द्रनगरबाट २५ लाख र बैतडीबाट १५ देखि २० लाख रकम संकलन गरेर स्थानीयहरुलाई निजले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, नियन्त्रणमा रहेका विकमाथि बिहीबार मुद्दा दायर हुन्छ ।’ सिगास र महेन्द्रनगरको संयुक्त टोलीले जाहेरी दिए । उनले भने, ‘एक वर्षदेखि बिमाको एजेन्ट भन्दै ठग्दै हिँडेको रहेछ, ४ महिनादेखि प्रहरीले खोजी गर्दै थियो ।’

कमलराम बिमाको एजेन्ट भए पनि कम्पनीलाई पनि ठगेको आरोप लागेको छ । स्थानीयबाट बिमा गरिदिन्छु भन्दै पैसा लग्ने गरेको भए पनि कम्पनीलाई नबुझाएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका कमलमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमलले ठगी गरेको भन्ने ६० जनाजति सम्पर्कमा आएका शाहीको भनाइ छ । कमलराम विकसँगै दुईजना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको छ । उनीहरु फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०७:०२