सूचनाको शक्ति - The Power Of Information

        

कोरोना सङ्क्रमणको दोस्रो लहरमा भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणका कारण भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका छन् ।

भारतको मेडिकल एसोसिएशनका अनुसार दोस्रो लहरमा मात्रै भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका हुन् । सबैभन्दा धेरै बिहारमा १ सय १५ डाक्टरको ज्यान गएको छ भने दिल्लीमा १ सय ९ डाक्टरले ज्यान गुमाएका छन् ।

यस्तै उत्तर प्रदेशमा ७९, पश्चिम बङ्गालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ र आन्ध्र प्रदेशमा ३८ जना डाक्टरले ज्यान गुमाएका मेडिकल एसाेसिएशनले जनाएको छ ।

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण पनि कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार १ सय ४ सङ्क्रमित थपिएका छन् । १ लाख ३ हजारभन्दा धेरै व्यक्ति निको भएका छन् ।

यस्तै गएको २४ घण्टामा १ हजार ४ सय सङ्क्रमितको ज्यान गएको छ । भारतमा सङ्क्रमित र ज्यान गुमाउनेको दर घटेको छ ।

अहिलेसम्म भारतमा २ करोड ९६ लाख ९९ हजार व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ भने २ करोड ८५ लाख व्यक्तिले कोरोनालाई जितेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०६:४५