बुटवल । तीन दिनदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका दर्जन बढी सडकहरु अवरुद्ध भएका छन् ।
बुटवल-नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा मंगलबारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग बुधबार पनि खुल्न सकेको छैन ।
निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएकाले बुधबार साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लिनारायण पाण्डेयले बताए ।
यस्तै सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो खस्दा उक्त सडक पनि मंगलबारदेखि नै पूर्णरुपमा अवरुद्ध छ ।
यो खण्डको तिनाउ-५ कालिमाटी, तानसेन-८ को गौडापुल, जरेपिपल तथा तानसेन-१४ गाईघाटमा पहिरो गएको छ । गौडापुलमा पहिरोले ५० मिटर सडक भत्काइदिएको छ ।
जसले गर्दा बुटवलदेखि पाल्पा हुँदै स्याङजा पोखरा र गुल्मी बागलुङतर्फको यातायात सेवा सुरु हुन केही दिन लाग्ने डीएसपी पाण्डेले बताए।
यस्तै तानसेन-रिडि खण्डको हार्थोक, मालमुल लगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
यस्तै रिडी-तम्घास र रिडी-वामीटक्सार खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेका कारण ती सडक पनि अवरुद्ध भएका डीएसपी पाण्डेले बताए ।
पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा-४ हुमिन, बगनासकालीको शेरालगायतका क्षेत्रमा पनि पहिरोका कारण आर्यभन्ज्याङ-रामपुर सडक अवरुद्ध छ ।
यस्तै गोरुसिङ्गे-सन्धिखर्क सडकको फुदवाङ, प्युठान-भालुवाङ सडकको सरुमारानी-४ खहरेखोलामा पहिरो जांदा ती सडक पनि बन्द हुँदा रोल्पा, प्युठानको यातायात सेवा विच्छेद भएको डीएसपी पाण्डेले बताए ।
बुटवल-नेपालगन्ज राजमार्ग भने सुचारु रहेको उनले बताए । भारी वर्षा नरोकिएकाले यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
।