सूचनाको शक्ति - The Power Of Information

        

सिन्धुपाल्चोकमा सात जनाको मृत्यु, यातायात सम्पर्क विच्छेद

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले मंगलबार साँझ सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

मेलम्चीमा पानीको बहाव नघटेको उहाँले बताउनुभयो । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १०:०३