सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशमा बजेट

सुदूरपश्चिमको बजेट ३० अर्ब ३३ करोड (पूर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि सवा ३० अर्बको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब पाँच करोड कमको बजेट प्रस्तुत गरेका हुन् ।

शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा १० अर्ब ६६ करोड ९ लाख (३५.१ प्रतिशत) चालु र १७ अर्ब ६५ करोड ४० लाख पुँजीगत बजेट रहेको मन्त्री शाहले घोषणा गरे । चालू आर्थिक वर्षभन्दा झण्डै ३ अर्ब बजेट घटेर ल्याइएको हो ।

चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो । आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै प्रदेश गौरवका आयोजना र क्रमागत योजनाका लागि ५ अर्ब १२ करोड, तटबन्धका लागि २ अर्ब २ करोड, खानेपानी योजनाका लागि १ अर्ब ३४ करोड, मुख्यमन्त्री कृषि तथा पशुपक्षी विकास कार्यक्रमका लागि १६ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

अस्पताल स्तरोन्नती तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तिकरण कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै बादी समुदायको गरिवी न्यूनीकरणका लागि ३ करोड, कैलाश मानसरोवर प्रवेशद्वार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न २ करोड ५० लाख, सशस्त्र द्वन्द्वमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री शाहले उल्लेख गरेका छन् ।

आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । अगामी वर्षलाई अस्पताल स्तरोन्नती तथा सेवा विस्तार सुधार वर्षका रुपमा मनाउँदै पूर्वाधार विकासका लागि २ अर्ब ५८ लाख बजेट विनियोजन गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ प्रदेश गौरवका सडक निर्माण, ठूला पूर्वाधार र रुपान्तरणकारी योजनालाई अगामी वर्षमा निरन्तरता दिने गरी बजेट विनियोजन गरिएको छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

प्रकाशित मिति : १ असार २०७८, मंगलवार २०:१९