सूचनाको शक्ति - The Power Of Information

        

ब्रेन ट्यूमरले थलिए शिक्षक, उपचारमा सहयोग गरिदिन अपिल

बर्दिया । २५ वर्षदेखि शिक्षण गर्दै आएका शिक्षक अग्रबहादुर शाही ब्रेन ट्यूमरबाट थलिएको १ वर्ष नाघ्यो । उनी अहिले जीवनमरणको दोसाँधमा छन् । तर, आर्थिक अभावले उनको उपचार हुन सकेको छैन । शिक्षक शाहीले शिक्षण पेशामा आबद्ध भएपछि झण्डै ८ वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिकाको त्रिभुवन माविमा योगदान गरे । ५ वर्ष बर्दियाकै बारबर्दिया–७, रम्भापुरमा नेपाली विषय शिक्षण गरे ।

अहिले उनी दैलेखको आठबीस नगरपालिका–८ मा रहेको तिलेपाटा क्याम्पस प्रमुख छन् । तर, क्याम्पस प्रमुख शाही थलिएको पनि वर्ष दिन पुगिसकेको छ । शिक्षाको ज्योतिमार्फत लाखौंलाई शिक्षा प्रदान गर्दै आएका शिक्षाप्रेमी शाही दैलेखको ठाँटीकाँध गाउँपालिका–५ (साविकको तोलिजैसी गाविस) मा जन्मिएका हुन् । अहिले उनको परिवार बर्दियाको ठाकुरबाबा नगरपालिका–१,डुम्रेनीमा बसोबास गरिरहेको छ ।

ब्रेन ट्युमरले थलिएपछि एक वर्षको अवधिमा उपचारका क्रममा भएको सबै सम्पत्ति सकिएको परिवारजनले जानकारी दिए । तर, शाहीलाई अझै निको भएको छैन । अहिले आर्थिक अभावका कारण उपचार गराउन निकै समस्या भएको छ । उनका जेठा दाजु मीनबहादुरले भने, ‘१ वर्षदेखि उपचार गर्दै आएका छौँ, दैलेखबाट उपचारका लागि, नेपालगन्ज, काठमाडौं, भारतको लखनउ, डिल्ली लगायत अस्पतालमा लगिसक्यौँ, तर उपचार सम्भव हुन सकेको छैन ।’

उनका अनुसार उपचार क्रममा झण्डै २४–२५ लाख रुपैयाँजति खर्च भैसकेको छ । काठमाडौंमा शल्यक्रिया गर्न १० देखि १२ लाख रुपैयाँ लाग्ने जानकारी दिइएको उनले बताए । उपचारका लागि शाहीको परिवारलाई खर्च जुटाउन समस्या भैरहेको छ । शिक्षक अग्र शाहीका २ छोरा र श्रीमती छन् । उनकी श्रीमती उमा बिष्ट शाहीले आफ्नो श्रीमानको उपचारमा सहयोग गरिदिन सम्पूर्णमा अपिल गरेकी छिन् ।

युवाहरूले चलाए शिक्षक बचाउ अभियान

उनको उपचारका लागि बर्दिया र दैलेखका युवाहरूले आर्थिक सहयोग अभियान चलाएका छन् । सानो सहयोगले आफूलाई शिक्षा दिने गुरुको ज्यान बचाउन सकिने अपेक्षासहित अभियान चलाएको युवाहरूले बताएका छन् । अहिले बर्दिया र दैलेखका युवाहरूले सञ्चालन गरेको शिक्षक बचाउ अभियानमा विभिन्न ठाउँ क्षेत्र देश बिदेश र जिल्लामा रहेका युवाहरू पनि जोडिएका छन् ।

शिक्षक बचाउ अभियानमा आफूले गर्न सक्ने सहयोग गरि शिक्षकको ज्यान बचाइदिन पनि सम्पूर्णमा आग्रह गरिएको छ । युवाहरूले सामाजिक सञ्जालमा ‘अग्र सर बचाउ अभियान’ नामबाट फेसबुक एकाउन्ट खोलेर सहयोग संकलन गरिरहेका छन् । आर्थिक सहयोगको लागि राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय भुरीगाउँ बर्दियामा रहेको उनकी धर्मपत्नी उमा विष्ट शाहीको नाममा रहेको बैंक खाता नं. ४४७०१००००४७६९०१० मा रकम सहायता गरिदिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १८:०७