संघीय शासन प्रणालीमा स्थानीय तहभित्र जनताको सबैभन्दा नजिकको सरकार भनेको वडा पालिका नै हो । जनताको घरदैलोमै सेवा सुविधा पुर्याउने, गुनासो सुन्ने, दुःखसुखमा साथ दिने नजिकको पहिलो निकाय भएकोले वडा पालिकाहरुको भूमिका र सक्रियता अत्यन्तै महत्वपूर्ण छ । त्यसैले जुनसुकै गाउँपालिका होस्, उसले एक्लैले चाहेर विकास र परिवर्तन सम्भव छैन । पालिकामा चौतर्फी विकासका लागि वडापालिकाहरुको पनि उत्तिकै साथ, सहयोग, सहकार्य, समन्वय, साझेदारी आवश्यक छ । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सडक बिस्तार लगायत जनताको आधारभूत सेवा सुविधाहरु गाउँ र वडा पालिकाहरुको साझा एजेन्डा हुन् ।
दुई दशकपछि अस्तित्वमा आएको स्थानीय तह अन्तर्गत वडा कार्यालयहरुले सक्रिय एवं ईमान्दार भई काम गर्ने हो गाउँबस्तीको मुहार फेरिन समय लाग्दैन । तत्कालिन गाउँ विकास समितिको भौगोलिक एवं जनसांख्यिक संरचना जस्तै रहेका वडा पालिकाहरुले तदारुकताका साथ परिवर्तन र विकासको स्पष्ट खाका कोरेर निर्दिष्ट लक्ष्य प्राप्तिका लागि अघि बढ्ने हो भने गाउँबस्तीको मुहार फेरिन कठीन छैन । यद्यापि, वडागत भौगोलिक अवस्थिति, भेष–भाषा, संस्कृति, समुदायगत पहिचान लगायतका क्षेत्रमा आवश्यकता अनुसार केही फरक योजनाहरु भएपनि उनीहरु सबैको नीति, योजना, एजेन्डाको प्राथमिकतामा खासै फरक देखिँदैन ।
यीनै विषयमा केन्द्रीत रहेर बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानीका अध्यक्ष रुपबहादुर मल्ल, वडा नं. २ डिगियाका अध्यक्ष प्रेम बहादुर थापा, वडा नं. ३ नौबस्ताका अध्यक्ष रामचरण थारु, वडा नं. ४ बनियाभारका अध्यक्ष कालीबहादुर सिंह, वडा नं. ५ वनकटवाका अध्यक्ष मनबहादुर खत्री, वडा नं. ६ सम्झनाका अध्यक्ष भद्रबहादुर बस्नेत, वडा नं. ७ पेडारीका अध्यक्ष सियाराम थारु र वडा नं. ८ टिटिहिरियाका अध्यक्ष भगन थारुसँग संक्षेपमा गरिएको कुराकानी :
बैजनाथ गाउँपालिकाको वडा नं १ तत्कालिन चिसापानी गाउँ विकास समितिका वडाहरु १ देखि ९ मिलेर बनेको छ । ३८ दशमलव ६९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको चिसापानी वडा पालिकामा करिब ७ हजार जनसंख्या बसोबास गर्दछन् । स्थानीय तहको निर्वाचनपछि वडाको विकासले गति लिएको छ । कोरोना महामारीले विकासमा केही प्रभाव पारे पनि हाम्रो प्राथमिकताअनुसार वडाको विकास भइरहेको छ । अहिले सञ्चालन भइरहेका योजनाहरु र आफ्नो गाउँघर, छरछिमेक, शान्ति सुरक्षा अमनचयन कायम गर्ने कुरामा अहिलेसम्म सबै वडावासीहरुको सकारात्मक सहयोग पाएको छु ।
विकासको लागि सबैभन्दा महत्वपूर्ण पक्ष पर्याप्त स्रोत साधन हो । उपलब्ध स्रोतलाई सही ढंगले परिचालन गर्न सकियो भने कम बजेटमा पनि धेरै काम गर्न सकिन्छ । विकासका लागि सम्भावना खोज्ने हो, पहिल्याउने हो । स्रोतको उचित व्यवस्थापन र परिचालन गरी त्यसलाई कार्यान्वयन गर्ने प्रयासमा लागिरहेका छौं । कृषि, पर्यटन, शैक्षिक सुधार र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन प्राथमिकीकरण गर्दै वडाभित्रका समग्र कामहरु समुतित ढंगबाट अघि बढिरहेका छन् । वन जंगल, निकुञ्ज, पर्यटन आगमनको आकर्षण पूर्वाधार, भ्यू टावर, पार्क, पर्यटन रिङ्गरोड लगायत चिसापानी क्षेत्र विकासको मुख्य आधार हुन् ।
बाँके राष्ट्रिय निकुञ्जको केही भाग चिसापानी अन्तर्गत पर्दछ । निकुञ्जको विकास र संरक्षणको लागि १० किलोमिटर क्षेत्रमा तारजाली राखेका छौं । बर्दिया राष्ट्रिय निकुञ्ज पनि चिसापानीसँग जोडिएको छ । बाँके र बर्दिया निकुञ्जबाट ४० लाख र बैजनाथ गाउँपालिकाको ४० लाख गरी ८० लाखमा निकुञ्जको तारबार र संरक्षणमा खर्च भएको छ । गाभर भ्यालीको रिङ्गरोड बनाउन २ किलोमिटरमा कालोपत्रे गरिएको छ । लायन्स पार्कमा २५ लाख बजेटमा तारबार भएको छ । शैक्षिक सुधारका कार्यहरु पनि भएका छन् । चिसापानीमा तीन वटा आधारभूत तह र एउटा माध्यामिक विद्यालय छ । ती सबै विद्यालयहरुको गुणस्तर सुधारका कामहरु गर्यौं ।
चिल्ड्रेन पार्क चिसापानीको आकर्षणको केन्द्रमध्ये एक हो । पार्क पनि स्तरउन्नती भएको छ । १० लाखको बजेटमा तीन वटा खानेपानी ट्यान्की निर्माण हुँदैछन् । कृषि उत्पान बढाउन र संरक्षण गर्न भकारो सुधार र चारो मेसिनको कार्य थालेका छौं । युवा स्वरोजगार कार्यक्रमलाई पनि निरन्तरता दिएका छौं । चिसापानी क्षेत्र अन्तर्गत पर्यटन पनि आम्दानीको बलियो स्रोत हो । यसका लागि गाभर लगायतका क्षेत्रका होमस्टेहरु संचालनमा छन् । पर्यटन क्षेत्रलाई थप आकर्षण र गन्तव्य सहज बनाउन पर्यटकीय रिङ्गरोड निर्माण भएको छ । भ्यू टावर पनि यहाँको मुख्य आकर्षण हो । आन्तरिक एवं बाह्य पर्यटकले होमस्टे सँगै भ्यू टावरको पनि आनन्द लिन सक्नेछन् । अन्त्यमा, चिसापानीको विकासमा सहयोग गर्नुहुने सबैप्रति आभार एवं धन्यवाद व्यक्त गर्दछु ।
डिगियामा हामी जनसहभागितामा आधारित विकास निर्माणलाई निरन्तरता दिएका छौं । कुनै पनि ठाउँको विकासको लागि नीति, योजना, बजेट, स्रोत र जनसहभागिता अत्यन्तै आवश्यक छ । विकास निर्माणका काममा जनसहभागिता सुनिश्चित गरिएको छ । गाउँसभाले बजेट बनाउनुअघि वडाका टोलटोलबाट जनसहभागितामा प्राथमिकता छुट्ट्याएर योजना माग गर्ने गरिएको छ । कानून अनुसार मिल्ने साना योजना उपभोक्ता समितिबाटै निर्माण गरेर स्थानीय उपभोक्ताको सहभागितामा बनेको अनुगमन समितिले काम ठीक भए नभएको अनुगमन समेत गर्ने गरेका छौं । वडाभिका सबै टोलमा धारा र सरसफाईका लागि आवश्यक जनचेतनामूलक कामहरु भएका छन् ।
महत्वपूर्ण पाटोका रुपमा रहेको शैक्षिक गुणस्तरलाई उकास्न सकेका छौं । सबैलाई शिक्षाको पहुँचमा ल्याउन अहिले पनि विभिन्न सचेनतामूलक कामहरु भइरहेका छन् । गाउँमा गुणस्तरीय शिक्षाको लागि धेरै सकारात्मक कामहरु भएका छन् । यसबाट स्थानीयलाई आफ्ना छोराछोरी अनिवार्य विद्यालय पठाउनु पर्छ भन्ने चेतन बृद्धि भएको छ । कृषकका लागि तालिम तथा अन्य आवश्यकीय कामहरुलाई प्राथमिकीकरण गरेर कृषि पेशालाई सबल बनाउन लागिपरेका छौं । स्वास्थ्य क्षेत्रमा विगतको तुलनामा भन्दा उल्लेख्य सुधार भएको छ । स्वास्थ्य चौकीबाट दिइने सेवालाई थप प्रभावकारी बनाएका छौं । सुत्केरी भत्ता तथा सामाजिक सुरक्षा भत्ता पाउन सेवाग्राहीको लागि थप सहज र सरल बनाएका छौं । गरिब, दलित, लोपोन्मुख, आदीवासी लगायतलाई लक्षित गरेर हरेक बर्ष ठूलो रकम लक्षित वर्गको उत्थानमा खर्च भइरहेको छ ।
यसबाट उनीहरुको जीवनस्तरमा पहिलेको तुलनामा निकै धेरै सुधार आएको छ । ७० लाखको बजेटमा प्राविधिक शिक्षालय भवन निर्माण गरेका छौं । सो विद्यालय २ वर्षदेखि संचालनमा रहेको छ । डिगियामा एउटा माध्यामिक विद्यालय, ४ वटा आधारभूत विद्यालय र ३ वटा निजी गरी ५ वटा शैक्षिक संस्थाहरु छन् । त्यस्तै, सडक बाटोघाटो निर्माण तथा स्तरोन्नतीको लागि ३ करोड खर्च भएको छ । जसमा ३ किलोमिटर कालोपत्र गरिएको छ भने १५ किलोमिटर सडकको स्तरोन्नती गरेका छौं । कृषि उत्पानको लागि कृषकलाई आधुनिक खेती गर्न बोरिङ जडान तथा बिऊ बिजन वितरण ग¥यौं । कृषकलाई स्प्रे ट्यांकी वितरण गर्नुका साथै सिँचाईको लागि कुलो निर्माण गरिएको छ । खेलकूदका लागि फुटबल मैदानको गुणस्तर बृद्धि गरेका छौं ।
बैजनाथ गाउँपालिकाको वडा नं ३ साबिक नौबस्ता गाउँ विकास समितिका वडाहरु ४, ५, ६ र ७ मिलेर बनेको छ । १४ दशमलव २६ वर्गकिलोमिटरमा फैलिएको नौबस्ता वडापालिकामा करिब ६ हजार जनसंख्या बसोबास गर्दछन् । हामी निर्वाचित भएर आई सकेपछि कानून, विधि विधानमा केही समय अलमल भयो, तर त्यसलाई पनि चिर्दै वडापालिकालाई प्रभावकारी रुपमा विकासका योजना र सुशासनका काममा गति दिनुपर्छ भन्ने हिसाबले हामी लाग्दै गर्दा विकासका योजनाहरु सञ्चालन भैरहेका छन् । अझ भन्ने हो भने हामीले निर्वाचनका बेला गरेका प्रतिवद्धताहरुलाई सकेसम्म पुरा गरेका छौं भन्ने लाग्छ ।
बाँकी रहेका प्रतिवद्धताहरुलाई पनि पुरा गर्ने प्रयत्नमा लागि रहेका छौ । जनताको चाहना आफु वडा कार्यलयमा जाँदा साथ काम हुनुपर्छ भन्ने छ । हामी पनि त्यही चाहि रहेका छौ । कतिपय योजनाहरु सम्पन्न गर्न बाँकी छन्, ती कामहरु पनि पूरा हुन्छन् । सबैभन्दा गौरवको बिषय भनेको निर्माणाधिन औद्योगिक क्षेत्र हो । करिब ६ अर्ब लागतमा बन्न लागेको औद्योगिक नगरी प्रदेश ५ कै उद्योगको केन्द्रबिन्दु बन्नेछ । औद्योगिक क्षेत्र निर्माणमा केही अवरोधहरु छन्, त्यसको समाधानमा हामी लागिरहेका छौं । हामी जनप्रतिनिधि भएर आइसकेपछि जनतालाई यसको प्रत्याभूति दिलाउँदै सेवाग्राहीका भावना र उहाँहरुका भनाईलाई कदर गर्दै अघि बढिरहेका छौं । पहिलो एक वर्ष सिकाईमै बित्यो ।
जनताले छिटोछरितो सेवा सुविधा पाउनुपर्छ भन्ने हाम्रो मान्यता पनि हो । र आएका सेवाग्राहीलाई हुने कामलाई छिट्टै गरिदिने र नमिलेका कामलाई यस कारणले तपाईको काम हुन सकेन यो मिलाएर आउनुहोस् भन्ने गरेका छौं । अहिले संविधानले दिएका जुन अधिकार र कार्यक्षेत्र, स्थानीय तहमा आएका छन्, त्यसले गर्दा पनि अब सबैको समझदारी सहमतिमा अघि बढ्दा सेवाग्राहीलाई चुस्त दुरुस्त रुपमा सेवा दिन सकिरहेका छौं । बैजाटोलमा करिब २५ लाखको बजेटमा जेठीनाला पुल बनेको छ । जनताको आउजाउलार्ई सहज बनाउन ४१ लाखमा ४ सय मिटर लम्बाई रहेको सुतैया पुल बनायौं । वडा कार्यालयदेखि नौबस्ता तालसम्म २८ लाखको बजेटमा सडक स्तरोन्नती भएको छ । यो वडाभित्र ६ वटा सामुदायिक विद्यालय छन्, जसमा २ वटा माध्यमिक विद्यालय छन् । ३ वटा बालविकास केन्द्र सञ्चालनमा रहेको छन् ।
बैजनाथ गाउँपालिकाको वडा नं ४ बानियाभार तत्कालिन नौबस्ता गाउँ विकास समितिका वडाहरु ८ र ९ मिलेर बनेको छ । यहाँको १५ दशमलव ८ वर्गकिलोमिटरमा क्षेत्रफल रहेको बानियाभारमा कुल ६५ सय जनसंख्या बसोबास गर्दछन् । बानियाभारमा हाम्रो मुख्य प्राथमिकता भनेको यहाँको विकास र पुरानो संरचनामा परिवर्तन गर्नु हो । जसका लागि शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायतका एजेन्डालाई सम्बोधन गर्न हामी केन्द्रीत छौं । काम गर्नु पर्ने बिषय धेरै छन्, तर हाम्रो पहिलो प्राथमिकता भनेको स्वास्थ्य चौकीहरुलाई थप व्यवस्थित गर्नु, शैक्षिक संस्थाहरुलाई गुणस्तरीय बनाउनु, कृषिलाई आधुनिकीकरण गर्नु, सडक बाटोघाटोलाई स्तरोन्नती गर्नु हो ।
यसका लागि जनप्रतिनिधि र कर्मचारी प्रशासन संयुक्त रुपमा सक्रिय भएर लागेका छौं । बेरोजगारी अन्त्यका लागि सीपमूलक तालिम, साना व्यापार व्यवसायमा आर्थिक लगानी तथा आत्मनिर्भर हुन प्रोत्साहन हुने किसिमका कार्यक्रमलाई पनि निरन्तरता दिइरहेका छौं । विकास निर्माणको काममा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय भवनहरु निर्माण तथा मर्मत, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती, बाटोघाटो, पुल निर्माण यिनै कामहरु अहिले भइरहेका छन् । त्यो सँगसँगै भौतिक निर्माण देखिका अन्य कामहरुमा मानवीय विकासका क्षेत्रमा गर्ने कामहरु, आयआर्जनको क्षेत्रमा गर्ने कामहरु, शान्ति सुरक्षाको क्षेत्रमा गर्ने कामहरु यी सबै कामहरुलाई हामीले सकेसम्म समुचित ढंगबाट लिइरहेका छौं ।
यसबीच तीन किलोमिटर सडकमा स्तरोन्नती गरी कालोपत्रे गरेका छौं । स्मार्ट कृषि गाउँलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं । त्यसका लागि तिलकपुरमा ५० लाखको लगानी गरी साना किसानलाई तरकारी खेतीतर्फ आकर्षित गर्न सफल भएका छौं । त्यस कार्यक्रममा ७० जना किसानलाई समावेश गरी तोरी खेती, तरकारी, आलु, काउली, सागपात, धान गहुँ लगायत उत्पादनलाई प्रोत्साहन गरिएको छ । त्यसको बजारीकरणमा केही समस्या देखिएको छ, तर समाधान हुन्छ । वडा पालिकाको तर्फबाट तरकारी संकलन केन्द्र निर्माण गरिएको छ, ताकी स्मार्ट कृषि गाउँबाट उत्पादन भएको सामाग्रीलाई राम्रो आम्दानीसहित बजारीकरण गर्न सकियोस् । कोल्ड स्टोर निर्माणका लागि पनि ३० लाख बजेट छुट्टयाइएको छ ।
पिकनिक पार्क, सिचाईको लागि बोरिङ, पशुपालन, बोयर बोका वितरण आदिमा ध्यान दिइएको छ । बानियाभारमा रहेको आधारभूत स्वास्थ्य चौकीको स्तरोन्नती गरेका छौं । बानियाभारको लागि सुकुम्बासी समस्या समाधान पनि चुनौती बनेको छ । त्यसमा हामी लागिरहेका छौं । अन्त्यमा सबैभन्दा महत्वपूर्ण एजेन्डा सिचाई बनेको छ । यहाँका कृषकका लागि हामीले पुर्खौली सिचाई आयोजना सुरु गरेका छौं । ८ करोडको लागतमा ३ ०० हेक्टरको क्षेत्रफल जमीनमा सिचाई आयोजनाको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । आन्तरिक स्रोत कम हुँदाहुँदै पनि हामीले सोचेभन्दा बढी विकासका कामहरु गरेका छौं । यो बीचमा जनताको आधारभूत आवश्यकतामा केन्द्रीत भई धेरै काम भएका छन् तर, अझै पनि थप सुधारका कामहरु गर्न बाँकी नै छ, यसतर्फ पनि हामी सचेत छौं ।
बैजनाथ गाउँपालिकाको वडा नं ५ साबिक बनकटवा गाउँ विकास समितिका वडाहरु ४, ६, ७ र ८ मिलेर बनेको छ । विशेष गरि थारु, ब्राम्हण, क्षेत्री, ठकुरी, सन्यासी, जनजाति समुदायको बसोबास रहेको यो वडा पालिका कृषि क्षेत्रमा सबैभन्दा उच्च रहेको छ । १४ किलोमिटर वर्गकिलोमिटर क्षेत्रमा फैलिएको बनकटवा वडा पालिकामा करिब ८ हजार पाँच सयको हाराहारीमा जनसंख्या बसोबास गर्दछन् । स्थानीय तहको निर्वाचन भएर हामीले काम सुरु गरेको यो झन्डै चार वर्षको अवधिमा जनतासँग गरेको प्रतिबद्धता र स्थानीय आवश्यकता अनुसार सूची तयार पारेर हामीले काम गरिरहेका छौं ।
वडाध्यक्ष भएपछि थप जिम्मेवारी बढेको छ, र ईमान्दारीपूर्वक जनताको सेवामा समर्पित छु । वडाको शैक्षिक अवस्थामा विगतको तुलनामा केही सुधार भएको छ । वडाका सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउनुपर्ने चुनौति छ, अझै पनि कतिपय बालबालिकाहरु शिक्षाको मुलधारमा आउन सकिरहेका छैनन् । हामीले यसका लागि अथक मेहनत गरिरहेका छौं । वडाबासीहरुको शैक्षिक चेतना अभिवृद्धि गर्नका लागि विभिन्न खाले सकारात्मक प्रयासहरु भइरहेका छन् । शैक्षिक सुधारका लागि वडापालिकासँग पर्याप्त लगानी नहुँदा सोचेअनुसार काम गर्न सकिएको छैन । अबको हाम्रो पहिलो प्राथमिकता भनेको शैक्षिक सुधार नै हो ।
शैक्षिक चेतनाले व्यक्तिलाई सकारात्मक चेत दिन्छ, जसले समाजलाई सकारात्मतातर्फ लैजान्छ, त्यसकारण पनि शैक्षिक सुधार हाम्रो पहिलो प्राथमिकता हो । हामीले कृषिलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं । अबको बाँकी कार्यकालमा अन्य भौतिक पूर्वाधारका अधुरा कामहरु पनि पूरा गर्नुपर्नेछ । सडक र पूर्वाधार निर्माण अन्तर्गत रंगीला चोकदेखि बनकटवासम्म सडक निर्माण गरिएको छ । त्यस्तै रंगिलादेखि पेडारी गाउँसम्मको कच्ची बाटो निर्माण भएको छ, त्यो बाटो कालोपत्रे गर्ने चरणमा रहेको छ ।
३५ लाखको बजेटमा संगमचोकदेखि पूर्वीलाइन हुँदै प्रभात माध्यमिक विद्यालयसम्म ३५० मिटरको बाटो बनाइएको छ । हामीले शिक्षा क्षेत्रलाई पनि उत्तिकै महत्व दिएका छौं । प्रभात माध्यमिक विद्यालयलाई वडाकै नमूना विद्यालय बनाएका छौं । विद्यालयको चारैतिर पर्खाल बनेको छ । त्यही स्मारक पनि छ । ४० लाखको लगानीमा नेरामावि गुरुवागाउँमा तीन कोठाको भवन तयार गरिएको छ । त्यस्तै, आधुनिक कृषिको लागि पनि लगानी बढाएका छौं । कृषकलाई प्रोत्सान गर्न खेतीका लागि बीऊ बीजन, मल, सिचाई सुविधा लगायतमा पर्याप्त ध्यान दिएका छौं । गाईपालनका लागि २५ जना कृषकलाई चारा मेसिन वितरण गरेका छौं ।
भैसी पाल्ने १७ जना कृषकलाई आधुनिक तालिम दियौं । स्वास्थ्य क्षेत्रमा पनि पर्याप्त लगानी गर्ने प्रयास गरेका छौंं । प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स संचालनमा ल्याएका छौं । सुत्केरी आमा सुरक्षा कार्यक्रम अन्तरगत एम्बुलेन्स सेवालाई निशुल्क गरेका छौं । त्यस्तै, मृगौला र क्यान्सरका बिरामीको लागि एम्बुलेन्स सेवामा ५० प्रतिशत छूटको व्यवस्था गरेका छौं । गर्भवती महिलाहरुको लागि स्वास्थ्य केन्द्रमा २४सै घन्टा प्रसुति गृहको सुविधा उपलब्ध गराएका छौं । भिडियो एक्सरे लगायतका सेवा उपलब्ध छ । बनकटवा १५ शैय्याको अस्पताल बनाउन डिपीआर तयार भइसकेको छ ।
बैजनाथ गाउँपालिकाको वडा नं ६ साबिक बनकटवा गाउँ विकास समितिका वडाहरु ५ र ९ मिलेर सम्झना वडापालिका बनेको हो । करिब ९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सम्झना वडापालिकामा ७ हजार पाँच सय जनसंख्या रहेको छ । हामीले वडामा शिक्षा, स्वास्थ्य, कृषि र सडक पूर्वाधार निर्माणका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । बाटोको समस्या, शिक्षा, स्वास्थ्य, विद्युत, युवा रोजगार लगायतका समस्या समाधानका लागि पर्याप्त बजेट छैन । कोरोनापछि बेरोजगार बनेको युवाशक्तिलाई रोजगारको व्यवस्था गर्नुपर्ने चुनौती छ ।
प्रदेश र संघीय सरकारले पनि स्थानीय तहका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ । आफ्नो अठोटसँगै वडाका सम्पूर्ण रचनात्मक कार्यका लागि सबै वडाबासी र जनप्रतिनिधिहरुको श्रेय र सद्भाव रहेको छ । हाम्रो मुख्य काम भनेको जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नु हो । निर्वाचित भएयता मैले गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको छु । अब बाँकी अवधिमा मैले गरेका सबै प्रतिबद्धता पूरा गर्नुपर्ने चुनौती छ, तर सम्पन्न हुनेछन् । हरेक वर्ष वडाबासीको राय सुझाव र जनसहभागिता अनुसार काम गरेको छु । वडामा आएको बजेटले स्थानीयको माग कति पूरा गरेका छौँ भनेर मापन गर्ने हो ।
त्यसरी हेर्ने हो भने मेरो वडामा पूर्वाधार विकासको काम धेरै भएका छन् । चालू आर्थिक वर्षको बजेट पूर्णरूपमा खर्च गर्न सक्यौँ भने धेरै कुरामा प्रगति हुन्छ । आफ्नो क्षमताअनुसार काम गर्न सक्यो कसैले रोक्न सक्दैन । हामी यो अवधिसम्म आइपुग्दा यही भावना र सोचले अघि बढेका कारण धेरै सफल भएका छौं । अन्य जस्तै हामीले पनि शिक्षा, स्वास्थ्य, कृषि र सडक पूर्वाधारलाई मुख्य प्राथमिकता दिएका छौं । ५६ लाखको लगानीमा एचगाउँमा करिब एक किलोमिटर सडकलाई कालोपत्रे भएको छ । यो बाहेक बाँकी अन्य सबै सडकको स्तरोन्नती भइसकेको छ ।
६७ लाखको बजेटमा लालपुरदेखि अठाइस घर जेड्ने ६०० मिटर सडक कालोपत्रे भएको छ । झन्डै एक करोडको लागतमा लालपुरदेखि चाँदनी चोकसम्म १३ सय मिटर सडकलाई पनि कालोपत्रे गरिएको छ । स्वास्थ्यको क्षेत्रमा आधारभूत स्वास्थ्य केन्द्रको भवन ६० लाखको लागतमा निर्माण कार्य भइरहेको छ । खोप क्लिनिकको लागि छुट्टै भवन बन्दैछ । स्वास्थ्य क्षेत्रको गुणस्तर उकास्न हरसम्भव प्रयास गरेका छौं । त्यस्तै, शैक्षिक क्षेत्र सुधारका लागि पनि कामहरु भएका छन् । सम्झना वडा पालिकामा २ वटा माध्यमिक विद्यालय छन् ।
माध्यमिक स्तरकै २ वटा सामुदायिक विद्यालय छन् । २ वटा बाल विकास केन्द्र संचालनमा छन् । ज्योति आधारभूत विद्यालय गडरहीमा तीन कोठाको भवन निर्माण भएको छ । आधुनिक कृषिका लागि रामपुर टोलमा २० लाखको लगानीमा डिप बोरिङ जडान गरिएको छ । २८ लाखमा अर्को बोरिङ जडान हुँदैछ । तरकारी, पशुपालन, बिऊबिजन, खानेपानी, पर्यटन, खेलमैदान, चिल्ड्रन पार्कमा पनि लगानी गरेका छौं । मुख्य कुरा प्रदेशकै गौरवको रुपमा रहेको मानसरोबर पार्क निर्माणका लागि करिब ५ करोड लगानी गर्ने तयारी भएको छ ।
बैजनाथ गाउँपालिकाको वडा नं ७ साबिक बनकटवा गाउँ विकास समितिका वडाहरु १, २ र ३ मिलेर पेडारी वडापालिका बनेको छ । तीन हजारको संख्यामा मतदाता रहेको र लगभग ७ हजारको जनसंख्या बसोबास गर्ने पेडारी वडा पालिका करिब ९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । मुख्य रुपले थारु समुदायको बसोबास रहेको यस वडा पालिमा अन्य जाति एवं समुदाय पनि मिलेर बसेका छन् । बैजनाथ गाउँपालिकाको नामाकरण शहीद बैजनाथ थारुको नाममा भएको हो । यो हाम्रो लागि अन्त्यन्तै गौरवको बिषय हो । शहीद बैजनाथ थारु हाम्रै वडा पालिका पेडारीमा जन्मिनु भएको थियो ।
राणा शासनकालमा बाँके जिल्लामा किसान आन्दोलनको नेतृत्व गर्नु भएका बैजनाथ थारु यही पेडारीमा शहीद हुनुभएको थियो । त्यसकारण पनि बैजनाथ गाउँपालिकामा पेडारी गाउँको गौरव र महत्व अत्याधिक छ । शहीद बैजनाथ थारुको सम्झना र सम्मान स्वरुप पेडारी गाउँमा बैजनाथ थारु बाटिका र स्मारक निर्माण गर्ने कार्य अन्तिम तयारीमा छ । बाटिकाको लागि जग्गा छुट्टयाइएको छ । बजेटको व्यवस्थापन हुने बित्तिकै निर्माण कार्य सुरु हुन्छ । वडापालिकामा अन्य समुदायको तुलनामा थारु समुदायको शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक स्तर अलि कमजोर छ ।
कमजोर वर्गको जीवनस्तर उकास्ने राज्यको दायित्व हो । हामीले यहाँको समुदायको सर्वाङ विकासको लागि संयुक्त रुपमा पहल गरिरहेका छन् । पेडारी वडा पालिकाका अधिकांश जनता कृषिमा आश्रित भएकोले कृषिलाई आधुनिकिरण गर्नेतर्फ विशेष पहल गरेका छौं । कृषिलाई उत्पादन र आम्दानीमूलक बनाउन सिचाईको अहम् भूमिका भएकोले वडा पालिका क्षेत्र अन्तर्गत पर्ने कुलो नाला, नहर, खोला आदिलाई व्यवस्थित गर्दैछौं, जसले गर्दा कृषकको खेतसम्मै सिचाई सुविधा पुर्याउन सकियोस् । किसानहरुलाई आधुनिक कृषिमा आकर्षित गर्न कृषि धारा र पानी तान्ने मोटर वितरण गरेका छौं । बीऊ बीजन, मल आदि उपलब्ध गराएका छौं ।
स्थानीय जनतालाई स्वच्छ खानेपानी व्यवस्था गर्न पेडारी गाउँमा खानेपानी ट्यान्की निर्माण गरी संचालनमा ल्याएका छौं । सडकको स्तरोन्नतीको लागि २५ लाखको लगानीमा ३२५ मिटर कालोपत्रे भएको छ । २ किलोमिटर सडक स्तरोन्नरी भयो । ८०० मिटर नाली निर्माण भएको छ । पेडारी वडा पालिकामा एउटा माध्यमिक विद्यालय र एउटा आधारभूत विद्यालय संचालनमा छन् । ३ वटा बाल विकास केन्द्र रहेका छन् । स्थानी तहको निर्वाचन अघि पेडारी वडा पालिकामा स्वास्थ्यको कुनै सुविधा थिएन । तर हामी निर्वाचित भएर काम सुरु गरिसकेपछि आधारभूत स्वास्थ्य केन्द्रको लागि आफ्नै भवन निर्माण गरी संचालनमा ल्याउन सफल भएका छौं ।
टिटिहिरिया वडा पालिका बैजनाथ गाउँपालिकाको वडा नं ८ साबिक टिटिहिरिया गाउँ विकास समितिका वडाहरु १ देखि ९ सम्म मिलेर बनेको हो । करिब २४ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको टिटिहिरिया वडा पालिकामा १० हजारको हाराहारीमा जनसंख्या बसोबास गर्दछन् । मुख्यताः थारु समुदायको बसोबास बाक्लो भएपनि अन्य समुदाय पनि यहाँ बस्दछन् । स्थानीय तहको निर्वाचनपछि हामीले शून्यबाट हाम्रा कामहरु संचालन गर्नुपरेको अवस्थामा वडाबासीले सोचेजति काम नभएको हुनसक्छ । हामीलाई पनि सुरुका दिनमा निकै कठीन थियो । कानूनहरु बनेका थिएनन्, कानून बनाउँदै काम गर्दै जाँदा केही ढिलासुस्ती र सोचेअनुसार विकास नभएको होला, त्यो कुरालाई हामीले स्वीकार गरेका छौं ।
नीति र योजना बनाउन समय लाग्छ । त्यसमा झन् योजना अनुसार बजेट चाहियो । बजेटको व्यवस्थापन बिना कुनै काम वा विकास सम्भव छैन । त्यसको विनियोजन गर्दै केही समय गयो । तर, काम सुरु भएदेखि हामीले पछाडि फर्केर हेर्नु परेको छैन । जनप्रतिनिधिहरु निरन्तर जनताको काममा खटिएका छौं । बैजनाथ गाउँपालिकाको अन्य वडाभन्दा शैक्षिक, आर्थिक, कृषि, प्रविधि, रोजगारी, स्वास्थ्य लगायत जनताको आधारभूत आवश्यक्ताको सवालमा टिटिहिरिया पहिलेदेखि नै अलि पछाडि नै परेको थियो । जनताको व्यापक गुनासो र समस्या हुँदाहुँदै टिटिहिरिया वडा पालिका अन्तर्गतका गाउँबस्ती ओझेलमा परेका थिए । हामी निवाचनपछि हामी जनप्रतिनिधि आइसकेपछि विकास र परिवर्तनका लागि दिनरात खटेर काम गर्दैछौं ।
निर्वाचन जितेपछि म जतिबेला पनि वडाबासीकै साथमा रहन्छु भनेर बाचा गरेको थिए । उहाँका सुखदुखमा साथ दिन्छु भनेको थिए, म अहिले पनि वडाबासीकै साथमा रहिरहेको छु । मैले उहाँहरुका सुखदुखमा साथ दिने गरेको छु । निर्वाचित भएयता स्थानीय तहले निर्वाचित प्रतिनिधि प्राप्त ग¥यो र त्यसको एउटा पात्र म पनि हुँ । निर्वाचनपछि कामको चाप पनि निक्कै धेरै छ । जनताका दैनिकीहरुसँग हामी भिडिरहेका छौं । उहाँहरुको सेवामा हामी तल्लिन भइरहेका छौं । विकासको धेरै क्षेत्रमा केही हदसम्म सुधार भए पनि अझै पनि धेरै चुनौतीहरु थपिँदै गएका छन् । त्यसलाई छिचोल्ने प्रयत्न गर्दैछौं ।
सडक पूर्वाधार निर्माणको सवालमा ७ करोड लागतमा दहवा जोड्ने पुल निमाण भएको छ । यसले गर्दा आमजनतालाई आवतजावत गर्न निकै सहज बनेको छ । ६ लाखमा झिँझौरा बाँध निर्माण गरिएको छ । डेढ करोडको लागतमा १५ सय मिटर सडक कालोपत्रे भएको छ । तीन किलोमिटर सडकको स्तरोन्नती भएको छ । १०० जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेका छौं । कृषिको आधुनिकीकरणको लागि कृषकहरुलाई आधुनिक तालिम, मल, बिऊबिजन वितरण लगायतका कार्यलाई निरन्तरता दिएका छौं । शैक्षिक सवालमा टिटिहिरिया वडापालिकाभित्र ८ वटा विद्यालय छन्, जसमा ४ वटा माध्यमिक र ४ वटा आधारभूत विद्यालय रहेका छन् । १२ वटा बाल विकास केन्द्र संचालनमा रहेका छन् । पाँच वटा त विद्यालय भवन निर्माण गरेका छौं । समग्रमा शिक्षाको गुणस्तर सुधारका लागि हामीले विशेष ध्यान दिएका छौं ।
Design : Aarush Creation
।