सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य समृद्धि

राप्तीसोनारीमा सुत्केरी महिलालाई पोषण खर्च, ‘शून्य होमडेलीभरी’

अस्पतालमै सुत्केरी गराई आमा र बच्चाको जीवन जोखिममा पर्नबाट जोगाउन सुत्केरी प्रोत्साहन तथा पोषण खर्च कार्यक्रम ल्याइएको हो ।

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले प्रत्येक सुत्केरी महिलालाई पोषण खर्चस्वरुप ५०० रुपैयाँ दिँदै आएको छ । त्यसबाहेक पनि स्वास्थ्य संस्थामा सुत्केरी हुँदा १ हजार र चार पटक नियमित गर्भवती चाँच गराएवापत ८०० रुपैयाँ पाउँछन् । यसरी यसरी नियमित चेकजाँच र स्वास्थ्य संस्थामै सुत्केरी हुँदा एउटा गर्भवती महिलाले २ हजार ३०० रुपैयाँ पाउँछिन् । जसका कारण यो कार्यक्रम निकै प्रभावकारी बनेको छ ।

स्वास्थ्य चौकीमै सुुत्केरी हुन आउन भन्ने उद्देश्यले २०७४ सालबाट सुरु भएको सुत्केरी प्रोत्साहन तथा पोषण खर्च कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिका कार्यालयले जनाएको छ । गर्भवती भएपछि नियमितरुपमा चेकजाँचमा पनि नआउने र असुरक्षितरुपमा घरमै सुत्केरी हुने हुँदा महिला र बच्चाको समेत ज्यान जोखिममा पर्ने भएकाले यो कार्यक्रम सुरु गरिएको हो । कुनै बेला सुगम जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा परिचित राप्तीसोनारीले जनप्रतिनिधि आइसकेपछि यस कार्यक्रमलाई थप प्रभावकारी बनाइरहेको छ ।

सुत्केरी प्रोत्साहन कार्यक्रम सुरु भइसकेपछि अहिले महिला गर्भवती भएपछि नियमित चेकजाँचमा आउने गरेको र अस्पताल अथवा स्वास्थ चौकीमै सुत्केरी हुने गरेका छन् । गाउँपालिका कार्यालयका अनुसार यो कार्यक्रम सुरु भएपछि एक जना महिला पनि घरमा सुत्केरी भएका छैनन् । सुत्केरी प्रोत्साहन तथा पोषण खर्चकै कारण गाउँपालिकामा ‘शून्य होमडेलीभरी’ छ ।

गर्भवती महिलालाई मान्यताप्राप्त स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन प्रोत्साहन गराउन र गाउँपालिकालाई ‘शून्य होमडेलीभरी’ बनाउन सुत्केरी प्रोत्साहन तथा पोषण खर्च कार्यक्रम प्रभावकारी बनेको राप्तीसोनारी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक विष्णुप्रसाद चुदालीले बताए । अस्पतालमै सुत्केरी गराई आमा र बच्चाको जीवन जोखिममा पर्नबाट जोगाउन सुत्केरी प्रोत्साहन तथा पोषण खर्च कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

चुदालीका अनुसार गर्भवती हुँदा गर्नुपर्ने नियमित स्वास्थ्य जाँच सूचीकृत स्वास्थ्य संस्थामा गरेको, विभिन्न खोप लगाएको, आइरन चक्की र जुकाको औषधी खाएकोे तथा बच्चा जन्मिसकेपछि नियमित स्वास्थ्य जाँच गराएर ३५ दिनभित्र जन्म दर्तासमेत गराएका महिलालाई उक्त भत्ता दिइँदै आएको छ । अहिले उक्त कार्यक्रम सञ्चालनपछि गर्भवती महिला अस्पतालमै आएर सुत्केरी हुने गरेका छन् ।

उनका अनुसार यो कार्यक्रम अभियानकै रुपमा गाउँपालिकाका सबै वडा तथा स्वास्थ्य संस्थामार्फत सञ्चालन भइरहेको छ । यो कार्यक्रमलाई प्रभावकारी बनाउन निरन्तररुपमा स्वास्थ्यकर्मी लागिरहेका छन् । निकट भविष्यमै राप्तीसोनारी ‘शून्य होमडेलीभरी’ बन्ने दिशातर्फ उन्मूख भएको छ । त्यसो त गाउँपालिकाले प्रत्येक नागरिकको घर–घरसम्म पुगेर सेवा दिन महिला स्वास्थ्य स्वयंसेविकाका लागि पनि विशेष खालको कार्यक्रम ल्याएको छ ।

कार्यक्रम अन्तरगत ११० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक १ हजार रुपैयाँका दरले यातायात खर्च तथा १०० रुपैयाँको रिचार्ज खर्च दिने गरेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ शाखाले जनाएको छ । तर महिला स्वास्थ्य स्वयंसेविकाहरु भने यतिले मात्र नपुग्ने भन्दै मासिक २ हजार ५०० रुपैयाँ पुर्याउनुपर्ने बताउँछन् ।

राप्तीसोनारी गाउँपालिका–४ बैजापुरकी स्वमंसेविका मिना डाँगीले दुई वर्ष पहिला निःशुल्करुपमा काम गर्दै आएको र धेरै संघर्षपछि मात्र यो सहयोग पाएको बताउनुभयो । ‘अब आउँदा बढेर आउँछ भन्नुभएको छ । अन्य गाउँपालिकाहरुले हामीजस्ता स्वयंसेविकाहरुका लागि राम्रो सेवा सुविधा दिँदै आएको छ भन्ने सुनेका छौं । हामीले पनि सेवा सुविधा बढाउन माग गरेका छौं,’ उनले भनिने, ‘हामीसँग त्यही अनुसारको सहमति भएको छ । वर्षको एकपटक साउनमा मात्रै भत्ताबापतको रकम बुझ्ने गरेका छौं । आगामी दिनमा कसरी आउँछ हेरौं ?’

स्वास्थ्य चौकीमा सुत्केरी हुँदा पाएको प्रोत्साहन भत्ताबाट सुत्केरीहरुले राहत महसुस गर्ने गरेको स्वसंसेविकाहरुको भनाई छ । ‘हुने खानेलाई यो पैसा केही पनि होइन, तर नहुनेलाई धेरै राहत भएको छ,’ उनी भन्छिन्, ‘सुत्केरी हुँदा ज्यान पनि जोगिने पैसा पनि पाइने । यति भएपछि गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनुहुन्छ,’ स्वमंसेविका डाँगीले भनिन् । सुत्केरी बेथा लाग्ने बित्तिकै गाउँका महिलाहरु स्वास्थ्य संस्थामा आउने गरेको उनको भनाई छ ।

उनी भन्छिन्, ‘घरमा सुत्केरी हुँदा जीउ तलमाथि हुन्छ कि भन्ने डरले पनि गर्भवती महिला व्यथा लाग्न थालेपछि स्वास्थ्य संस्थामा आएपछि सुरक्षितरुपमा ढुक्कसँग सुत्केरी भएर घर फर्किनुहुन्छ ।’ यातायात खर्च र प्रोत्साहन भत्ताले नवजात शिशु तथा सुत्केरी महिलाको मृत्युदरमा कमी आएको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । भत्ताले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको सङ्ख्या बढेको र मातृ मृत्यदर तथा नवजात शिशु मृत्युदरमा पनि उल्लेख्य कमी आएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक चुदालीले बताए ।

पैसा पाइने भएपछि नियमित गर्भ परीक्षण गर्ने र सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन थालेको उहाँले बताउनुभयो । ‘विपन्न अवस्थाका सुत्केरीलाई उक्त रकमले धेरै राहत पुगेको छ,’ उनी भन्छन्, ‘त्यही पैसाले सुत्केरीलाई माछा, मासु, नुनतेल किन्न सजिलो पनि बनाएको छ ।’ सुत्केरी अवस्थामा पौष्टिक आहाराको कमी हुन नदिन, कुपोषणबाट बचाउन, बिरामी पर्दा औषधि उपचार गर्न सहज होस् भनेर थोरै भए पनि प्रोत्साहन भत्ता दिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको भनाई छ ।

घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएकोले त्यसबाट बचाउन ५०० रुपैयाँ थप प्रोत्साहन भत्ताको व्यवस्था गरेको उनको भनाई छ । उनले भने, ‘सुत्केरी हुँदा आमाबच्चाको ज्यान जोखिममा नपरोस् । स्वास्थ्य संस्थामा आएर सुत्केरी होऊन् भनेर थप भत्ता दिएका हौँ ।’ घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यानै जाने अवस्थाको अन्त्य गर्ने प्रयासस्वरुप थोरै भए पनि पोषण खर्चको व्यवस्था गरिएको अध्यक्ष थारुले बताए । समुदायस्तरमै महिलाहरुको सहभागितामा स्वास्थ्य सम्बन्धि परामर्श, सेवा र सल्लाह वृद्धि गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाको छनौट गरिन्छ ।

समुदायका महिलामध्येबाट महिला स्वास्थ्य स्वयंसेविकाको छनौट हुन्छ र विभिन्न प्रकारका तालिम, गोष्ठी भेला आदिको माध्यमबाट ती महिलाको स्वास्थ्य सम्बन्धि क्षमता अभिवृद्धि गरिन्छ । स्वयंसेवी भावनाले प्रेरीत र समुदायमा निःशुल्करुपमा स्वास्थ्य सम्बन्धि परामर्श, सेवा तथा सहयोगका लागि जानकारी प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको छनौट गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविका स्थानीयस्तरमा गठीत स्वास्थ्य आमा समूहका सदस्यहरु मध्येबाट छनौट भएका हुन्छन् ।

नेपालका सबै गाउँपाकिाका प्रत्येक वडामा कम्तिमा एक जना महिला स्वास्थ्य स्वयंसेविका हुन्छन् र हाल नेपालमा करिब ४९ हजार महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । स्वास्थ्य आमा समूहलाई समावेशी बनाउन र सेवाको पहुँचबाट टाढा रहेका वर्ग र समुदायमा सेवा विस्तार गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरी रहेका छन् । नेपाल सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको कार्य पहिचानको लागि लोगोसमेत निर्माण गरेको छ ।

स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सीपबाट आफ्नो गाउँपालिका, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी समुदायमा प्रचारप्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरुसमेत प्रदान गर्दै आएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाले स्थायी/अस्थायी परिवार नियोजन सेवाबारे परामर्श र सेवाको लागि प्रेषण गर्ने, पिल्स तथा कन्डम वितरण पनि गर्दै आएका छन् ।

कुल जनसंख्या ५ लाख ९ हजार ९४६ रहेको गाउँपालिकामा जनप्रतिनिधि आएपछिको अर्को ठूलो उपलब्धीका रुपमा ‘राप्तीसोनारी अस्पताल’ समेत सञ्चालनमा आएपछि गर्भवती महिलालाई सुत्केरी हुनका लागि थप सहज भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा वडा नं.४ बैजापुरमा १५ शैय्याको ‘राप्तीसोनारी अस्पताल’ सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका गर्भवती महिलालाई सुत्केरी हुन थप सहज भएको छ ।

बैजापुरको स्वास्थ्य चौकी रहेको ठाउँमा भौतिक पूर्वाधार बनाएर गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको र सेवा विस्तारका लागि प्रयाससमेत भइरहेको गाउँपालिकाका अध्यक्ष थारुले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष थारुले सामान्य बिरामी हुँदा पनि नेपालगन्ज या अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको पनि बताए ।

सस्तो र गुणस्तरीय सेवा दिन लागिपरेको पनि गाउँपालिकाका अध्यक्ष थारुले बताए । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले ठूलो जनसंख्या ओगेटेको राप्तीसोनारीमा अस्पताल सञ्चालनमा आउँदा जनतालाई ठूलो राहत मिलेको बताइन् । अस्पतालले गुणस्तरीय सेवा दिँदा गाउँपालिकाबासी जनता लाभान्वित हुने पनि उपाध्यक्ष खत्रीले बताइन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १२:२१