बैतडी । भारतसंग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।
जेठ ३१ सम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ सम्म थप्ने निर्णय भएको हो ।
हिजो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राती १२ बजेदेखि लागु हुने गरि असार १५ गते सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
कोभिड–१९ को संक्रमण घटेपनि अझै नियन्त्रण भइनसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरि थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।
संक्रमणदर घट्दो भएपनि जोखिम कायम भएकोले केही खुकुलो पार्दै निषेधाज्ञा थप्ने निर्णय भएको बताउनुभयो ।
थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी/कपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य एन्टीजेन परीक्षण गरि बिहान ७ बजेदेखि १२ बजे सम्म खोल्न पाईने छ ।
साथै पसल खुल्ला भएको बेला अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने जनाइएको छ । बैंक तथा वित्तिय संस्थाहरुको हकमा प्रत्येक दिने बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरि सञ्चालन हुनेछन् ।
।