सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

राप्तीसोनारीको चासो, ‘गुणस्तरीय शिक्षा’

गाउँपालिकाले शिक्षक व्यवस्थापनका लागि पहल थालेपछि त्यो समस्या हल हुदै गएको छ भने विद्यालयको शैक्षिकस्तर माथि उस्कदै गएको छ ।

बाँके । बाँकेको राप्तीसोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग किलोमिटर रहेको यो गाउँपालिकाकोे जनसंख्या ५९ हजार ९४६ रहेको छ । यहाँको साक्षरता ९५.११ प्रतिशत छ ।

गाउँपालिकामा पछिल्लो समयमा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको पाइएको छ । शैक्षिकस्तर माथि उकास्नका लागि स्थानीय तहको सहयोगमा भौतिक संरचना निर्माणदेखि, विद्यालय व्यवस्थापन, शिक्षक व्यवस्थापन लगायत साक्षर पालिका घोषणा, बालमैत्री, अपाङ्गतामैत्री विद्यालयको विकास लगायतका उल्लेख्य काम भएको पाइएको हो ।

शिक्षामा बजेट

गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । हरेक परिवर्तन शिक्षामार्फत सम्भव हुने भएकाले बर्सेनी शिक्षा क्षेत्रको बजेट बढाउँदै लगिएको गाँउपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा चालु र पुँजीगत गरी ३ करोड ३० लाख रुपैयाँ शिक्षाका लागि बजेट छुट्याइएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा शिक्षाका लागि बजेट २ करोड ६५ हजार रुपैया थियो ।

शैक्षिकस्तर सुधार्न शिक्षक व्यवस्थापन

राप्तीसोनारी गाउँपालिकाले शिक्षाको गुणस्तर माथि उठाउनका लागि समस्या पहिचान गरेर समाधानको पहल थालेको छ । पालिकामा ७१ वटा शैक्षिक संस्था सञ्चालनमा छन् । जसमध्ये ५४ वटा सामुदायीक विद्यालय र १७ वटा निजी विद्यालय सञ्चालनमा रहेका छन् । शिक्षा क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको गाँउपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले बताए । अधिकांश विद्यालयहरुमा शिक्षकको व्यवस्थापन चुनौतिपूर्ण थियो ।

स्थानीय तहमा जनप्रतिनिधि आएलगत्तै १२४ जना शिक्षकलाई गाँउपालिकाबाट व्यवस्थापन गरिएको न्यौपानेले बताए । यस वर्ष पनि गाँउपालिकाले प्राथमिकताका साथ केहि संख्या थपेर १३९ जना शिक्षकलाई तलवका लागि अनुदान दिदै आएको जनाएको छ । मावि तहमा अध्यापन गराइरहेका शिक्षकहरुका लागि मासिक २० हजार, निमावि तहमा अध्यापनरत शिक्षकलाई मासिक १५ हजार र प्रावि तहका शिक्षकहरुलाई १० हजार रुपैयाँका दरले उपलव्ध हुने गरी अनुदानको व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।

गाउँपालिकामा अझै पनि पूर्णरुपमा शिक्षक अभावको समस्या समाधान हुन सकेको छैन । प्राविमा दरबन्दी मिलानले यो समस्या कम देखिएको छ । तर निमावीमा र माविमा गरी अझै पनि करीब १४० जना शिक्षक अभाव रहेको उनले बताए । यस्तै, बालविकासका विद्यालय सहायक र विद्यालय सहयोगीको तलव न्यून थियो । गाउँपालिकाले गत बर्षदेखि उनीहरुलाई मासिक १ हजार रुपैयाँ थप गरेको छ । उनीहरुलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षको माघदेखि लागु हुने गरी ४ हजार थप गरिएको छ । विद्यालयमा प्रदेशबाट आउने बजेट पनि नहोदोरिने गरी पालिकाले काम गरिरहेको जनाएको छ ।

कक्षा ८ सम्म निःशुल्क शिक्षा

पालीकाका सामुदायीक विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था गरिएको छ । कक्षा ८ सम्म कुनै पनि सामुदायीक विद्यालयले कुनै पनि शुल्क लिन नपाउने जनाइएको छ । परीक्षा शुल्कसमेत लिन नपाउने गरी पालिकास्तरबाट निर्णय गरिएको हो । त्यसबापत गाँउपालिकाले प्रतिविद्यालय १५ हजार थप बजेटको व्यवस्था मिलाएको जनाएको छ । विद्यालयले शुल्क लिए नलिएको अनुगमनसमेत गर्ने गरिएको छ ।

यसका साथै शैक्षिक प्रगति, शिक्षा सुधारका लागि आवश्यक सुझाव संकलन लगायतका काम गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतले अनुगमन गर्ने गरिएको शिक्षा शाखाले जनाएको छ । ७१ वटा माविमा सघनरुपमा अनिवार्य अनुगमन गर्ने र शैक्षिकस्तर माथि उकास्नका लागि त्यहाँ पाइएका समस्या, सुझाव, सल्लाहलाई अभिलेखीकरण गर्ने र सोहिअनुरुप बजेट व्यवस्थापन गर्ने तयारी भई कार्यान्वयन सुरु भइसकेको शिक्षा शाखा प्रमुख न्यौपानेले बताए ।

अब बन्ने भवन टिनका छानारहित

भौतिक पूर्वाधार निर्माणतर्फ पक्की भवन निर्माण कार्य थालिएको छ । भवन निर्माणका लागि संघिय सरकारबाट टिनको छानाका लागि बजेट प्राप्त हुने गरेको छ । खासगरी गर्मी र बर्षात्को समयमा टिनको छानामूनी बसेर बालबालिकालाई पढ्न असहज हुने भएकाले टिनका पाता नराखेर पक्की भवन निर्माणमा गाउँपालिकाले जोड दिइएको छ ।

गाउँपालिकाले सशर्त अनुदानमा केहि बजेट थप गरी पक्की ढलान भवन निर्माण गर्ने निर्णय पारित भएसँगै यसको कार्यान्वयन सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । उनका अनुसार गाउँपालिकाको शैक्षिक विकासका लागि नियमित परीक्षा सञ्चालन, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुका साथै नियमित अनुगमनको कामलाई तिव्रता दिएको छ । पहिले सामुदायीक विद्यालयको भौतिक पूर्वाधार निर्माण पहुँचका आधारमा मात्र हुने गरेको थियो ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट केहि विद्यालयले मात्र बजेट पाउने गरेका थिए । त्यसको नियमन हुन नसक्दा बजेट दुरुपयोग भएका घटना सुनिने गरेको स्थानीयहरु बताउँछन् । तर स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि नजिकको दुरीमा रेखदेखको काम बढि प्रभावकारी भएको पाइएको हो । गाउँपालिकाबाट भवन निर्माण, पर्खाल निर्माण लगायतका काम योजना शाखाबाट भएका छन् । पालिकामा एकैवर्षमा एक करोड जतिको बजेट भौतिक निर्माण लगायतका व्यवस्थापनमा खर्च भएको गाउँपालिकाका अध्यक्ष थारुले जानकारी दिए ।

विद्यालयमा विद्यार्थी टिकाउन समस्या

गाउँपालिकामा विद्यालय नजाने बालबालिकाको संख्या न्युन छ । बालबालिका भर्नादर राम्रो छ । तर कक्षा ६ र ७ मा पुग्ने बेलासम्म विद्यार्थीलाई टिकाउन समस्या देखिएको छ । यी कक्षामा विद्यालय पुनरावृति गर्ने छात्रछात्राको संख्या करीब ५ प्रतिशत रहेको न्यौपानेले जानकारी दिनुभयो । बालबिवाह गर्ने र पढाइ छोड्ने समस्या धेरै देखिएको छ । कतिपयले घरायसी काममा व्यस्त हुने भएकाले पढाइ छाडेको बताएका छन् ।

यसको सुधारका लागि प्राविधिक शिक्षा, व्यवहारीक शिक्षामा जोड दिएको छ । गाउँपालिकाका अधिकांश सामुदायीक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा छ । कक्षा ६-८ सम्म कम्प्युटर शिक्षा सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं. ३ मा रहेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारु शैक्षिक सुधारका लागि गाउँपालिकाले खेलेको भूमिकाबारे बताउँदै भन्छन्, ‘गाँउपालिकाबाट भौतिक पूर्वाधारको सहयोग भएको छ । गाउँपालिकाले शिक्षक अभावलाई पूर्ति गरेपछि पहिलेको जस्तो समस्या छैन ।’

थारुका अनुसार, उक्त विद्यालयमा एउटा कक्षामा १०० सम्म बालबालिका पढ्ने गरेका छन् । त्यो समयमा कक्षा विभाजन गरेर अध्ययन अध्यापन गराउनुपर्ने भएकाले शिक्षकलाई भ्याइनभ्याइ हुने गरेको थियो । आवश्यकता अनुसार शिक्षक नभएपछि विद्यार्थीले समयमै कोर्ष सकाउन नसक्ने समस्या थियो । हाल शिक्षक व्यवस्थापन भएपछि यो समस्या धेरै हदसम्म हल भएको थारुले बताए ।

उनी भन्छन्, ‘एउटा शिक्षकले ५ घण्टी अनिवार्य पढाउनुपर्ने नियम छ । तर हाम्रो विद्यालयमा शिक्षकहरुले ७ घण्टीसम्म पढाउनुपर्ने बाध्यता थियो । गाउँपालिकाले शिक्षक व्यवस्थापनका लागि पहल थालेपछि त्यो समस्या हल हुदै गएको छ भने विद्यालयको शैक्षिकस्तर माथि उस्कदै गएको छ ।’ शैक्षिक स्तरोन्नती भएको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थारुले गाउँपालिकामा एसइईमा उत्कृष्ट नतिजा ल्याउन पनि आफ्नो विद्यालय सफल भएको जानकारी दिए ।

विद्यालयमै किशोरीलाई सेनेटरी प्याड

महिनावारी भएको समयमा किशोरीहरु विद्यालय नजाने समस्या देखिएको थियो । विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरेपछि किशोरीहरुको विद्यालय छाड्ने क्रम रोकिएको छ । राप्तीसोनारी गाँउपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेका अनुसार गाँउपालिकाका सबै सामुदायीक विद्यालयमा यो अभ्यास गरिएको हो । विद्यालयमा प्याडको व्यवस्था भएपछि छात्राहरु नियमित विद्यालय आइरहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अगैयामा कार्यरत शिक्षिका मिरा थापाले बताइन् । गणेश माध्यामिक विद्यालय ढकेरीकी मनिषा वलीले विद्यालयमा सरसफाई सामाग्री, प्याड, तथा चेन्जिङ्ग रुमले सहज भएको बताइन् ।

साक्षर गाँउपालिका घोषणा

शिक्षा क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धी पालिकालाई गत वर्ष साक्षर घोषणा गरिएको छ । यस वर्ष पूर्ण साक्षर बनाउनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । गाउँपालिकामा ९५.११ प्रतिशत साक्षर भएकाले साक्षर नेपाल अभियान अन्तरगत २०७६ असार ३० गते राप्तीसोनारी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो । योसँगै राप्तीसोनारी जिल्लाको चौथो साक्षर गाउँपालिका भएको थियो । जिल्लामा सबैभन्दा पहिले कोहलपुर त्यसपछि क्रमशः खजुरा र जानकी गाउँपालिकाले घोषणा गरेका थिए । साक्षर घोषणा गरेपछि राप्तीसोनारीले जिल्ला समन्वय समिति बाँकेबाट प्रोत्साहन स्वरुप ६ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको थियो । -समृद्ध राप्तीसोनारी बुलेटिनबाट

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतवार १३:५७