सूचनाको शक्ति - The Power Of Information

        

समाचार

फत्तेवाल आँखा अस्पतालका सबै सेवा आजबाट सञ्चालनमा

बाँके । पश्चिम नेपालमा आँखा उपचारको मुख्य केन्द्रका रूपमा रहेको नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले दोस्रो लहरको कोरोना कहरमा समेत ओपीडी र इमर्जेन्सी सेवा यथावत् राखेको छ । आँखा उपचारमा फत्तेवाल अस्पताल भारतीय सिमावर्ती क्षेत्रमा समेत परिचित मानिन्छ ।

कोभिड बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल र मेडिकल कलेजले समेत ओपीडी सेवा बन्द गरे पनि फत्तेवाल आँखा अस्पतालले सबै प्रकारका स्वास्थ्य मापदण्डको पालना गरेर आफ्नो सेवा २४ सैं घण्टा सुचारु राखेको अस्पतालका प्रबन्ध निर्देशक कौशल बर्माले बताए ।

उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर निषेधाज्ञामा पनि बिहान ८ बजेदेखि राति ८ बजेसम्म ओपीडी तथा चौबीसै घण्टा इमर्जेन्सी सेवा प्रदान गरिएको जनाए । गत वैशाख ९ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समयमा दैनिक ४० देखि ५० जना बिरामीलाई सेवा दिइएको अस्पतालले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भएपछि बिरामीको चाप बढ्दै गएको जनाउँदै प्रबन्ध निर्देशक बर्माले ओपीडी सेवा लिनेको सङ्ख्या दैनिक करिब २५० जना रहेको बताए । आँखाका सबै प्रकारका शल्यक्रिया केही समययता नगरिए पनि इमर्जेन्सी अवस्थाका बिरामीको शल्यक्रिया भने गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार पछिल्लो समय कोभिडमुक्त भएका, आँखा रातो हुने, सुन्निने र चस्माको समस्या भएका बिरामी अस्पतालमा बढी आउँछन् । अस्पतालमा पछिल्लो समयमा आँखा रातो हुने समस्या लिएर आउने बिरामी बढी देखिएको नेत्र विशेषज्ञ डा.राजसी श्रेष्ठले बताइन् ।

भारतीय सीमावर्ती क्षेत्रका बिरामीको अत्याधिक चाप रहने फत्तेवाल आँखा अस्पतालले बन्दाबन्दीमा पनि ओपिडी सेवा नियमित राखेको थियो । निषेधाज्ञाका कारण बिरामी धेरै घटे पनि दैनिक १०/१५ जना बिरामी निरन्तर आइरहेको फत्तेवाल आँखा अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक डा.बर्माले आज आइतबारदेखि आँखाका सबै शल्यक्रिया पुनः सुरु गरेको जानकारी दिए । नाकाबन्दी हुँदा पनि भारतीय विरामी उपचारका लागि पास बनाएर फत्तेवाल आँखा अस्पतालमा आएको पनि प्रबन्ध निर्देशक डा.बर्माले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतवार ११:१०