सूचनाको शक्ति - The Power Of Information

        

पीडित राउटे युवतीको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न अदालतको आदेश

सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न आदेश दिएको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

शुक्रबार न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले यौन दुर्व्यवहारको भिडियो युट्युबबाट हटाउन आदेश दिएका हुन् । ‘संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइटहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्नेबारे लेखी पठाउनू,’ आदेशमा भनिएको छ । आदेशमा भिडियो नहटाउने साइट तत्काल बन्द गर्नसमेत भनिएको छ ।

‘युट्युब लगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरु हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ,’ न्यायाधीश डा.आचार्यद्वारा दिएको आदेशमा भनिएको छ, ‘यसर्थ संघीय गृह मन्त्रालयमार्फत् सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारबाहीका लागि लेखी पठाउनू ।’ पीडित युवती असुरक्षित रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको अदालतले जनाएको छ ।

अदालतले पीडित युवतीको सुरक्षामा ध्यान दिन सुर्खेत प्रहरीलाई आदेश समेत दिएको छ । ‘पीडितहरुको सुरक्षाको सम्बन्धमा विशेष ध्यान दिन जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाउनू,’ भन्ने आदेश दिइएको छ । अदालतले यसबारे पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई पनि पत्र पठाउन पनि भनेको छ । जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्री प्रचारप्रसार नगर्न नगराउनसमेत अदालतले ध्यानाकर्षण गराएको हो ।

जेठ २३ गते यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि सुर्खेत प्रहरीले आरोपित गुर्भाकोट नगरपालिका–९, बोटेचौर सुर्खेतस्थित होटल सञ्चालक २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको छ । अदालतले दोषीहरुमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरेको छ । शुक्रबार मात्रै पीडित युवतीहरुको स्वास्थ्य परीक्षण गराएका छन् । अब अनुसन्धानमा थप सहज हुने प्रहरीले जनाएको छ ।

राउटे समुदायद्वारा मुख्यमन्त्रीसँग खाद्यान्न माग

राउटे समुदायका युवाले आफ्नो समुदायमा खाद्यान्नको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आग्रह गरेका छन् । उनीहरुले शुक्रबार मुख्यमन्त्री शाहीलाई भेटेर खाद्यान्न सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक खाद्यान्न उपलब्ध गराउने आश्वासन दिएका छन् ।

प्रदेश सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर जारी रहने शाहीले बताएका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको तत्कालीन समस्या समाधान गर्न सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलार्ई निर्देशनसमेत दिएका छन् । सधैं मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आए पनि यसपटक भने ती समुदायका युवा, युवतीले मुख्यमन्त्रीलाई भेटेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार ०९:३६