सूचनाको शक्ति - The Power Of Information

        

नशालु पदार्थ खुवाएर सामूहिक बलात्कार

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ।

धरमपुरस्थित मुक्त्तकमैया शिविरकी किशोरीमाथि बिहीबार सामूहिक बलात्कार भएको हो।

नशालु पदार्थ खुवाएर स्थानीय दुई युवाले उनलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले जानकारी दिए।

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार स्थानीय जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन्।

राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका बिकलाई शुक्रबार बिहान पक्राउ गरेको हो।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले आरोप लगाएकी छन्।

‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ। एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी थापाले भने, ‘अर्का आरोपीको खोजी भइरहेको छ।’

बलात्कार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ११:११