बाँके । संघीयताको अभ्यासको प्रारम्भसँगै केन्द्रदेखि तल्लो निकायसम्मलाई सबल र सक्षम बनाउँदै अत्यावश्यक सेवा पु¥याउन स्थानीय तहहरु तल्लिन छन् । समग्रमा देशैभरिको स्वास्थ्य सेवा निम्छरो अवस्थामा छ । तर, स्थानीय तहले आफ्नै बलबुतामै भए पनि भरपर्दो र बलियो गरी स्वास्थ्य सेवा दिन सकेसम्म कोशिष गरिरहेका छन् ।
सरकारद्वारा सञ्चालित जिल्ला, प्रदेश र संघीय अस्पतालकै व्यवस्थापन उचित ढंगले गर्न नभएको अवस्थामा स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीको अवस्था झनै जर्जर छ । हिमाल–पहाडका गाउँ र तराईका देहातमा अकस्मात् आइपर्ने दुर्घटनाको आकस्मिक उपचार गर्न स्वास्थ्य चौकीहरू सक्दैनन् ।
कतिपय जिल्ला, प्रदेश र संघीय अस्पतालमा पर्याप्त जनशक्ति, प्रविधि र व्यवस्थापन पनि निकै चुनौती बनेको छ । त्यसो हुँदा सहज पहुँचको कारण मात्रै सामान्य ज्वरो र रुघाखोकी लागेमा नागरिकहरु नजिकैका स्वास्थ्य केन्द्रसम्म पुगे पनि सर्पले टोक्दा, हृदयघात हुँदा र रूखबाट लठेर या गाडी र अन्य खालका आकस्मिक दुर्घटना हुँदा त्यसलाई तत्काल उपचार गर्न सक्ने अवस्थामा अपबादबाहेक प्रायः कुनै पनि स्वास्थ्य र उपस्वास्थ्य चौकी छैनन् ।
यो स्वास्थ्य व्यवस्था र परिचालनको डरलाग्दो चित्र हो भने सरकारी स्वास्थ्य निकायप्रति सर्वसाधारणको विश्वासको संकट अर्को समस्या हो । तर कोरोना संक्रमणपछिको अवस्थामा गाउँका धेरै स्वास्थ्य संस्थाहरु फेरिएका छन् । निजी अस्पतालहरू शहर बजारमा केन्द्रित भइरहेका बेला स्थानीय तहले पनि पालिकाको पायक पर्ने स्थानमा सरकारी अस्पताल स्थापना गर्न लागिपरेका छन् ।
औषधि र प्रविधिलाई स्थानीय स्वास्थ्य संस्थामा सहजरूपमा उपलब्ध गराउन स्थानीय तहले पहल पनि गरिरहेका छन् । देशका विभिन्न स्थानीय तहमा सरकारी अस्पताल स्थापना भइरहेका बेला राप्तीसोनारी गाउँपालिकाले पनि २०७७ मङ्सीर १४ गतेदेखि ‘राप्तीसोनारी अस्पताल’ सञ्चालनमा ल्याएको छ ।
अस्पताल सञ्चालन भएसँगै स्थानीयहरु सहजै स्वास्थ्य सेवाको पहुँचमा आउन थालेका छन् । राप्तीसोनारी–४ बैजापुरमा अस्पताल सञ्चालनमा आएपछि उपचार गर्न घरदेखि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको राप्तीसोनारी–४ बैजापुरकी ४१ वर्षीया सिता थारुले बताइन् । शरीर दुख्न थालेको ९ महिना बितिसक्दा पनि अस्पताल जान नपाएकी सितालाई गाउँमै अस्पताल सञ्चालनमा आएपछि बरदान नै सावित भयो ।
विश्वव्यापी कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला उपचारका लागि नेपालगन्ज र कोहलपुर जाने हिम्मत गरिनन् । त्यहिबेला आफ्नै गाउँमा सुविधायुक्त अस्पताल सञ्चालनमा आएपछि सिताले ढुक्कसँग औषधि उपचार गराइन् । घरदैलोमै उपचार पाउँदा उनी दंग परिन् । ‘हात खुट्टा दुख्न थालेको ९ महिना भइसकेको थियो, तर अस्पताल जान पाएकी थिइन्,’ उनले भने, ‘आफ्नै गाउँमा अस्पताल सञ्चालन हुँदा उपचार गराउन पाएँ, अहिले निको भएको छ ।’
राप्तीसोनारी–४ बैजापुरकै ४८ वर्षीय मेघराज थारुलाई बायाँ अण्डकोषको हाइड्रोशिलले वर्षौदेखि दुःख दिइरहेको थियो । उपचार नपाउँदा उहाँको जीवन कष्टपूर्ण बन्दै गएको थियो । गाउँमै अस्पताल सञ्चालनमा आएपछि मेघराजले पनि निःशुल्क रुपमा हाइड्रोशिल शल्यक्रिया गराए । ‘नेपालगन्ज र कोहलपुरका अस्पतालमा गएर यसको उपचार गर्न मलाई सम्भव थिएन, आफ्नै गाउँमा बनेको अस्पतालले निःशुल्क उपचार गरिदिँदा मैले पुनःजन्म पाए,’ उनले भने ।
राप्तीसोनारी गाउँपालिकाले सञ्चालनमा ल्याएको १५ शैय्याको अस्पतालले सेवा दिँदा अहिले जिल्लाको पूर्वी ग्रामिण क्षेत्रका स्थानीय नागरिकले राहत महसुस गरिरहेका छन् । साविक बैजापुर स्वास्थ्य चौकीको स्तरोन्नती गरी गाउँपालिकाले उक्त अस्पतालका लागि एक जना एमबिबिएस डाक्टरसमेत नियुक्त गरेको छ । अस्पतालमा रिक्त रहेका अन्य दरबन्दी पनि क्रमशः पूर्ति गर्ने गाउँपालिकाको तयारी छ ।
अस्पतालले साधारण शल्यक्रिया सेवासमेत प्रदान गर्ने गरी तयारी भइरहेको अस्पताल प्रमुख डाक्टर गोविन्द थारुले बताए । अस्पतालसँग हाल १२ कोठे नवनिर्मित भवन रहेको छ । प्रत्येक नगरपालिका र गाउँपालिकामा एउटा आधारभूत अस्पताल सञ्चालन गर्नुपर्ने नेपाल सरकारको नयाँ स्वास्थ्य नीति अनुसार राप्तीसोनारीले अस्पताल सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य निरीक्षक बिष्णुप्रसाद चुदालीले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल पूर्णरुपमा सञ्चालनमा आएपछि आमनागरिक स्वास्थ्य सेवाको पहुँचमा रहने दाबी गर्छन् । अध्यक्ष थारुले सरकारको नीति अनुसार राप्तीसोनारीमा १५ शैयाको अस्पताल सञ्चालन गरेपछि गाउँपालिकावासीलाई धेरै राहत मिलेको बताए ।
उनले भने, ‘गाउँपालिकामा आधारभूत अस्पताल स्थापना भएर सेवा पनि सुरु गरिसकेको छ । अस्पताल पूर्णरुपमा सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले पर्याप्त मात्रामा स्वास्थ्य सेवा पाउने छन्,’ अध्यक्ष थारुले भने । गाउँमै १५ शैयाको अस्पताल सञ्चालनमा आएपछि त्यस क्षेत्रका स्थानीयलाई सामान्य उपचारका लागि नेपालगन्ज र कोहलपुर धाउनुपर्ने अवस्था अन्त्य भएको उनको भनाई छ ।
राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले अस्पताललाई पूर्णरुपमा सञ्चालनमा ल्याएर स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने पनि बताइन् । अस्पतालले यस क्षेत्रका बिरामीलाई सस्तोभन्दा सस्तोमा सेवा दिइरहेको बताउँदै गाउँपालिकाका उपाध्यक्ष खत्रीले भनिन्, ‘राप्तीसोनारीमा एमबिबिएस डाक्टरसहितको अस्पताल सञ्चालनमा आएपछि यहाँका जनताले सुविधा पाउनुभएको छ ।’
अस्पताल सञ्चालनमा आएसँगै बिरामीहरु सानोतिनो रोगको उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य पनि भएको पनि उपाध्यक्ष खत्रीले बताइन् । अस्पताल सञ्चालन भएसँगै यस क्षेत्रका नागरिकहरु स्वास्थ्य सेवाको पहुँचमा आएको बताउँदै उनले भनिन्, ‘अस्पताललाई पूर्णरुपमा सञ्चालनमा ल्याएर अझै सस्तो र गुणस्तरीय सेवा दिन लागि परेका छौं । अस्पतालले गुणस्तरीय सेवा दिएर आम नागरिकलाई लाभान्वित गराउनेछ ।’
ठूलो जनसंख्या ओगेटेको राप्तीसोनारीमा अस्पताल सञ्चालनमा आउँदा जनतालाई ठूलो राहत मिलेको उपाध्यक्ष खत्रीको भनाई छ । स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन कम्तीमा एमबीबीएस डाक्टरसहितको चिकित्सकीय टोलीको व्यवस्थापन गर्न स्थानीय तहको पहल सह्रानीय रहेको स्थानीय अगुवाहरुको भनाई छ । यस्तो प्रयास र पहलले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवालाई अझै बलियो बनाउनेछ ।
राप्तीसोनारीमै ‘सर्पदंश उपचार केन्द्र’
कोहलपुर नगरपालिकासँग सीमा जोडिएको राप्तीसोनारीको पूर्वी क्षेत्रमा सर्पले डसेर बर्सेनी धेरैको ज्यान जाने गरेको थियो । बिरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा बर्सेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै आएका थिए । अझ सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम नेपालगन्जको भेरी अस्पतालमा मात्रै पाइन्थ्यो । उपचारमा थोरै समय मात्रै ढिलाई भए पनि बिरामीको मृत्यु निश्चित जस्तै थियो ।
निजी र सरकारीस्तरबाट राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सर्पदंश उपचार केन्द्र नखुलेका कारण सर्पले टोकेका धेरै बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था थियो । भेरी अस्पतालले निःशुल्क रुपमा वितरण गर्ने एण्टी स्नेक भेनम औषधि अन्यत्र पाउन नसक्दा बिरामीको मृत्यु हुने गर्दथ्यो । यही अवस्थालाई मध्यनजर गर्दै बाँकेको राप्तीसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्यायो ।
२९ लाख २६ हजार ३६४ रुपैयाँको लागतमा राप्तीसोनारी–८ सम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । जसमा गाउँपालिकाको २० लाख ५० हजार रुपैयाँ र बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाको लागि खटिएको तत्कालिन श्रीमेहर गणले ९ लाख ६२ हजार ३६४ रुपैयाँ बराबरको प्राविधिक तथा जनश्रमदानबाट सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।
उपचार केन्द्र सञ्चालनमा आएपछि गाउँपालिकाका मात्रै नभएर दाङ्गबाट आउने सर्पदंशका विरामीले समेत उपचार सेवा लिइरहेका छन् । राप्तीसोनारीका ५१ हजार जनसंख्यालाई लक्षित गरी निर्माण गरिएको सर्पदंश उपचार केन्द्र बहुउपयोगी समेत भएको छ । पूर्वपश्चिम राजमार्गको शम्शेरगन्जस्थित ओभरीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि सर्पले टोकेकै कारण बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
सर्पदंशका विरामीले मात्र नभई राजमार्गमा हुने सवारी दुर्घटनाका विरामीलाई समेत प्राथमिक उपचार दिन सकिने गरी सञ्चालनमा ल्याएपछि बहुउपयोगी भएको राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले बताए । उनले भने, ‘यस क्षेत्रमा सर्पदंशका घटना वृद्धि हुन थालेपछि बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको तत्कालिन श्रीमेहर गणसँग समन्वय गरेर सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन सफल भएका हौं ।’
नेपाली सेनासँग रहेको प्राविधिक जनशक्ति परिचालन गरेर सर्पदंश उपचार केन्द्र सञ्चालन आएसँगै केन्द्रलाई राजमार्गको आपतकालिन अस्पतालको रुपमा विकास गरेर लैजाने तयारी भइरहेको पनि वडाध्यक्ष बस्नेतले बताए । उनले भन्नुभयो, ‘केन्द्रलाई प्राथामिक ट्रमा सेन्टरको रुपमा विकास गर्ने गरी हामी लागिपरेका छौं ।’ उनका अनुसार केन्द्रले सञ्चालन गर्ने गरी हाइवे एम्बुलेन्स ल्याउने तयारी गरिरहेको पनि जानकारी दिए ।
केन्द्र सञ्चालनका लागि अक्षयकोषको समेत व्यवस्था गरेसँगै हालसम्म अक्षयकोषमा २० लाख रुपैयाँ जम्मा भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि भेरी अस्पतालमा रहेको सर्पदंश विभागले पनि सहयोग गरिरहेको छ । स्थानीय तहमै सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका सर्पदंशका बिरामीहरु उपचारका लागि कोहलपुर र नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्यसमेत भएको छ ।
।